काठमाडौं। मंगलबार बिहानैदेखि काठमाडौंमा जेनजीको प्रदर्शन सुरू भएको थियो।
सोमबारको प्रदर्शनमा सरकारी दमनबाट १९ जनाले ज्यान गुमाएका थिए। त्यसबाट आक्रोशित युवा बिहानैदेखि सडकमा निस्किए। उनीहरुलाई आज अभिभावकले पनि साथ दिए।
बिहान साढे ८ बजेबाट लागू हुने गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथभित्र अनिश्चितकालिन कर्फ्यू आदेश जारी गर्यो। त्यसपछि, ललितपुर र भक्तपुर जिल्ला प्रशासनबाट पनि कर्फ्यू आदेश जारी भयो। काठमाडौं बाहिर पनि प्रमुख शहरहरुमा धमाधम कर्फ्यू आदेश आउन थाल्यो।
तर, प्रदर्शनकारीहरुले कर्फ्यूको पर्वाह गरेनन्।
युवाहरुले नेताका निवास र सरकारी कार्यालयलाई निशाना बनाएर आगजनी गर्न थाले। मध्यान्हसम्ममा स्थिति सुरक्षा निकायको नियन्त्रण बाहिर पुग्यो। नयाँ बानेश्वरस्थित संसद भवनमा प्रदर्शनकारीले आगो झोसे। संसद भवन दनदनी बल्यो।
एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगो लगाइयो। टेबल कुर्सीहरू बाहिर फालिए। कागजपत्र निकालेर आगो झोसियो। माओवादी केन्द्रको कार्यालयमा पनि आगो लगाइयो।

बिहान ११ बजेको आसपासमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा ढुङ्गामुढा र आगजनी भयो। लोकन्थलीमा रहेको एमाले नेता गोकुल बाँस्कोटाको घरमा पनि प्रदर्शनकारीले आगो लगाइदिए।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासमा पनि प्रदर्शनकारीले आगजनीको प्रयास गरेका थिए। सञ्चारमन्त्री एवं एमाले नेता पृथ्वीसुब्बा गुरूङ, कांग्रेसका महामन्त्री गगन थापाको घरमा पनि आन्दोलनकारीले आगजनी गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा पनि तोडफोड र आगजनी गरियो।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको घरमा आगजनी हुँदा आगोको लप्कामा परेर उनकी पत्नी रविलक्ष्मी चित्रकार गम्भिर घाइते भइन्। खनाललाई भने पहिले नै सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको थियो।

भैंसेपाटीस्थित मन्त्री निवासमा प्रदर्शनकारीहरू पसेर मन्त्रीहरुलाई आक्रमणको प्रयास गरे। सेनाको हेलिकप्टरले मन्त्रीहरुलाई उद्धार गरी सुरक्षित ठाउँमा लग्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द गरियो।

नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरुले जेलमै पसेर बाहिर निकाले।
संघीय सरकारमा सहभागी मन्त्रीहरुले धमाधम राजीनामा घोषणा गर्न थाले। नेता शेखर कोइरालाको निर्देशनमा कृषिमन्त्री रामनाथ अधिकारीले बिहानै राजीनामा दिए भने दिउँसो स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिए।
दिउँसो २ बजेको आसपासमा प्रदर्शनकारीले सिंहदरबार छिर्ने प्रयास गरेका थिए। त्यहीँ बेला सर्वोच्च अदालतको भवनमा पनि आगजनी गरिदिए। सर्वोच्चमा प्रवेश गरेर प्रदर्शनकारीहरुले सुरक्षाकर्मीको बन्दुक खोसे र आफैले पड्काउन थाले।

त्यतिबेलासम्म चौतर्फीरूपमा प्रधानमन्त्रीको राजीनामा माग भइरहेको थियो। तर, उनी साँझ ६ बजेका लागि सर्वदलीय बैठक बोलाएर अपील जारी गरिरहेका थिए। प्रदर्शनकारीहरुले भने काठमाडौं उपत्यकामा जताजतै आगो बालिरहेका थिए। जुन

प्रधानमन्त्री ओलीको कल्पना र नियन्त्रण क्षमताभन्दा बाहिरको विषय बनिसकेको थियो।
नेपाली सेनाको व्रिफिङ लिएपछि ओली बल्ल राजीनामाको लागि तयार भए। दिउँसो २ बजेको आसपासमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा घोषणा गरे। मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको पहलको लागि राजीनामा घोषणा गरेको उनले बताएका थिए।
प्रधामन्त्रीको राजीनामापछि पनि आन्दोलन जारी नै रह्यो। प्रदर्शनकारीहरुले सिंहदरबारभित्रै प्रवेश गरेर प्रधानमन्त्री कार्यालयमा तोडफोड गरे।
प्रधानमन्त्रीको राजीनामापछि मुख्य सचिव र सुरक्षा निकायका प्रमुखहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गरेर छलफल र निकासका लागि आह्वान गरेका थिए।
उता कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा घरभित्रै रहँदा प्रदर्शनकारीहरुले घरमा आगो लगाइदिएका थिए। पछि उनीहरुलाई बाहिर निकालेर निर्घात कुटपिट गरियो।
राष्ट्रपति निवास पनि जल्नबाट बाँकी रहेन। प्रदर्शनकारीहरुले शीतल निवासमै प्रवेश गरेर आगो लगाइदिए।
प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा कालीमाटीमा दुई जनाको मृत्यु नै भयो। यता कोटेश्वरमा प्रदर्शनकारीको आक्रमणबाट तीन जना प्रहरीले ज्यान गुमाएका छन्। प्रदर्शनकारी समक्ष आत्मसमर्पन गरेका प्रहरीलाई सडकमा ल्याएर निर्घात कुटिएको थियो।
यी सबै भइसकेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फेसबुकमा स्टेटस लेखेर प्रदर्शनकारीलाई संयमित हुन निर्देशन गरे। उनले भनेका थिए, ‘तपाई, हामी अब संयमित हुन जरुरी छ। अब तपाईको पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने छ। तयार रहनुहोला।’
उनले अब प्रधानसेनापतिसँग वार्ता गर्नुपर्ने र त्यसका लागि संसद विघटन भएको हुनुपर्ने शर्त पनि सार्वजनिक गरेका थिए।
तर, प्रदर्शनकारीले तोडफोड र आगजनी जारी राखिरहे। टंगालस्थित भाटभटेनी सुपर मार्केट र सतुङ्गलस्थित चौधरी ग्रुपको कारखानामा पनि आगजनी भयो। सार्वजनिक सम्पत्ति तोडफोड भइरह्यो। आगो दन्किरह्यो। धुँवाको मुश्लोले आकाश ढाकिरह्यो।
साँझ राष्ट्रपति रामचन्द्र पौडेलले सन्देश जारी गर्दै नयाँ निकासको लागि वार्तामा आउन आह्वान गरे। त्यसको लगत्तै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै संयम रहन र नयाँ परिस्थितीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न सबैमा अपिल गरेको छ।
नयाँ परिस्थितिमा देशको राजनीतिक बागडोर कसरी अगाडि बढ्छ भन्ने अन्योल उत्पन्न भएको छ। संविधान र लोकतन्त्रको भविष्यलाई लिएर चिन्ता बढेको छ।
थप तस्बिरमा हेर्नुस् दिनभरकाे दृश्य






