काठमाडौँ
००:००:००
२७ जेष्ठ २०८३, बुधबार

२७ जेष्ठ २०८३
अ+
अ-

चितवन । चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ ।

खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो । पशु सेवा कार्यालय चितवनका अनुसार यही जेठ २३ गते कुखुरामा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालय प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिए ।

उनका अनुसार लगातार तीनदिनसम्म कुखुरा नष्ट गरेपछि मङ्गलबार फार्म पूर्ण रुपमा सरसफाइ गरी सिल गरिएको हो । यस्तै सो फार्मबाट एक हजार ४०५ पेटी अण्डा, १२ टन दानासमेत नष्ट गरिएको प्रमुख डा.प्रभात न्यौपानेले जानकारी दिए ।

“पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमूना पठाएका थियौँ । त्यहाँबाट एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान देखिएपछि हामीले तीन दिन लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका हौँ”, उनले भने । प्रमुख डा‍.न्यौपानेका अनुसार अन्य स्थानमा नमूना सङ्कलन गर्ने कामसमेत भइरहेको छ ।

यसअघि चैत १२ गते भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि १७ हजार ८७० लेयर्स कुखुरा र नजिकैको अर्को फार्मबाट ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो । नेपालमा कुखुराजन्य क्षेत्रमारु ७० अर्बभन्दा बढी लगानी छ ।