काठमाडौँ
००:००:००
२७ जेष्ठ २०८३, बुधबार

दृष्टिकोण

एउटै समाजले एकातिर चन्द्रमामा अन्तरिक्षयान पठाउँछ, एआई मोडेल निर्माण गर्छ, सुपरकम्प्युटर विकास गर्छ; अर्कोतिर ग्रह-नक्षत्रले मानव भाग्य नियन्त्रण गर्छन् भन्ने वैज्ञानिक रूपमा प्रमाणित नभएका दाबीलाई सार्वजनिक महत्त्व दिन्छ।

२७ जेष्ठ २०८३
अ+
अ-

दूरबिनको आविष्कार हुनुभन्दा धेरै अघि, गणितका कठिन अमूर्त सिद्धान्त जन्मिनुभन्दा धेरै पहिले, मानिसहरूले आकाशतर्फ हेरेका थिए। उनीहरूले आकाशलाई शाश्वत ठानेका वस्तुलाई जसरी गम्भीरतासाथ अवलोकन गरे।

बेबिलोन (हाल इराक)का पुजारीहरूले मंगल ग्रहको रातो चमकलाई आउँदै गरेको युद्धको रगतका रूपमा व्याख्या गरे। मिस्रका खगोलविद्हरूले ब्याध ताराको उदयलाई नाइल नदीको बाढीसँग जोडेर हेरे। ग्रिक चिन्तकहरूले छरिएका चम्किला ताराहरूलाई जोडेर बाह्र राशिको यस्तो चक्र बनाए, जुन आज पनि दिल्लीदेखि काठमाडौँसम्मका पत्रिकामा हरेक बिहान देखिन्छ।

मानव इतिहासको लामो कालखण्डसम्म खगोलशास्त्र र ज्योतिषशास्त्र अलग विषय थिएनन्। ती दुवै एउटै प्रयास थिए– माथिको आकाश र तलको जीवनबीचको सम्बन्ध बुझ्ने प्रयास।

यस्तो प्रयासको सुरुआतमा कुनै हीनताबोध थिएन। प्राचीन मानिसहरूले त्यही गरिरहेका थिए, जुन मानव जातिले सधैँ गर्दै आएको छ; अस्तव्यस्त संसारमा कुनै व्यवस्था खोज्ने प्रयास। ताराहरू विश्वसनीय देखिन्थे। ऋतुहरू आकाशीय लयसँगै परिवर्तन हुन्थे। ग्रहणहरू डरलाग्दा थिए, तर सहज रूपमा आउँथे। आकाश अत्यन्त नियमित र भव्य देखिन्थ्यो, मानौँ त्यो मानव भाग्यसँग असम्बद्ध हुनै सक्दैन।

विज्ञानका केही महान् व्यक्तिहरू पनि यही विश्वदृष्टिभित्र बाँचे। शुल्क तिर्ने ग्राहकका लागि ग्यालिलियोले कुण्डली बनाउँथे। ग्रहहरूको गतिसम्बन्धी नियम पत्ता लगाउने जोहानेस केप्लरले पनि मानव जीवनमा ग्रहको प्रभावबारे विस्तृत रूपमा लेखेको भेटिन्छ। विज्ञान र अन्धविश्वासबीचको रेखा एक समय धमिलो थियो, किनकि तिनलाई अलग गर्ने विधिहरू पूर्ण रूपमा विकसित भइसकेका थिएनन्।

सभ्यताबीच यात्रा गरेका तारा

भारतीय ज्योतिषशास्त्रलाई प्रायः वैदिककालदेखि अहिलेसम्म निरन्तर रहेको पूर्णतः स्वदेशी परम्पराका रूपमा वर्णन गरिन्छ। तर, प्रख्यात भारतीय खगोलशास्त्री जयन्त विष्णु नार्लिकर यस गौरवशाली ऐतिहासिक चित्रभन्दा अलि फरक धारणा राख्छन्।

आज मानिसहरूले ज्योतिषका रूपमा चिन्ने धेरै कुरा राशिचक्र, ग्रहहरूको घर, कुण्डलीको संरचना र भविष्यवाणी गर्ने धेरै विधि ग्रिक, बेबिलोनियन, फारसी र अरब परम्परासँगको शताब्दीयौँ लामो आदानप्रदानमार्फत भारतीय उपमहाद्वीपमा प्रवेश गरेका हुन्।

आधुनिक विज्ञानले पदार्थको सबएटोमिक कणदेखि ब्ल्याक होलसम्मको व्यवहारलाई नापिसकेको छ। मानव भाग्य नियन्त्रण गर्न सक्ने शक्तिशाली बल सबै वैज्ञानिक उपकरणबाट पूर्ण रूपमा अदृश्य रहन सक्छ भन्ने कुरा त्यति विश्वसनीय देखिँदैन।

इसापूर्व चौथो शताब्दीमा अलेक्जेन्डरका अभियानहरूले सेना मात्र अघि बढाएनन्, तिनले विचार र ज्ञानका नयाँ बाटा पनि खोले। त्यस समय रेसम, मसला र बहुमूल्य पत्थर बोकेर हिँड्ने व्यापार मार्गहरूबाट सामान मात्र होइन, गणित, खगोलशास्त्र, दर्शन र ब्रह्माण्डबारेका अवधारणा पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्यो। वस्तुको व्यापार हुन्थ्यो, सँगै मानिसहरू विचार पनि आदानप्रदान गर्थे।

आज संस्कृत ज्योतिषशास्त्रमा प्रयोग हुने ‘होरा’ शब्द पनि सम्भवतः ग्रिक शब्द ‘होरा’ बाट आएको मानिन्छ, जसको अर्थ समय वा घण्टा हुन्छ। इतिहासकार पिटर फ्रेंकोपनका अनुसार सभ्यताहरू अलग अलग टापु होइनन्; तिनीहरू विचार, प्रविधि र विश्वासहरूको निरन्तर आदानप्रदानबाट बनेका परस्पर जोडिएका संसार हुन्।

वास्तवमा कुनै पनि सभ्यता एक्लै विकसित भएको हुँदैन। मानिसहरूले बाहिरबाट आएका विचार ग्रहण गर्छन् र आफ्नै समाज तथा अर्थव्यवस्थाअनुसार नयाँ रूप दिन्छन्। यही प्रक्रियाबाट ज्ञान र सभ्यताको विकास हुन्छ। उदाहरणका लागि, बीजगणित अरब संसारबाट फैलियो; बौद्ध धर्म नेपाल, भारत हुँदै पूर्वी एसिया पुग्यो; आधुनिक भौतिकशास्त्र युरोप, एसिया र इस्लामी संसारबीचको लामो बौद्धिक संवादबाट विकसित भयो। त्यसैले सीमापार विचारको आदानप्रदान कमजोरी होइन; सभ्यता विकासको आधार हो।

तपाईंको रगतमा रहेको फलाम र हड्डीमा रहेको कार्बन पृथ्वी निर्माण हुनुअघि विस्फोट भएका प्राचीन ताराहरूभित्र बनेका हुन्। तपाईंको शरीरको प्रत्येक परमाणुले अर्बौं वर्ष पुरानो ब्रह्माण्डीय इतिहास बोकेको छ। यी कवितामय कल्पना होइनन्, वैज्ञानिक तथ्य हुन्।

महत्त्वपूर्ण कुरा, हामीले ती विचारहरूसँग के गर्‍यौँ भन्ने हो। प्राचीन भारतीय खगोलशास्त्रीहरूले आकाशीय अवलोकनलाई सरल गणितमा रूपान्तरण गरे। आर्यभट्टले ग्रहणहरूको गणना असाधारण तरिकाले गरे र युरोपले स्विकार्नुभन्दा धेरै शताब्दीअघि नै पृथ्वी आफ्नो अक्षमा घुम्छ भन्ने तर्क प्रस्तुत गरे। वराहमिहिरले खगोलीय तालिका र अवलोकन प्रविधिलाई अझ परिष्कृत बनाए, जसले पुस्तौँसम्मका विद्वान्‌लाई प्रभाव पार्‍यो। भारतीय गणितज्ञहरूले आधुनिक वैज्ञानिक युग आउनुभन्दा धेरै अघि नै खगोलशास्त्रका लागि अत्यावश्यक त्रिकोणमितीय विधि विकास गरेका थिए। यो वास्तवमै गर्व गर्नलायक वैज्ञानिक बिरासत हो।

तर, कुनै बिन्दुमा आएर दुई बौद्धिक परम्परा अलग भए। खगोलशास्त्रले मापन गर्न सकिने प्रश्नहरू सोधिरह्यो- चन्द्रमा कति टाढा छ? ग्रहण किन हुन्छ? ग्रहहरू कसरी चल्छन्? ज्योतिषशास्त्र भने जन्मका समयमा ग्रहहरूको अवस्थाले व्यक्तित्व, विवाह, स्वास्थ्य, भाग्य र भविष्य निर्धारण गर्छ भन्ने पूर्णतः फरक दाबीमा मोडियो।

सुरुमा यो अन्तर सानो देखिन्छ। एउटा पक्ष सूर्यको चमक र चन्द्रमाको गतिको स्रोत खोज्छ। अर्कोले तपाईंकी छोरी जिद्दी हुनेछिन् वा तपाईंका छोरा आर्थिक रूपमा सफल हुनेछन् भन्ने भविष्यवाणी गर्छ। तर, यी दुईबीचको फरक विशाल छ। एउटा विधाले आफूलाई निरन्तर वास्तविकतासँग तुलना गर्दै सुधार गरिरह्यो। अर्कोले भने सुधारबाट बच्दै आफ्ना निष्कर्षहरू जोगाइरह्यो।

प्रयोगशालामा ज्योतिषशास्त्र

ज्योतिषशास्त्र आजसम्म टिकिरहनुको एउटा कारण यसको केन्द्रीय दाबी सहजै विश्वास गर्न सकिने खालको देखिनु हो। चन्द्रमाले समुद्री ज्वारभाटा प्रभावित गर्छ। सूर्यले मौसम र ऋतुहरू नियन्त्रण गर्छ। मानिसहरू पनि यही भौतिक ब्रह्माण्डभित्र रहेका जैविक प्राणी हुन्। त्यसो भए ग्रहहरूले हामीलाई किन प्रभाव पार्दैनन्? यो एकदमै उचित प्रश्न हो। विज्ञानले यस्तो प्रश्न सोध्न कहिल्यै आपत्ति जनाएको छैन। समस्या तब सुरु हुन्छ, जब हामी यसको उत्तरलाई वैज्ञानिक रूपमा जाँच्न खोज्छौँ।

आधुनिक भौतिकशास्त्रका अनुसार प्रकृतिमा चार आधारभूत बल छन्– गुरुत्वाकर्षण, विद्युत्‌चुम्बकीय बल, सबल आणविक बल र दुर्बल आणविक बल। यीमध्ये केवल गुरुत्वाकर्षण र विद्युत्‌चुम्बकीय बलले मात्र अन्तरिक्षीय दूरीसम्म प्रभाव पार्न सक्छन्। त्यसैले यदि ग्रह वा ताराहरूले वास्तवमै मानव जीवनलाई भौतिक रूपमा प्रभाव पार्छन् भने, त्यो प्रभाव यी बलमध्ये कुनै एकमार्फत व्याख्या हुन सक्नुपर्छ।

तर, यसको वास्तविक प्रभाव नाप्ने वैज्ञानिकहरूको प्रयासको परिणामले ज्योतिषशास्त्रको दाबीलाई समर्थन गरेन। उदाहरणका लागि, नवजात शिशुको छेउमा उभिएको चिकित्सकले त्यस शिशुलाई मंगल ग्रहभन्दा बढी गुरुत्वाकर्षण प्रभाव पार्छ। भान्साको फ्रिजमा टाँसिएको सामान्य चुम्बकले टाढाका तारामण्डलहरूले भन्दा बढी शक्तिशाली विद्युत्‌चुम्बकीय प्रभाव उत्पन्न गर्छ। अस्पतालका बत्तीहरूले आकाशका धेरै ताराभन्दा बढी विकिरण उत्सर्जन गर्छन्। यदि ग्रहहरूको प्रभाव यति कमजोर छ भने, त्यसले मानव व्यक्तित्व वा भाग्यलाई कसरी नियन्त्रण गर्न सक्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।

बीजगणित अरब संसारबाट फैलियो; बौद्ध धर्म नेपाल, भारत हुँदै पूर्वी एसिया पुग्यो; आधुनिक भौतिकशास्त्र युरोप, एसिया र इस्लामी संसारबीचको लामो बौद्धिक संवादबाट विकसित भयो। त्यसैले सीमापार विचारको आदानप्रदान कमजोरी होइन; सभ्यता विकासको आधार हो।

ज्योतिषका समर्थकहरूले कहिलेकाहीँ विज्ञानले अझै पत्ता नलगाएको कुनै ‘सूक्ष्म ब्रह्माण्डीय ऊर्जा’ वा अज्ञात बलको कुरा गर्छन्। तर, यस्तो दाबी पनि परीक्षणमा टिक्दैन। यदि कुनै अज्ञात बल अर्बौं मानिसको व्यक्तित्व, स्वास्थ्य, सम्बन्ध र भविष्यलाई आकार दिन पर्याप्त शक्तिशाली छ भने, त्यसले प्रकृतिका अन्य क्षेत्रमा पनि मापन गर्न सकिने प्रभाव छोड्नुपर्छ। आधुनिक विज्ञानले पदार्थको सबएटोमिक कणदेखि ब्ल्याक होलसम्मको व्यवहारलाई नापिसकेको छ। मानव भाग्य नियन्त्रण गर्न सक्ने शक्तिशाली बल सबै वैज्ञानिक उपकरणबाट पूर्ण रूपमा अदृश्य रहन सक्छ भन्ने कुरा त्यति विश्वसनीय देखिँदैन।

यस सन्दर्भमा अस्ट्रेलियाली अनुसन्धाता जियोफ्री डिन र मनोवैज्ञानिक आइभान केलीले गरेको ‘टाइम-ट्विन’ बारेको अध्ययन महत्त्वपूर्ण छ। यसको आधार सरल थियो। यदि ज्योतिषशास्त्र सही हो भने लगभग एउटै समय र स्थानमा जन्मिएका व्यक्तिहरूको व्यक्तित्व र जीवन परिणामहरू पनि धेरै समान हुनुपर्छ, किनकि तिनका कुण्डलीहरू लगभग उस्तै हुन्छन्।

उनीहरूले लन्डनमा केही मिनेटको अन्तरमा जन्मिएका दुई हजारभन्दा बढी ‘टाइम ट्विन’ हरूको अध्ययन गरे। त्यसमा व्यक्तित्व, बुद्धिमत्ता, पेसा, वैवाहिक स्थिरता र जीवनका अन्य धेरै पक्षको तुलना गरिएको थियो। अनियमित छनोट विधिबाट छानिएका अपरिचित व्यक्तिहरूको तुलनामा कुनै पनि ‘टाइम ट्विन’ हरू थप समान देखिएनन्।

नार्लिकरले पनि सन् १९७० र १९८० को दशकमा भारतमा यस्तै प्रकारको परीक्षण प्रस्ताव गरेका थिए। उनले व्यावसायिक ज्योतिषीहरूलाई केवल जन्मकुण्डली दिए, जसमा व्यक्तिको नाम, पेसा वा सामाजिक अवस्था जस्ता विवरण हटाइएको थियो। त्यसपछि उनीहरूलाई अपराधी र साधारण नागरिक, गम्भीर बिरामी र स्वस्थ व्यक्ति, अथवा अत्यन्त सफल र सामान्य मानिसका कुण्डली छुट्याउन भनियो। यदि ग्रह-नक्षत्रहरूले वास्तवमै व्यक्तिको स्वभाव वा भाग्य निर्धारण गर्छन् भने, ज्योतिषीहरूले यी भिन्नता स्पष्ट रूपमा पहिचान गर्न सक्नुपर्थ्यो। तर, परिणाम सामान्य अनुमानभन्दा उल्लेखनीय देखिएन।

मानिस, मनोविज्ञान र राशिफल

ज्योतिषशास्त्र आज पनि निकै लोकप्रिय छ। यो केवल अशिक्षित मानिसहरूमा सीमित छैन, राष्ट्रपतिदेखि अभिनेता, व्यवसायी र विश्वविद्यालयका प्राध्यापकसम्मले यसमा विश्वास गर्छन्। मानिसले स्वभावतः आफ्नो वरिपरिको संसारमा ढाँचा र अर्थ खोज्नु नै यसको मुख्य कारण हो। प्राचीन समयदेखि नै यस्तो क्षमता मानिसको अस्तित्वका लागि उपयोगी थियो, किनकि यसले सम्भावित खतरा चिन्न मद्दत गर्थ्यो। ज्योतिषीहरूले यही मानवीय प्रवृत्तिको फाइदा उठाउँछन् र सबैलाई लागु हुन सक्ने सामान्य कथनलाई व्यक्तिगत सत्य जस्तो गरी प्रस्तुत गर्छन्।

मनोवैज्ञानिकहरूले यसलाई ‘बार्नम प्रभाव’ भन्छन्। ‘स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै उत्तम हुन्छ’; ‘अध्ययनमा सुधार गरे नतिजा आफ्नै पोल्टामा पार्न सकिनेछ’; ‘जीवनशैली व्यस्त रहे पनि आर्थिक पक्ष केही कमजोर हुन सक्छ’ जस्ता कथनहरू धेरै मानिसलाई आफ्नै जीवनसँग मेल खाएको जस्तो लाग्छ। मानिसहरूले मिलेको जस्तो देखिने भविष्यवाणी सम्झन्छन्, तर गलत साबित भएका धेरै भविष्यवाणी बिर्सिन्छन्। उदाहरणका लागि, राशिफलले ‘भावनात्मक कठिनाइ’ आउने भन्यो र पछि कसैसँग झगडा भयो भने, धेरैले त्यसलाई ज्योतिष सही भएको प्रमाण ठान्छन्।

विज्ञानले मानिसहरूलाई ‘आकाशीय पिण्डहरू र तिनका चाललाई अर्थपूर्ण मान्न छोड’ भन्न खोजेको होइन। यसले केवल मानवीय भावनात्मक अर्थलाई भौतिक कारणसँग नमिसाउन आग्रह गर्छ। ताराहरूले हामीलाई प्रेरणा दिन सक्छन्, तर तिनैले हाम्रो व्यक्तित्व, सम्बन्ध वा भविष्य निर्धारण गर्छन् भन्ने होइन।

ज्योतिषशास्त्र टिकिरहनुको अर्को कारण यसले मानिसलाई भावनात्मक सान्त्वना दिनु हो। जीवन अनिश्चित छ। अर्थतन्त्र बदलिन्छ, सम्बन्ध टुट्छन्, रोग अचानक आउँछ र राजनीतिक प्रणालीले पनि मानिसलाई निराश बनाउँछ। यस्तो अवस्थामा ज्योतिषले आश्वासन र नियन्त्रणको अनुभूति दिन्छ। यसले मानिसलाई घटनाहरू केवल संयोग होइनन्, कुनै अर्थ वा उद्देश्यका साथ भएका हुन् भन्ने महसुस गराउँछ। अर्थ र सान्त्वना खोज्ने चाहना पूर्ण रूपमा मानवीय कुरा हो। समस्या त्यतिबेला सुरु हुन्छ, जब व्यक्तिगत विश्वासलाई सार्वजनिक सत्यका रूपमा प्रस्तुत गरिन्छ।

खगोलशास्त्रीहरूको दृष्टिकोण

खगोलशास्त्रीहरूलाई प्रायः आश्चर्य र रहस्यका शत्रुका रूपमा चित्रण गरिन्छ। मानौँ, उनीहरू ब्रह्माण्डबाट रहस्य हटाउन खोज्ने रुखो तर्कवादी हुन्। तर, वास्तवमा ज्योतिषशास्त्रले कल्पना गरेभन्दा धेरै अद्भुत र आश्चर्यजनक ब्रह्माण्ड खगोलशास्त्रले देखाउँछ।

जब हामी आकाशतर्फ हेर्छौं, समयको धेरै गहिरो अतीततर्फ हेरिरहेका हुन्छौँ। उदाहरणका लागि, सूर्यबाट निस्किएको प्रकाश पृथ्वीमा आइपुग्न करिब आठ मिनेट लाग्छ। अर्थात्, हामीले देखिरहेको सूर्य वास्तवमा आठ मिनेटअघिको सूर्य हो। त्यस्तै, एन्ड्रोमेडा तारापुञ्जबाट तपाईंको आँखामा आइपुगेको प्रकाशले आफ्नो यात्रा मानव सभ्यता अस्तित्वमा आउनुभन्दा धेरै अघि, करिब २० लाख वर्षअघि सुरु गरेको हो। ब्रह्माण्डमा देखिने हरेक ताराले वास्तवमा समयको कुनै पुरानो क्षणको कथा बोकेको हुन्छ।

खगोलशास्त्र केवल टाढाका ग्रह र ताराहरू हेर्ने विज्ञान होइन, यसले ब्रह्माण्डका विशाल संरचनादेखि अत्यन्त सूक्ष्म सबएटोमिक कणहरूको उत्पत्तिसम्मका प्रश्न अध्ययन गर्छ। वैज्ञानिकहरूले तारा, तारापुञ्ज र ब्रह्माण्डको विस्तृत अध्ययन गरेर प्रकृतिका आधारभूत नियमहरू परीक्षण गर्छन्। यही अनुसन्धानले ब्रह्माण्ड कसरी सुरु भयो, यसको उमेर कति छ र पदार्थ निर्माण गर्ने सूक्ष्म कणहरू कसरी अस्तित्वमा आए भन्ने प्रश्नको उत्तर खोज्न मद्दत गरिरहेको छ।

तपाईंको रगतमा रहेको फलाम र हड्डीमा रहेको कार्बन पृथ्वी निर्माण हुनुअघि विस्फोट भएका प्राचीन ताराहरूभित्र बनेका हुन्। तपाईंको शरीरको प्रत्येक परमाणुले अर्बौं वर्ष पुरानो ब्रह्माण्डीय इतिहास बोकेको छ। यी कवितामय कल्पना होइनन्, वैज्ञानिक तथ्य हुन्।

वैज्ञानिक सोचले मानिसलाई आध्यात्मिकता, संस्कृति वा आश्चर्य त्याग्न भनिरहेको हुँदैन। यसले केवल यति सोध्छ– वास्तविक संसारबारे गरिएको कुनै दाबी प्रमाण र सावधानीपूर्वक गरिएको परीक्षणमा टिक्छ कि टिक्दैन?

विज्ञानले मानिसहरूलाई ‘आकाशीय पिण्डहरू र तिनका चाललाई अर्थपूर्ण मान्न छोड’ भन्न खोजेको होइन। यसले केवल मानवीय भावनात्मक अर्थलाई भौतिक कारणसँग नमिसाउन आग्रह गर्छ। ताराहरूले हामीलाई प्रेरणा दिन सक्छन्, तर तिनैले हाम्रो व्यक्तित्व, सम्बन्ध वा भविष्य निर्धारण गर्छन् भन्ने होइन। शनिले हाम्रो पेसा वा भाग्य तय गर्छ भन्ने विश्वास नगरे पनि ब्रह्माण्ड आफैँमा अविश्वसनीय रूपमा सुन्दर, रहस्यमय र आश्चर्यजनक छ नै।

हामी बसिरहेको ब्रह्माण्डमा अर्बौं तारापुञ्ज छन् र प्रत्येक तारापुञ्जमा खर्बौं तारा छन्। आज वैज्ञानिकहरूले हजारौँ ‘एक्सोप्लानेट’ अर्थात् हाम्रो सौर्यमण्डलभन्दा बाहिरका ग्रह पत्ता लगाइसकेका छन्। तीमध्ये केही ग्रह आफ्नो ताराबाट यस्तो दूरीमा छन्, जहाँ पानी तरल अवस्थामा रहन सक्छ, अर्थात् जीवन सम्भव हुन सक्ने क्षेत्र। त्यसैले ब्रह्माण्डमा पृथ्वीबाहेक अन्यत्र पनि जीवन हुन सक्छ भन्ने सम्भावना अब केवल विज्ञानकथा होइन, गम्भीर वैज्ञानिक अनुसन्धानको विषय बनेको छ।

मानव जाति अब केवल आकाश हेर्ने चरणमा छैन। हामी अन्तरिक्षमा पुग्न र सम्भवतः भविष्यमा अन्य ग्रहमा बसोबास गर्ने सम्भावनाबारे पनि सोचिरहेका छौँ। मंगल ग्रहमा मानव बस्ती बसाउने योजना अहिले विश्वका वैज्ञानिक संस्था र निजी अन्तरिक्ष कम्पनीहरूको गम्भीर अनुसन्धानको विषय बनेको छ। चन्द्रमा र मंगल ग्रहमा दीर्घकालीन मानव उपस्थिति सम्भव बनाउन आवश्यक प्रविधि विकास भइरहेका छन्। सायद भविष्यका पुस्ताहरूले पृथ्वीबाहिर पनि मानव सभ्यताको नयाँ अध्याय सुरु गर्नेछन्।

आधुनिक दक्षिण एसियामा परम्परा र प्रमाण

दक्षिण एसिया वैज्ञानिक क्षमता वा बौद्धिक प्रतिभाको कमी भएको क्षेत्र होइन। भारतसहित यस उपमहाद्वीपका देशहरूले विश्वस्तरीय वैज्ञानिक, चिकित्सक, इन्जिनियर र अनुसन्धाता उत्पादन गरेका छन्, जसले विश्व विज्ञान र प्रविधिमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्। भारतले अन्तरिक्षमा उपग्रह पठाउँछ; चन्द्रमा र मंगल ग्रहको अन्वेषण गर्छ; खोप विकास गर्छ र ब्ल्याक होल तथा तारापुञ्जहरूको अध्ययन गर्छ। इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन–इसरोले सीमित स्रोतसाधनमै पनि विश्वस्तरीय वैज्ञानिक उपलब्धि सम्भव हुन्छ भन्ने देखाएको छ।

यस क्षेत्रका युवाहरू विश्वस्तरमै कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, डेटा विज्ञान, जैविक प्रविधि र कम्प्युटिङ जस्ता अत्याधुनिक क्षेत्रमा काम गरिरहेका छन्। दक्षिण एसियाका इन्जिनियर र प्रोग्रामरहरूले विश्वका ठूला प्रविधि कम्पनीमा एआई प्रणाली निर्माण गरिरहेका छन्, जसले भविष्यको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र अनुसन्धानलाई परिवर्तन गर्दै छ।

तर, अर्कातर्फ दक्षिण एसियाको ठूलो हिस्सा अझै पनि ज्योतिष, अन्धविश्वास र परम्परागत अधिकारको प्रभावमा छ। धेरै परिवारमा विवाह, शिक्षा, व्यवसाय, यात्रा वा स्वास्थ्य जस्ता महत्त्वपूर्ण निर्णयसमेत राशिफल र ज्योतिषीय सल्लाहका आधारमा गरिन्छ। यसले एउटा गम्भीर विरोधाभास सिर्जना गर्छ। एउटै समाजले एकातिर चन्द्रमामा अन्तरिक्षयान पठाउँछ, एआई मोडेल निर्माण गर्छ, सुपरकम्प्युटर विकास गर्छ; अर्कातिर ग्रह-नक्षत्रले मानव भाग्य नियन्त्रण गर्छन् भन्ने वैज्ञानिक रूपमा प्रमाणित नभएका दाबीलाई सार्वजनिक महत्त्व दिन्छ।

एआई र अन्तरिक्ष अनुसन्धानको युगमा हामी कस्तो समाज निर्माण गर्न चाहन्छौँ– जिज्ञासा, प्रमाण र खुला प्रश्नलाई प्रोत्साहन गर्ने समाज वा परीक्षण नगरी परम्परागत विश्वासलाई अन्तिम सत्य मानेर स्वीकार गर्ने समाज?

यस्ता विश्वासप्रति प्रश्न उठाउनु संस्कृति वा परम्पराप्रतिको अनादर होइन। कुनै पनि सभ्यता तब बलियो बन्छ, जब उसले आफ्ना पुराना विचारलाई इमानदार र आलोचनात्मक रूपमा जाँच्न सक्छ। वैज्ञानिक सोचले मानिसलाई आध्यात्मिकता, संस्कृति वा आश्चर्य त्याग्न भनिरहेको हुँदैन। यसले केवल यति सोध्छ– वास्तविक संसारबारे गरिएको कुनै दाबी प्रमाण र सावधानीपूर्वक गरिएको परीक्षणमा टिक्छ कि टिक्दैन?

धेरै पहिले मानिसहरूले रातको आकाशतर्फ हेरेर ब्रह्माण्ड र त्यसमा आफ्नो स्थान बुझ्ने प्रयास गरेका थिए। त्यही जिज्ञासाबाट खगोलशास्त्र र ज्योतिषशास्त्र दुवै जन्मिएका हुन्। तर, समयसँगै खगोलशास्त्र अवलोकन, गणित र प्रयोगका आधारमा विकसित हुँदै गयो। त्यसैले आज हामीसँग दूरबिन, उपग्रह, अन्तरिक्ष अभियान, एआईआधारित वैज्ञानिक अनुसन्धान र अर्बौं प्रकाशवर्ष टाढाका तारापुञ्ज अध्ययन गर्ने क्षमता छ।

आधुनिक एआई प्रणालीहरूले लाखौँ आकाशगंगाको वर्गीकरण गर्न, नयाँ औषधि खोज्न मद्दत गर्न र जलवायु परिवर्तनदेखि रोगका जटिल समस्याको विश्लेषण गर्न सक्छन्। विज्ञानले मानव क्षमतालाई विस्तार गरिरहेको छ, अन्धविश्वासलाई होइन।

ताराहरू स्वयं यस विवादका भागीदार होइनन्। तिनीहरू प्रकृतिका नियमअनुसार केवल चम्किरहेका हुन्। वास्तविक प्रश्न यो हो कि एआई र अन्तरिक्ष अनुसन्धानको युगमा हामी कस्तो समाज निर्माण गर्न चाहन्छौँ– जिज्ञासा, प्रमाण र खुला प्रश्नलाई प्रोत्साहन गर्ने समाज वा परीक्षण नगरी परम्परागत विश्वासलाई अन्तिम सत्य मानेर स्वीकार गर्ने समाज?

(सियोल, दक्षिण कोरिया)