अङ्कारा। मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू बुधबार अङ्कारामा उच्चस्तरीय वार्ताका लागि भेला भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य सदस्य राष्ट्रबीच रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता तथा युक्रेन युद्ध प्रमुख एजेन्डाका रूपमा रहेका छन्। शिखर सम्मेलन सुरु हुनुअघि नाटो महासचिव मार्क रुटले अमेरिकाको गठबन्धनप्रतिको प्रतिबद्धता पूर्ण रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानाडाले पनि रक्षा खर्च बढाएर आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले अमेरिकी प्रशासनको यही प्रमुख अपेक्षा रहेको उल्लेख गरे। वार्ता सुरु हुनुअघि अमेरिकी सेनाले हर्मुज जलघाँटीमा जहाजमाथिको आक्रमणपछि इरानमा व्यापक सैन्य कारबाही गरेकाले मध्यपूर्वको तनाव शिखर सम्मेलनमा पनि मुख्य चासोको विषय बनेको छ।
टर्की पुग्नासाथ राष्ट्रपति ट्रम्पले राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको सम्बन्धको खुलेर प्रशंसा गरे। त्यसको विपरीत उनले फेरि नाटोप्रति असन्तुष्टि जनाउँदै केही सहयोगी राष्ट्रले इरान सङ्कटका क्रममा पर्याप्त साथ नदिएको गुनासो गरे। सतहत्तर वर्ष पुरानो नाटो गठबन्धन ट्रम्पले सदस्य राष्ट्रमाथि रक्षा खर्च बढाउन निरन्तर दबाब दिइरहेका बेला शिखर सम्मेलन भइरहेको हो।
नाटोले सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार युरोपेली सदस्य राष्ट्रहरूको रक्षा खर्च सन् २०२६ मा ११ प्रतिशतले बढेर ६३४ अर्ब अमेरिकी डलर पुगेको छ। यो अघिल्लो वर्ष ५७१ अर्ब डलर थियो। ट्रम्पसँगको मतभेद कम गर्न सदस्य राष्ट्रहरूले मंगलबार अर्बौं डलर बराबरका नयाँ हतियार खरिद सम्झौता सार्वजनिक गरेका छन्।
महासचिव रुटले यसलाई सहयोगी राष्ट्रहरूले आफ्नो सुरक्षा जिम्मेवारी बढाउँदै गएको प्रमाण र अमेरिकी राष्ट्रपतिका लागि ठूलो उपलब्धिका रूपमा वर्णन गरे। यसैबीच ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाको नियन्त्रणमा हुनुपर्ने आफ्नो पुरानो धारणा पुनः दोहोर्याएका छन्। त्यसको जवाफमा डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पारिन्। शिखर सम्मेलनको अर्को महत्त्वपूर्ण विषय युक्रेन युद्ध पनि बनेको छ। ट्रम्पले युद्धरत दुवै पक्ष वार्तामार्फत समाधान खोज्न इच्छुक रहेको विश्वास व्यक्त गरे। उनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेटवार्ता गर्ने तथा त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः संवाद गर्ने योजना रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।
युरोपेली राष्ट्र र क्यानाडाले सन् २०२६ र २०२७ मा युक्रेनलाई वार्षिक ७० अर्ब युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्याएका छन्। ट्रम्पले शिखर सम्मेलनका क्रममा सिरियाका राष्ट्रपति अहमद अल–सारासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। गृहयुद्धपछि अन्तर्राष्ट्रिय सम्बन्ध पुनःस्थापित गर्ने प्रयास गरिरहेको सिरियाका लागि यो भेटलाई महत्त्वपूर्ण मानिएको छ।
टर्कीसँगको रक्षा सहकार्यबारे पनि सकारात्मक सङ्केत दिँदै ट्रम्पले अङ्कारामाथि लगाइएका अमेरिकी प्रतिबन्ध हटाउने र एफ–३५ लडाकू विमान बिक्रीको सम्भावनाबारे विचार गर्ने बताए।
सन् २०१९ मा रूसबाट रक्षा प्रणाली खरिद गरेपछि टर्की एफ–३५ कार्यक्रममा सहभागी हुनबाट रोकिएको थियो। राष्ट्रपति एर्दोगनले दुई देशबीचको रक्षा विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन्।