काठमाडौं। प्रतिनिधि सभा सदस्य असिम शाहले सांसद पदबाट राजीनामा दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गरिरहेका शाहले हाल भइरहेका जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम तथा नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप गरेको भन्दै पद त्याग गर्ने निर्णय गरेको घोषणा गरेका हुन्।
पटक–पटक संसदमा युवाको आवाज उठाएको तर सरकारले कहिल्यै सुन्न वा गम्भीरतापूर्वक लिन नसकेको उल्लेख गरेका छन्। उनले संसद भवनको सुरक्षाभन्दा पनि बच्चाहरूको ज्यान ठूलो रहेको बताएका छन्। त्यसैले भवन जोगाउन सरकार स्वयंले हत्या गर्ने अपराध गरेको उनले आरोप लगाएका छन्।
उनले संसदमा बसेर मौन रहनु या गलत नीतिहरूलाई समर्थन गर्नु पुस्ता, मतदाता र देशको भविष्यसँग ठूलो विश्वासघात हुने ठहर गर्दै पद त्यागेको स्पष्ट पारेका छन्।