काठमाडौं। सोमबारदेखि सुरू भएको जेन-जी आन्दोलन र क्षतिबारे भारतले चिन्ता व्यक्त गरेको छ।
नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ठूलो संख्यामा युवाको ज्यान गएको घटनाप्रति दुःख प्रकट गरेको छ।
“हामी नेपालमा भइरहेको पछिल्ला विकासक्रम नजिकैबाट हेरिरहेका छौं। अनेकौं युवा जीवन गुमाउनु परेको घटनाले हामीलाई गहिरो दुःख दिएको छ। मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ।
भारतले आफ्नो निकटतम् छिमेकीको हैसियतले सबै पक्षले संयम अपनाउन र शान्तिपूर्ण वार्तामार्फत् समस्याको समाधान गर्न आग्रह गरेको छ।
त्यसैगरी, विज्ञप्तिमा नेपालका विभिन्न सहरमा कर्फ्यू लागू भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र नेपाली सरकारद्वारा जारी निर्देशन पालन गर्न सुझाव दिइएको छ। जेन-जी आन्दोलनका क्रममा सोमबार देशभरि १९ जनाको मृत्यु र सयौं घाइते भएका थिए।