काठमाडौँ। अस्ट्रेलियामा अहिले सिङ भएको ‘लुसिफर’ मौरी फेला परेको छ। वैज्ञानिकहरूले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ।
यो नयाँ मौरी प्रजाति पश्चिमी अस्ट्रेलिया राज्यमा फेला परेको हो। यसको जानकारी कर्टिन युनिभर्सिटीले मंगलबार सार्वजनिक गरेको छ। विश्वविद्यालयको ‘स्कुल अफ मोलिक्युलर एन्ड लाइफ साइन्सेज’ की वैज्ञानिक डा. किट प्रिन्डरगास्टले सन् २०१९ मा खतरामा परेका जंगली फूलहरूको सर्वेक्षणका क्रममा यस विशेष मौरीलाई पत्ता लगाएकी थिइन्।
उनका अनुसार उक्त मौरीको स्त्री जातिको अनुहारमा देखिने साना र तीखा सिङहरू अत्यन्तै आकर्षक र असामान्य देखिन्थे। “यी अविश्वसनीय सिङहरू थिए, जुन मैले पहिले कहिल्यै देखेकी थिइनँ,” उनले भनिन्।
नेटफ्लिक्सको चर्चित टेलिभिजन कार्यक्रम ‘लुसिफर’ की प्रशंसकसमेत रहेकी वैज्ञानिक प्रिन्डरगास्टले मौरीको अनौठो स्वरूपका कारण यसलाई ‘लुसिफर’ नाम दिएकी हुन्।
प्रिन्डरगास्टले यस खोजलाई अस्ट्रेलियाको जैविक विविधताको दृष्टिले ऐतिहासिक भनेकी छन्। उनले भनिन्, “यो मौरी समूहको नयाँ सदस्य हो, जुन २० वर्षभन्दा बढी समयपछि वर्णन गरिएको पहिलो प्रजाति हो। यसले हामीले अझ कति नयाँ जीवनरूपहरू पत्ता लगाउन बाँकी छ भन्ने कुराको संकेत दिन्छ।”
विशेषगरी खानी उद्योगका गतिविधिहरूका कारण देशी प्रजातिहरू गुम्ने जोखिम बढ्दै गएका क्षेत्रहरूमा यो खोजले अज्ञात जीवहरूको संरक्षणका लागि चेतना जगाउने उनले आशा व्यक्त गरिन्।
‘लुसिफर’ मौरीको खोजले अस्ट्रेलियामा अझै धेरै अज्ञात जीवनरूपहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ। वैज्ञानिकहरूले यसलाई मौरी संरक्षण र जैविक विविधता बचाउनका लागि नयाँ सुरुआतको रूपमा हेरेका छन्।