२५ कार्तिक २०८२
अ+
अ-

बिहार। बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान मंगलबार साँझ सम्पन्न भएको छ।

बिहारका मुख्य निर्वाचन अधिकारी विनोदसिंह गुन्ज्यालले पत्रकार सम्मेलनमा दोस्रो चरणको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र हिंसाको कुनै घटना नभएको जानकारी दिए।

गुन्ज्यालले भने‚ “दोस्रो चरण पूरा भएपछि प्राप्त तथ्यांकले अहिलेसम्म ६८.७९ प्रतिशत मतदाताले मतदान गरेको देखाउँछ। यसमा दुई हजार बुथहरूको तथ्यांक भने समावेश छैन। जसलाई जोड्न बाँकी नै छ।”

अब आउने तथ्यांकले अझै वृद्धि भएको देखाउने उनको दाबी छ। उनले भने‚ “यदि हामीले दुवै चरणको औसत लियौं भने अहिलेसम्मको कुल मतदाता मतदान ६६.९० प्रतिशत छ। यसमा ती दुई हजार बुथको तथ्यांक भने समावेश छैन। यो गत विधानसभा चुनावको तुलनामा ६.९ प्रतिशत बढी हो‚ र अब आउने तथ्यांकसँगै, यो थोरै बढ्ने सम्भावना छ।”

गुञ्ज्यालले मंगलबार लगभग तीन करोड ५२ लाख रुपैयाँ बरामद गरेको पनि जानकारी दिए। जसमा एक करोड ७० लाख रुपैयाँबराबरको मदिरा र लागुपदार्थ समावेश छन्।

उनले आदर्श आचारसंहिता लागु भएदेखि एक करोड २७ लाख रुपैयाँ बरामद गरिएको बताए। जसमा ७८ करोड रुपैयाँबराबरको मदिरा र लागुपदार्थ समावेश छन्।

निर्वाचन अधिकारीका अनुसार, यस चुनावमा कुल दुई हजार १६ उम्मेदवार प्रतिस्पर्धामा थिए। मतदाता संख्या भने सात करोड ४५ लाख थियो। सबै मतदान केन्द्रमा ‘वेबकास्टिङ’ गरिएको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन्।