काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। भौतिक सम्पदा स्थलहरुको संरक्षण, मर्मत तथा सम्भारका क्रममा विगतमा भएका त्रुटि सच्याउन काठमाडौँ महानगरपालिकाको वडा २३ ले सर्वेक्षणको काम थालेको छ।

प्राचीन सम्पदाका कुनै भाग टुटफुट भए त्यसलाई अड्याउन, थप बिग्रिन नदिन सिमेन्टलगायत आधुनिक निर्माण सामग्री प्रयोग भएका छन्। “यो काम सम्पदाको जग, पर्खाल, पेटी, गजुर, छानालगायत विभिन्न ठाउँमा भएका छन्। जानी/नजानी गरिएका यस्ता त्रुटि सच्याउन काम थालिएको हो‚” वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समिति संयोजक मचाराजा महर्जनले जानकारी दिए।

महर्जनका अनुसार वडाभित्र किरातकाल, लिच्छविकालदेखिका भौतिक सिर्जना छन्। मन्दिर, चिबहाजस्ता हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित ८० सम्पदा छन्। जीवित देवी कुमारीको निवासस्थान, नास द्यः, अट्को नारायण, जोर गणेश वडाका नाम चलेका सम्पदा हुन्। यी हरेक सम्पदासँग सम्बन्धित विशेष तथा वार्षिक पूजाआजासहित धार्मिक र सामाजिक संस्कार सञ्चालन हुने गरेका छन्। उनी भन्छन्, “पुनरुत्थानका क्रममा आधुनिक निर्माण सामग्री हटाएर परम्परागत सामग्रीबाट मर्मतसम्भार गर्छौं। हराएका वा जीर्ण भएका कारण हटाइएका वस्तु, सामग्री पुन:स्थापना र संरचना भए पुनर्निर्माण गराउँछौँ।”

उनले नियमित मर्मत सम्भार तथा संरक्षण र दिगोपनाका लागि बजेटको व्यवस्था मिलाउने पनि बताए। “अहिले वडाले प्राविधिक र स्थानीयको सहयोगमा कुन ठाउँमा के भएको छ? त्यसको पुनःस्थापनाका लागि कस्ता वस्तु तथा सामग्री चाहिन्छन्? लागत अनुमान कति हुन्छ? अध्ययन गरिरहेको छ। यसबाट प्राप्त तथ्यका आधारमा पुनरुत्थान, नियमित मर्मत सम्भार तथा संरक्षण र दिगोपनाका लागि बजेटको व्यवस्था गर्छौं।’ महर्जनले योजना सुनाए।

वडाले थालेको यो कामको सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले प्रशंसा गरेका छन्। उनी भन्छन्‚ “पुरिएर आधा संरचना भएका चिवहाःलाई वडाले वास्तविक स्वरुपमा फर्काएर घुम्ने ठाउँ, पूजाआजा गर्ने ठाउँ बनाइदिएको छ। यसले केवल भौतिक संरचनाको मौलिकपन मात्र फर्काएको छैन, धार्मिक आस्था र सामाजिक जीवनमा प्राणसमेत भरेको छ।”

वडाभित्र चार हजार ६ सय मतदाता छन्। करिब सात हजारको अस्थायी बसोबास छ। वडाभित्र एक हजार ९३७ घर संख्या छ। ९ वटा परम्परागत गुथि वडामा सूचीकृत छन्। यी गुथि कुनै न कुनै रुपमा श्रमसँग जोडिएका छन्।

वडाबाट चल्ने सबैभन्दा ठुलो जात्रा, येँःया (इन्द्रजात्रा) हो। यसबाहेक वडावासीले पाहाँचह्रे, सकीमिला पुन्ही, यमरी पुन्ही, चथा (गणेश चतुर्दशी), गुँला, यंलासहितका संस्कार मनाउँछन्। गुंला पर्वमा स्वयम्भू जाने चलन छ। वडाध्यक्ष महर्जनका अनुसार यंला महिनामा (थने) माथिल्लो टोलका बासिन्दा आ-आफ्ना पीठमा, दथु टोल (मध्य सहरका स्थानीय) ल्हुति र म्हेपिमा र कोने (तल्लो टोल) का मानिसहरु पचली भैरव जाने चलन छ। भौतिक सम्पदाको पुनरुत्थानले सामाजिक प्रचलनका सम्बन्धहरुलाई दिगो बनाउने वडाको अपेक्षा छ।