काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ले ७७ वटा सिसी क्यामरालाई फाइवर इन्ट्रानेटमा जडान गरेको छ ।
कामपा–२६ ले बुधबार नेपाल टेलिकमको सहकार्यमा बालाजु क्षेत्रबाट भित्र जडान गरिएका ७७ सिसी क्यामरालाई वडा कार्यालयमा राखिएको मोनिटरबाट हेर्न मिल्नेगरी फाइवर इन्ट्रानेटमा जडान गरेको हो ।
रु एक करोड लागतमा जडान गरिएको उक्त प्रणालीको बुधबार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, नगर प्रवक्ता नवीन मानन्धर र कामपा–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले संयुक्त रूपमा शुभारम्भ गरे ।
कार्यक्रममा कामपा–२६ का वडाध्यक्ष तिवारीले उक्त प्रणालीलाई वडाभरी विस्तार गर्दै लैजाने बताए । “वडाभित्र २०० स्थानमा यस्ता क्यामरा जडान गर्नेछौँ, क्यामरा जडान भएसँगै सुरक्षित वडा निर्माणमा सहयोग पुग्नेछ”, उनले भने । सुरक्षा, सहरी विकास र विकास व्यवस्थापनका लागि प्रविधिको दिगो पूर्वाधार निर्माण गर्ने तथा सुरक्षा निकायसँग सहकार्य गर्ने योजना रहेको उनको भनाइ छ ।
महानगर सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले सहरभित्रका सीसीटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) निर्माणका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको जानकारी दिए। आज सुरु भएको उक्त प्रणालीलाई महानगरका अन्य वडामा पनि विस्तार गर्दै लैजाने उनको भनाइ छ ।
नेपाल टेलिकमका उपप्रबन्धक इञ्जिनियर निर्मलराज चटौतले महानगरपालिकाले हरेक सिसीटिभी क्यामरालाई फाइबर सञ्जालमा जोडेर निगरानी कक्षमा लैजान आफूहरूसँग सहकार्य गरिरहेको बताए।
बत्ती गए पनि यी क्यामरा चल्ने ब्याकअप पावरको व्यवस्था गरिएको छ । पिटीजेड(स्वचालित रूपमा दायाँबायाँ घुम्ने, तलमाथि सर्ने र जुम इन तथा जुम आउट हुने(’ क्यामेराले ५५० मिटरसम्म दूरीका दृश्यहरू स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्छ । बुलेट क्यामराले ६० मिटरसम्मको स्पष्ट दृश्य दिन्छ ।