काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ माघ २०८२
अ+
अ-

सुर्खेत। प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट सुर्खेत २ बाट उम्मेदवार सिफारिस भएका हृदयराम थानीले आफू चुनाव नलड्ने घोषणा गरेका छन्। उनले आफ्नो स्वास्थ्यको प्रतिकूलता देखाउँदै चुनाव नलड्ने घोषणा गरेका हुन्।

“म सुर्खेत क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस भएको सबैलाई अवगत नै छ, अर्कोतिर म करिब दुई महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी समस्याले सहज रूपमा हिँडडुल गर्न सकिरहेको छैन,” उनले आफ्नो लेटरहेडमा लेखेका छन्, “म उपचार गरिरहेको छु। तसर्थ मेरो प्रतिकूल स्वास्थ्य अवस्थाका कारण माघ ६ गते रहेको मनोनयन दर्तामा समेत उपस्थित र त्यसपछि सक्रिय हुन नसक्ने परिस्थिति देखिएकाले फागुन २१ मा हुने निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु।”

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थानी यसअघि सुर्खेत २ बाट संविधानसभा तथा प्रतिनिधिसभा सदस्य हुँदै आएका थिए। उनी निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन्। उनी २०५६ सालको आमनिर्वाचन, २०७० सालको संविधानसभाको दोस्रो निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनबाट सदस्य निर्वाचिन भएका थिए।