सार्वजनिक शिक्षा
कुनै समय विद्यार्थी उत्तीर्ण नभएर कारबाहीमा परेको बुटवलको कालिका मावि बन्यो देशकै नमुना
२०६५ सालमा बुटवलको कालिका माध्यमिक विद्यालयको कक्षा ७ को वार्षिक परीक्षामा सबै विद्यार्थी अनुत्तीर्ण भए। त्यस वर्षको नतिजाबारे विद्यालयको समीक्षा बैठकमा कक्षा शिक्षकले पेस गरेको विवरणले बैठक नै स्तब्ध भएको थियो।
त्यतिबेला विद्यालयको भौतिक पूर्वाधार पनि गतिलो थिएन। त्यसमाथि स्थानीयको स्कुलप्रति व्यवहार पनि गतिलो थिएन। स्थानीयले कक्षाकोठाका तालामा काठका ठेडी कोचेर ताला नै फोड्नुपर्ने बाध्यता थियो। झ्यालका सिसा तोडिएका थिए। विद्यालयको कम्पाउन्ड थिएन, कक्षाकोठा जीर्ण थिए। न गतिला कुर्सीटेबल, न राम्रो पढाइ। कक्षा ६ भन्दा तलका कक्षामा न्यून विद्यार्थी। त्यतिबेला जम्मा करिब ८०० विद्यार्थी थिए भने २२ जना शिक्षक-कर्मचारी र १४ कोठाको बिग्रेभत्केको भवन। यही थियो विद्यालयको तत्कालीन यथार
तर, जब २१ असार २०६५ मा घनश्याम पाठक प्रधानाध्यापक नियुक्त भए, तब त्यो घटना नै विद्यालय बदलिने कारण बन्यो। भर्खरै बागलुङको विद्यालयबाट सरुवा भएर आएका पाठक आफूलाई त्यतिबेला विद्यालयको अवस्था देखेर दया लागेको बताउँछन्।
“जेजस्तो भए पनि म प्रधानाध्यापक भएर आएँ, अब जसरी भए पनि विद्यालय सुधार्नुपर्छ भन्ने लाग्यो,” उनी सम्झिन्छन्, “सबैभन्दा सुरुमा मैले आत्मबल बढाएँ, योजना बनाएर अगाडि बढ्नुपर्छ भनेर विद्यालय विकास प्रस्ताव बनाएर विद्यालय व्यवस्थापन समितिसामु पेस गरेँ, समितिले त्यसलाई पारित गर्यो।”

हाल कालिका मानवज्ञान क्याम्पसमा क्याम्पस प्रमुख घनश्याम पाठक
त्यसबेला उनले फेला पारेका विद्यालय बिग्रिनुका कारण थिए– कमजोर शैक्षिक स्तर, जीर्ण भौतिक पूर्वाधार र विद्यालय र समुदायबीचको कमजोर सम्बन्ध। यी कमजोरी सुधार्न उनले युग सुहाउँदा फर्निचरको व्यवस्थापन, कक्षाकोठामा सुधार र शैक्षिक गुणस्तर बढाएर लैजाने विषय व्यवस्थापन समिति, शिक्षक बैठक र अभिभावकसामु पटक पटक दोहोर्याए।
त्यसबेला उनको मनमा एउटा कुरा सधैँ खेलिरहन्थ्यो- कस्तो विद्यालयको प्रधानाध्यापक भइयो, सबका सब फेल छन्, पहिलो, दोस्रो र तेस्रो बनाउने विद्यार्थी नै छैन।
हाल कालिका मानवज्ञान क्याम्पसमा क्याम्पस प्रमुखको कुर्सीमा बसेर उनी १७ वर्षअघिका कुरा सुनाउँछन्, “विद्यार्थी त फेल भए भए, ती विद्यार्थी फेल हुँदा शिक्षक कसरी पास भए? कसरी प्रधानाध्यापक पास भए? शिक्षक-विद्यार्थी सबै फेल भए, अब सबै पास हुन सबैले मिहिनेत गर्नुपर्छ भनेर हरेक विद्यार्थीको जिम्मा हरेक विषय शिक्षकको हुनुपर्छ भन्ने भावनाको विकास गर्यौँ।”
उनले विद्यार्थीको नतिजासँग शिक्षकलाई र विद्यालय परिवारलाई जोडे। नियमित रूपमा कक्षागत परीक्षा लिने र परीक्षामा कमजोर देखिने विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्न थालेपछि ‘दिन दुगुना, रात चौगुना’ गर्दै विद्यालय सुधारको बाटोमा अघि बढ्यो। २०६५ सालबाट २०७१ सालमा पुग्दा नतिजामा सुधार भयो।
“एसएलसीमा १५ प्रतिशत ल्याउन नसकेका कारण कारबाहीमा परेको विद्यालय शतप्रतिशत उत्तीर्ण गराउने र विशिष्ट श्रेणीमा सबैभन्दा धेरै विद्यार्थी पास गराउने विद्यालयका रूपमा स्थापित भयो,” उनी हर्षसाथ प्रगतिका कथा भन्छन्, “शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयका रूपमा राष्ट्रिय ध्वजा, सिल्ड र प्रमाणपत्र दिएर सम्मान गरेको थियो। कालिकाले लगातार पाँच वटा राष्ट्रिय ध्वजा प्राप्त गरेको छ।”

कालिका माविको आकासे दृश्य
२०१८ सालमा बुटवलको योगीकुटीमा विश्वशान्ति नेपाल राष्ट्रिय प्राविका नाममा स्थापना भएको विद्यालय २०२९ सालमा कालिका स्कुलमा परिणत भएको थियो। शैक्षिक, प्रशासनिक र आर्थिक अभावसँग जुधिरहेको मानवज्ञान माध्यमिक विद्यालयसमेत गाभेर २०७५ सालमा कालिका मानवज्ञान माध्यमिक विद्यालय बनाइयो। अहिले यी दुवै विद्यालय सेक्टर १ र २ भनेर सञ्चालनमा छन्। र कुनै समय विद्यार्थी उत्तीर्ण दर कमजोर भएका कारण सरकारले अनुदानसमेत रोकेको विद्यालय अहिले देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित छ। सामुदायिक विद्यालयको छवि बदलेको र नतिजामा निजी तथा सुविधासम्पन्न विद्यालयसँग प्रतिस्पर्धा गरिरहेको कालिकाले अहिले देशमै नाम कमाएको छ।
अहिले यहाँ आठ हजारभन्दा बढी विद्यार्थी पढ्छन्। हरेक शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थी र अभिभावक भर्ना नपाएर दुःखी हुँदै फर्किन्छन्। “यो रूपान्तरण अचानक सम्भव भएको होइन, नेतृत्वको लगाव, निरन्तरको अभ्यास, सामूहिक भावना, समुदायको विश्वास र परिणाममुखी सोचको संयुक्त परिणाम हो,” पाठक भन्छन्।
कालिका माविमा भएको अभ्यास अन्य विद्यालयहरूमा समेत लागु गराउन सके देशकै शैक्षिक स्तरमा सुधार आउने कालिकाका पूर्वप्रधानाध्यापक विमलबहादुर शाक्य बताउँछन्। उनी भन्छन्, “कालिकाले पछिल्लो समयमा राम्रो गति लिएको छ, यहाँको टिमले गरेको प्रगतिले शिक्षाको स्तरमा हेरफेर ल्याएको छ।”
कालिका २०७३ सालको एसएलसी परीक्षामा राष्ट्रिय प्रथम, २०७४ सालमा राष्ट्रिय तृतीय, २०८० सालमा १६ वटा सूचकमा राष्ट्रिय प्रथम र २०८१ मा कक्षा १२ को परीक्षामा उत्कृष्ट घोषणा भएको थियो। २०७५ सालमा शिक्षा मन्त्रालयले कालिकालाई नमुना विद्यालय घोषणा गरेको थियो। २०७१ सालदेखि उत्कृष्ट बन्दै आएको यस विद्यालयमा लुम्बिनी प्रदेशका १२ जिल्लासहित देशका ७० जिल्लाका सात हजार ९३५ विद्यार्थी अध्ययनरत छन्। २०७० सालदेखि २०७५ सालसम्म प्राविधिकतर्फ निरन्तर पहिलो भएको यस विद्यालयले २०७३ सालमा अन्तर्राष्ट्रिय स्कुल अवार्डसमेत पाएको थियो।
बालविकासदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा बालविकासमा ३५, कक्षा १ देखि ३ सम्म ४०, कक्षा ४ र ५ मा ४५ तथा ६ र ६ भन्दा माथिका कक्षाका प्रत्येक समूहमा ४८ जनाभन्दा बढी विद्यार्थी नराख्ने नीति रहेको प्रधानाध्यापक दिनेश थापा बताउँछन्। साधारणतर्फ सात हजार ७४३ र प्राविधिक धारतर्फ १९२ विद्यार्थी अध्ययनरत छन्। चालु शैक्षिक सत्रमा तीन हजार ५०० विद्यार्थी भर्ना नपाएर फर्किए।

कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा
उनका अनुसार विद्यार्थीका लागि १२ वटा भवन ब्लक, १५७ कक्षाकोठा, ६ वटा अतिरिक्त कक्षाकोठा, दुई वटा खेलमैदान, आठ वटा विज्ञान प्रयोगशाला, ६ वटा कम्प्युटर ल्याब, ललितकला ल्याब, डिजिटल ल्याब र इलेक्ट्रिक ल्याब, दुई वटा वाचनालय, एउटा सभाहल, एउटा बालउद्यान, ८२ वटा शौचालय र ५१ वटा प्रोजेक्टर छन्। विद्यालयको कालिकानगरमा र रामनगरमा गरी पाँच बिघा आठ कट्ठा जग्गा छ।
३५० जना शिक्षक-कर्मचारी रहेको यस विद्यालयमा दुई जना सहायक प्रधानाध्यापक, १२ जना सचिवालय प्रमुख र ३८ जनाको अनुगमन समिति बनाएर वार्षिक योजनाहरू कार्यान्वयन गर्ने गरिएको प्रधानाध्यापक थापा बताउँछन्।
कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई उत्कृष्ट बनाउन स्थानीय सरकारदेखि संघ सरकारले समेत साथ दिएका छन्। बुटवल उपमहानगरपालिकाले भवन निर्माण, शौचालय निर्माण र डिजिटल लर्निङका साथै खेलकुद क्षेत्रमा विद्यालयहरूमा लगानी गरेको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय नेपालकै उत्कृष्ट विद्यालयका रूपमा रहेको कालिकाको भौतिक पूर्वाधार विकासमा अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्। उनी भन्छन्, “कालिका मानवज्ञान माविको असल अभ्यासलाई बुटवलका सबै विद्यालयमा सिकाइका रूपमा सञ्चालन गर्ने र बुटवलको समग्र शिक्षाको स्तरलाई नै उकास्ने योजनाअनुसार हामी काम गरिरहेका छौँ।”

कालिका माविका विद्यार्थीले प्रदर्शन गरेको ड्रिल
उनी कालिकासहितका नवीन औद्योगिक मावि र कान्ति मावि राष्ट्रियस्तरमै उत्कृष्ट विद्यालयका रूपमा स्थापित भइसकेकाले यी विद्यालयहरूबाट सिक्दै अरू विद्यालयलाई समेत उत्कृष्ट बनाउन लगानी गरिरहेको बताउँछन्।
अनि, खुल्यो क्याम्पस
२०६५ सालमा कालिका मानवज्ञान माविले प्लस टु सुरु गरेको थियो। प्लस टुमा नतिजा राम्रो हुँदै गएपछि विद्यार्थी थपिँदै गए।
तत्कालीन प्रधानाध्यापक पाठक क्याम्पस खुल्नुको कारण बताउँछन्, “२०७० सालमा एक जना विद्यार्थी मकहाँ सर्टिफिकेटमा दस्तखत गराउन आएकी थिइन्। उनले १२ पास भएर अरू क्याम्पस पढ्न जान मन लागेको छैन, माइती छाडेर गएजस्तै भएको छ भनिन्। उनी गएपछि मलाई पनि मनमनै लाग्यो, विद्यार्थीको यस्तो भावना छ, क्याम्पस खोल्न सके राम्रै हुन्थ्यो।”
पाठक विद्यार्थीको कुराबाट प्रभावित भए र विद्यालय व्यवस्थापन समितिसँग सल्लाह गरे। तत्कालीन अध्यक्ष होमबहादुर गलामी, प्रधानाध्यापक पाठक, स्थानीय बुद्धिजीवी र अगुवासहितको टिमले क्याम्पस सञ्चालनको सम्भावनाबारे अध्ययन गर्यो।
त्रिभुवन विश्वविद्यालयबाट क्याम्पसको सम्बन्धन प्राप्त गरेर ३४ जना विद्यार्थी भर्ना गरेर क्याम्पस सञ्चालन भयो। विद्यालयकै टिम, शिक्षक र कर्मचारी खटिएर क्याम्पस चल्यो। २०७७ सालसम्म कालिका मानवज्ञान विद्यालयकै भवनमा सञ्चालन भएको क्याम्पसमा विद्यार्थी बढ्दै गए। “विद्यार्थी, अभिभावक र स्थानीयको चाहना र साथ भएपछि हामीले क्याम्पसलाई पनि अझै बलियो बनाउँदै लग्यौँ,” उनी भन्छन्, “बुटवल-१० रामनगरमा स्थानीयले संरक्षण गरेको सरकारी जग्गा थियो, हामीसँग आँट, स्थानीय, विद्यार्थी र अभिभावकको साथ त थियो, पैसा थिएन।”

कालिका मानवज्ञान माविको भवन
क्याम्पस प्रमुख पाठकले जुक्ति लगाए– शिक्षक, कर्मचारीको जग्गाजमिन धितो राखेर ऋण लिने, त्यही पैसाले भवन बनाउने र क्याम्पस चलेपछि तिर्ने। “त्यसको सुरुआत मेरो जग्गाजमिन धितोमा राखेर दुई करोड रुपैयाँ बैंकबाट निकालेर गरेँ। क्याम्पसको तेस्रो तला बनिरहेको थियो, जता जता बजेट माग गर्न सकिन्छ, गरेका थियौँ,” उनी सुनाउँछन्, “अर्थ मन्त्रालयमा बजेट चाहियो भनेका थियौँ। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ६ करोड रुपैयाँ बुटवल उपमहानगरपालिकामार्फत खर्च हुने गरी विनियोजन गर्न मद्दत गरेर विद्यालयको भवन बनाउन साथ दिनुभयो।”
यसरी भवन तयार गरी ३४ जना विद्यार्थीबाट सुरु भएको क्याम्पसमा अहिले तीन हजार ९१५ जना विद्यार्थी पढ्छन्। क्याम्पसमा व्यवस्थापन, बीसीए, बीबीएस, बीएड, बीएसडब्लू, ग्रामीण विकास अध्यापन हुन्छ।
“टिम स्पिरिट मिलाएर समर्पित हुने हो भने हरेक संघसंस्थालाई बनाउन सकिन्छ भन्ने उदाहरण देखाउन सकेका छौँ,” क्याम्पस प्रमुख पाठक भन्छन्, “क्याम्पसले पनि राम्रै नतिजा ल्याएको छ, देशभरमा त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट हुने विद्यार्थी हाम्रै छन्, बीबीएस, बीसीएमा नेपाल प्रथम भए।”
कम छैनन् अरू विद्यालय
अहिले रुपन्देहीका अन्य सामुदायिक विद्यालयहरू पनि कालिका मानवज्ञान माविकै पथमा लम्किइरहेका छन्। बुटवलको कान्ति माध्यमिक विद्यालय, नवीन औद्योगिक माध्यमिक विद्यालय र तिलोत्तमाको शान्ति नमुना माध्यमिक विद्यालय उत्कृष्ट नतिजा ल्याउने विद्यालय हुन्।
पाँच हजार २०० विद्यार्थी अध्ययनरत बुटवलको कान्ति माध्यमिक विद्यालय लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालयमध्ये पर्छ। २००८ सालमा गणेश विद्या भवन प्राइमरी स्कुल र जनता विद्या भवन प्राइमरी स्कुलको एकीकरण गरी २ पुस २०१० मा गणेश जनता विद्या भवन हुँदै सुरु भएको कान्ति माविले २०१६ सालमा मिडिल स्कुल र २०२६ मा हाइस्कुल हुँदै २०६४ सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ।

कान्ति माध्यमिक विद्यालयका विद्यार्थी
२०६५ सालदेखि कान्तिले खुला विद्यालयको कक्षा ८ र १० का कक्षासमेत सञ्चालन गर्दै आएको छ। नियमित विद्यालयको पहुँचबाहिर रहेका सयौँ विद्यार्थीलाई अध्ययनको अवसर प्रदान गर्ने उद्देश्यका साथ खुला विद्यालयको अवधारणाअनुसार पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली बताउँछन्।
यहाँ विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायका विभिन्न विषयहरू अध्यापन गराइन्छ। उनका अनुसार कान्तिमा कक्षा ११ र १२ मा कानुन र विज्ञान विषयमा आकर्षण छ। २२ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा चार हजारभन्दा बढी विद्यार्थी र ११५ शिक्षक-कर्मचारी छन्।
प्रधानाध्यापक ज्ञवाली भन्छन्, “२०७१ सालको एसएलसी परीक्षामा पश्चिमाञ्चल क्षेत्रमा प्रथम र २०७३ सालको एसईईमा लुम्बिनी प्रदेश प्रथम भएका थियौँ, २०७६ सालको कक्षा ११ को नतिजामा सामुदायिक विद्यालयतर्फ नेपाल प्रथम बन्न सफल भयौँ भने कक्षा ११ र १२ को बोर्ड परीक्षामा राष्ट्रिय रूपमै उत्कृष्ट नतिजा प्राप्त भयो।”
अर्को उत्कृष्ट नतिजा ल्याउनेमध्येको विद्यालय हो, बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय। यस विद्यालयमा प्राविधिक क्षेत्रका विषयहरू प्राथमिकतामा राखेर अध्ययन गराइन्छ। प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार यहाँ पाँच हजार ६४ जना विद्यार्थी छन्। विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फको सिभिल इन्जिनियरिङको पढाइ हुने उनी बताउँछन्।

नवीन औद्योगिक विद्यालय
बस्नेतका अनुसार कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा पढाइ हुन्छ। २०३३ सालमा बुटवल-११ देवीनगरमा स्थापना भएको यस विद्यालयमा ५८ जिल्लाका विद्यार्थी पढ्छन्। ब्रिटिस काउन्सिलले सन् २०१७–२०२० र २०२१–२०२४ मा इन्टरनेसनल स्कुल अवार्ड प्रदान गरेको यस विद्यालयमा १८४ शिक्षक-कर्मचारी कार्यरत छन्।
यसै वर्षको एसईईमा देशभरमै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर चर्चा कमाएको रुपन्देहीको अर्को विद्यालय हो, तिलोत्तमाको शान्ति नमुना माध्यमिक विद्यालय। ६०९ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १८ जनाले ४ जीपीए र ५४ जनाले ३.६ देखि ३.९९ जीपीए ल्याएका थिए।
२०१६ सालमा स्थापना भएको शान्ति नमुनामा २९ जिल्लाबाट विद्यार्थी पढ्न आउने प्रधानाध्यापक कुलप्रसाद लामिछाने बताउँछन्। २२९ जना शिक्षक-कर्मचारी कार्यरत शान्ति नमुना मेकानिकल विषय पढाइ हुने नेपालकै एक मात्र विद्यालय हो।

शान्ति नमुना माविका विद्यार्थी
यहाँ २०५८ सालदेखि एनेक्स कार्यक्रमअन्तर्गत प्राविधिकतर्फ मेकानिकल (टीएसएलसी) विषय पढाउन थालिएको हो। २०४५ सालदेखि सञ्चालन भएको दृष्टिविहीन स्रोत कक्षामा ४७ जना बालबालिका अध्ययनरत छन्। श्रवणशक्ति गुमाएका र दृष्टिविहीन गरी १३ जना र ३३ जना अटिजम भएका बालबालिकाले अध्ययन गरिरहेको प्रधानाध्यापक लामिछाने बताउँछन्।