बागमती। निर्वाचन प्रहरीका लागि मकवानपुरमा दुई हजार २६६ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि बिहीबारसम्ममा एक हजार ६०२ पुरुष र ६६४ महिलाले आवेदन दिएका हुन् । जिल्लामा एक हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गर्ने योजना रहेको उनले बताए ।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरीप्रसाद ढकालले जानकारी दिए ।
प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको मुख्य निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला न्यायाधिश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता देवेन्द्रराज आचार्य नियुक्त भएको छ ।