काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

राजनीति

देउवा पक्षले मुद्दा फिर्ता लिनुपर्ने सर्तका कारण उम्मेदवार छान्न पर्‍यो समस्या

५ माघ २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी टुंग्याउन संसदीय बोर्डको बैठक बोलाएको छ। सभापति गगन थापा नेतृत्वको १३ सदस्यीय बोर्डले उम्मेदवारको सूची टुंग्याउन बोर्ड बैठक बोलाएको हो।

प्रवक्ता देवराज चालीसेका अनुसार बैठक सोमबार बिहान साढे ११ बजे सुरु भएको छ। उनका अनुसार तीन चरणमा उम्मेदवारको टुंगो लगाउने गरी बोर्ड बैठक बस्न लागेको हो। “पहिलो चरणमा उम्मेदवारको टुंगो लगाउने गरी अहिले बैठक बस्दै छ,” चालिसेले भने।

दोस्रो चरणको बैठक सोमबार बेलुका बसेर उम्मेदवार टुंगो लगाउने निधो भएको छ। तेस्रो चरणको उम्मेदवारी मंगलबार बिहानसम्म टुंगो लगाइने चालिसेले बताए।

निर्वाचन आयोगमा मंगलबार बिहान साढे ११ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम सूची बुझाउनुपर्ने कार्यतालिका छ। कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भई आयोगले आधिकारिकता दिएसँगै आन्तरिक विवाद बढेर गएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालतमा मुद्दा हाल्न पुगेको छ।

मध्यमार्गी धारमा रहेका वरिष्ठ नेता शेखर कोइराला चुनावमा मिलेर जान तयार भइसकेका छन्। देउवा पक्षसमेत एक भएर जाने विषयमा सभापति थापा पक्षसँग संवादमा छ। थापाले देउवा र कोइराला पक्षलाई समेटेर उम्मेदवारी टुंग्याउने प्रयास गरिरहेका छन्। सोहीअनुरूप आइतबार राति त्रिपक्षीय वार्ता भयो। सभापति थापाको तर्फबाट नेता देवराज चालिसे र मधु आचार्य बैठकमा थिए। देउवाले रमेश लेखक र कोइरालाले मिनेन्द्र रिजाललाई पठाएका थिए।

त्रिपक्षीय वार्तापछि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्माले सोमबार नै निवर्तमान सभापति शेरबहादुर देउवासँग भेट गर्न सक्ने सम्भावना छ। तर, देउवानिकट नेता रमेश लेखक वार्ता भइरहे पनि परिणाम ननिस्किएको बताउँछन्। “कुराकानी भइरहेको छ, सार्थक परिणाम निस्किएको छैन,” लेखक भन्छन्।

कोइराला समूहले त्रिपक्षीय वार्तामा आफ्नो तर्फबाट चुनावमा जाने कुरामा सन्देश नरहेको सभापति थापा पक्षलाई बताएका छन्। कोइराला समूहले अदालतमा प्रवेश भएको कांग्रेको आधिकारिक विवादमा निरूपणमा जे निर्णय आए पनि स्वागत गर्ने रणनीति बनाएको छ। टिकट वितरणमा भने थापा पक्षसँग कुरा मिलिसकेको छैन।

सभापति थापा पक्षले सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा फिर्ता लिनुपर्ने सर्त देउवा पक्षलाई राखेको छ। “एकातिर सभापतिले सही गरेको टिकटमा चुनाव लड्ने, अर्कातिर सभापतिविरूद्ध मुद्दा फिर्ता नलिने अमिल्दो कुरा हुँदैन,” चालिसेले भने, “मुद्दा फिर्ताको कुरा पनि टुंगिने सम्भावना छ।”

सभापति थापा पक्षले अहिले मिलेर जाने तर फैसलाभन्दा अगावै मुद्दा निष्क्रिय गराउने वचन देउवा पक्षसँग खोजिरहेको छ। “उक्त सर्तबारे छलफल गरेर आउँछौँ भन्नुभएको छ,” थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने। नेता लेखकले संवादका क्रममा पार्टीको आन्तरिक विवादका प्रसंग निस्किँदा मुद्दाबारे कुरा भएको बताए। “शेरबहादुरजीसँग कुराकानी हुने विषय थाहा भएन, छलफल भइरहेकै छन्, मुद्दाको कुरा पनि निस्किएको छ,” लेखकले भने।

प्रवक्ता चालिसेले चुनावमा चारतारे झन्डामुनि सबै पक्ष एकढिक्का भएर जाने विषयमा करिब सहमति जुटिसकेको दाबी गरे। “आन्तरिक विवादका कुरा छन्, अदालतमा मुद्दा छ, आशा छ सबै पक्ष चुनावभन्दा अघि सकारात्मक सन्देश दिएर जाऔँ भन्ने छ, टुंगोमा पुग्छ,” चालिसेले भने।