काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०८२ मा मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

उम्मेदवार छनोटका लागि गठित बोर्डले मंगलबार मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको प्रवक्ता देवराज चालिसेले बताए।

उनका अनुसार मोरङ क्षेत्र नम्बर १ मा खड्ग फागो छनोट भएका छन्। उक्त क्षेत्रमा डिगबहादुर लिम्बू चुनाव उठ्दै आएका थिए। उर्लाबारी नगरपालिकाका पूर्वमेयर रहेका फागो शेरबहादुर देउवानिकट हुन्। गत विशेष महाधिवेशनमा भने उनी सभापति गगन थापातिर ढल्किएका थिए।

निर्वाचन क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाल उम्मेदवार बन्ने भएका छन्। उक्त क्षेत्रमा २०७९ को प्रतिनिधिसभामा सुजाता कोइराला उम्मेदवार बनेर पराजित भएकी थिइन्।

क्षेत्र नम्बर ३ मा डा. सुनिल शर्मा छन्। उनी एकल सिफारिसमा परेका थिए। क्षेत्र नम्बर ४ मा नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरेले टिकट पाएका छन्। २०७९ को निर्वाचनमा उनी सोही क्षेत्रको प्रदेश सभामा हारेका थिए। उक्त क्षेत्रमा नेता महेश आचार्यको दाबी थियो। उनी सोही क्षेत्रबाट विगतमा चुनाव उठ्दै आएका थिए।

मोरङ-५ मा फूलकुमार लालवानीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको छ। अमृत अर्यालको दाबी थियो। अर्याल कोशी प्रदेश सभा सदस्य थिए।

यस्तै डा. शेखर कोइराला मोरङ-६ बाट उम्मेदवार बन्ने भएका छन्। उनी २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। त्यहाँ सहमहामन्त्री डिला संग्रौलाकोसमेत दाबी छ।