काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

१४ माघ २०८२
अ+
अ-

गोरखा। जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ। आज बिहान ३ः०० बजेतिरबाट हिमपात हुन सुरु गरेको स्थानीयले बताएका छन्।

चुमनुब्री गाउँपालिका–१ को साम्दो, सामागाउँ, वडा नं २ को ल्हो, स्याला, वडा नंं ६ को चुम्चेत, वडा नं ७ को नौवटै गाउँबस्तीमा हिमपात भएको स्थानीयवासीको भनाइ छ।

“बिहान ३ः०० बजेदेखि हिउँ पर्न सुरु गरेको हो”, चुमनुब्री–७ का पासाङफुञ्जो लामाले भने, “हिउँ परेपछि गाउँलेहरू एकदम खुसी भएका छन्।” खेतीपानी राम्रो हुने, धुलो नउड्ने, हुरीबतास नचल्ने र आगलागीको डर नहुने भन्दै स्थानीय खुसी भएका उनको भनाइ छ।

“सँधै हुरीबतास चलेर अहिले त घरको अँगेनामा आगो फुक्न पनि नसक्ने अवस्था थियो”, उनले भने, “अब बल्ल हिउँ पर्यो। आगालागीको पनि डर हट्यो। हुरीबतास चलेर धुलो उडाएर बस्न नसक्ने भएको थियो। त्यस्तो पनि नहुने भयो अनि मङ्सिरमा लगाएको गहुँखेतीले पनि पानी पाउने भयो । वनको झारलहरूले पनि पानी खान नपाएर आत्तिसकेका थिए। अब पानी खान पाउने भए”, उनले भने।

हिमपात भएपछि गाउँलेहरूको दिनचर्यामा पनि परिवर्तन भएको छ । अहिले सबै जना घरभित्रै आगो तापेर बसेका छन् भने करिब एक फिट हिउँ जमेको उनले बताए।