खाना पकाउने ग्यास अभाव हुन नदिन निगमले आयात परिमाण बढायो
काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव नहुने स्पष्ट पारेको छ। निगमले ग्यास अभाव हुन नदिन आयात बढाएको पनि जनाएको छ।
आयात बढाएको हुँदा आवश्यकभन्दा बढी ग्यास किनेर नराख्न पनि अनुरोध गरेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले विज्ञप्तिमार्फत अपिल गरेका छन्‚ “निगम आम उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्नसमेत हार्दिक अनुरोध गर्दछ।”
पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने ग्यास अभाव हुन नदिनेसम्बन्धी सार्वजनिक गुनासो र सञ्चारमाध्यमका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि निगमले जनाएको छ।
निगमको विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट देशभरका उद्योगलाई मासिक रूपमा उपलब्ध गराइने एलपी ग्यासको नियमित कोटा ४९,५०० टन छ। निगमले माग धान्न पुग्ने परिमाणमा ग्यास आयात भएको दाबी गर्दै विगतका तीन महिनाको आयात विवरण सार्वजनिक गरेको छ।
निगमले आसन्न निर्वाचनलाई समेत मध्यनजर गर्दै उपभोक्तालाई थप सहजता प्रदान गर्नका लागि फेब्रुअरी २०२६ का लागि नियमित कोटामा दुई हजार टन ग्यास थप गरेको पनि जानकारी दिएको छ।
अहिले बजारमा ग्यास सिलिन्डरको अभाव केही एकाध उद्योगका हकमा मात्र देखिएको र ती उद्योगहरूलाई बजारमा सिलिन्डरको आपूर्ति सहज बनाई बजारलाई तत्काल सामान्यीकरण गर्न निर्देशन दिइएको निगमले जनाएको छ। निगमका अनुसार केही समयभित्रै आपूर्ति सामान्य हुनेछ।
