समाज
वयस्क मनोरञ्जन क्षेत्रमा पिल्सिएका महिलाहरूको तस्बिर प्रदर्शनीको सन्देश - हिंसालाई नाइँ भनौँ
नेपाल आर्ट काउन्सिल बबरमहलमा जारी प्रदर्शनीमा पुग्नुभयो भने त्यहाँ तपाईंका आँखा एउटा तस्बिरमा गएर पक्कै अडिनेछन्- कलेज पोशाकमै प्लास्टिकको जगबाट स्टिलको गिलासमा रक्सी खन्याइरहेकी युवतीको।
यो तस्बिर सिन्धुपाल्चोककी ममता परियार (नाम परिवर्तन) को हो, जसको बिहानको समय कलेज र साँझ भट्टीको अँध्यारोमा बित्छ। कलेज उनको रहर हो, भट्टी बाध्यता। कलेजमा उनले रोजेको वातावरण र संगत पाउँछिन्, भट्टीमा होटल मालिकको श्रमशोषणदेखि ग्राहकका अनुचित स्पर्शसम्म झेल्नुपर्छ।
‘आवर भोइसेज्, आवर राइट्स’ नामक प्रदर्शनीमा युवा तथा महिलाका विविध तस्बिर समावेश छन्। तस्बिर मार्फत यी समूहको आवाज बोल्ने प्रदर्शनीलाई ‘फोटोभोइस’ नामसमेत दिइएको छ। यहीँभित्रको ‘वयस्क मनोरञ्जन’ (एडल्ट इन्टरटेन्मेन्ट) खण्डमा परियारजस्तै १५ जना महिलाका करिब ५० तस्बिर संकलित छन्।
दोहोरी साँझ, डान्सबार, रेस्टुराँ, मसाज सेन्टर, गेस्टहाउस, साना होटल वा भट्टी आदिलाई वयस्क मनोरञ्जन क्षेत्र मानिन्छ। यो यस्तो क्षेत्र हो जहाँ महिला कामदारलाई मान्छे नभई भोग्य वस्तुका रूपमा हेरिन्छ। यहाँ ग्राहकले कामदारबाट शारीरिक सुखसमेत पाउने अपेक्षा राख्छन्। र, आर्थिक बाध्यताका कारण कतिपय महिला आफ्नो शरीर र पैसाबीच लेनदेन गर्न बाध्य हुन्छन्। प्रदर्शनमा राखिएका तस्बिरहरूमा यस्तै विवशता झेलेर जीविकोपार्जन गर्ने महिलाका कथा–व्यथा समेटिएका छन्।
यी तस्बिरमा उनीहरूले काम गर्ने क्षेत्रका गतिविधिसँगै उनीहरूको निजी जीवन, दिनचर्या, बसोबास गर्ने थलो र सार्वजनिक जीवनका समस्या–सरोकारहरूको चित्रण छ। केही तस्बिरमा यथार्थ र कल्पनाको सम्मिश्रणसमेत भेटिन्छ।
यी तस्बिरमा आर्थिक अभावसँगै यौन शोषण, पारिवारिक ट्रमादेखि जातीय विभेदसम्मका भोगाइको प्रतिविम्ब देखिन्छ। मनोरञ्जन क्षेत्रको चमकधमकभित्र गुम्सिएका भावना चित्रण गर्ने यी तस्बिरभित्र सहभागीका विगत र वर्तमानसमेत अटाएका छन्।
ओजन डान्सबार अर्को एउटा ध्यान खिच्ने तस्बिर हो। डान्सबारको साइनबोर्डमा बलिउड अभिनेत्री सनी लिओनी रईस फिल्मको ‘लैला ओ लैला’ गीतको पहिरनमा देखिएकी छन्। साइनबोर्ड जति रंगीन छ, त्यहाँ नाच्ने र काम गर्ने महिला श्रमिकहरूको जीवन उत्तिकै अन्धकार।
यस्तै अँध्यारो–उज्यालोको विरोधाभास बोकेका अन्य तस्बिर पनि छन्, जसका शक्तिशाली लामा क्याप्सनहरूले समेत ध्यान खिच्छ। एउटा क्याप्सन यस्तो छ- यो हाम्रो काम हो। हाम्रो रोजाइको काम होइन। यो हामीजस्ता महिलाका लागि अरू कुनै ढोका खुला नभएकाले गरिने काम हो। यसकै अन्तमा लेखिएको छ, “हामी हाम्रो पीडालाई मेकअपले लुकाउँछौँ।”
श्रीमानले छोडेपछि तीन वर्षीया छोरी र सात वर्षको छोरा हुर्काउने जिम्मा आफ्नो काँधमा आउँदा परिबन्दवश होटल लाइनमा काम गर्न पुगेको जानुका बताउँछिन्।
पहिला दोहोरीसाँझमा नाच्ने काम गरेकी जानुका राई (नाम परिवर्तन) यी तस्बिरमा सहभागी पात्रहरूलाई जोड्ने सूत्रधार हुन्। एक समय उनी स्वयं ठमेलको दोहोरो साँझमा काम गर्थिन्। उनका अनुसार प्रदर्शनीमा सहभागी महिलाहरूको उमेर १८ देखि ३० आसपास छ। पहिचान गोप्य राखिएका ती महिलामा दलित, तामाङ, गुरुङ र ब्राह्मण समुदायका महिलाहरू छन्। भूगोलका हिसाबले सिन्धुपाल्चोकदेखि सुदूरपश्चिमसम्मका महिलासमेत छन्।
श्रीमानले छोडेपछि तीन वर्षीया छोरी र सात वर्षको छोरा हुर्काउने जिम्मा आफ्नो काँधमा आउँदा परिबन्दवश होटल लाइनमा काम गर्न पुगेको जानुका बताउँछिन्। “जसरी पनि, जे काम पाए पनि नगरी नहुने बाध्यता थियो। काम खोज्दै जाँदा होटल लाइनमा पुगेँ,” उनी भन्छिन्, “मान्छेहरूलाई शरीरमा छुन नदिए त्यो काम जोगाइराख्न गाह्रो हुने। सन्तानको भविष्यका लागि कहिल्यै नचिताएको सम्झौता गर्नुपर्यो।”
यो उनको मात्र बाध्यता होइन। गाउँबाट शहर छिरेर होटल, दोहोरी साँझ, रेस्टुराँ र डान्सबारमा काम गर्ने थुप्रै महिलाको व्यथा आफ्नो जस्तै रहेको उनको भनाइ छ। भन्छिन्, “नचाहेर पनि धेरै दिदीबहिनी आफू र आफ्नो सन्तानको अस्तित्व रक्षाका लागि यौनकर्ममा लाग्नसमेत विवश छन्। किनकि समाजलाई महिलाको सीपभन्दा शरीरमा रुचि हुने रहेछ।”

प्रदर्शनीमा राखिएका तस्बिरहरू। तस्बिर: बिक्रम राई
विगतको तीतो अनुभवबाट आत्मबलले बाहिर उम्कन सफल राई हाल वयस्क मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरूलाई सहयोग गर्न संस्थागत रूपमै सक्रिय छिन्। उनी पारिवारिक–सामाजिक अवरोध, घरेलु हिंसा, लैंगिक दुर्व्यवहार, मानसिक शोषण, शारीरिक आक्रमण, यौन हिंसा र अपमान सबै उमेरसमूहका महिलाका साझा पीडा भएको बताउँछिन्। साझा दुःखका बावजूद हरेक सहभागीका भोगाइ पृथक् पनि छन्।
सहभागीहरूमा नर्स बन्ने सपना बोकेर काठमाडौँ आएकी युवतीदेखि प्रेमीबाट बलात्कारमा परेकी किशोरीसम्म छन्। माओवादी द्वन्द्वदेखि वैदेशिक रोजगारीका क्रममा समेत हिंसा भोग्नुपरेका महिला छन्।
वयस्क मनोरञ्जन क्षेत्र आर्थिक र सामाजिक हिसाबले जोखिमपूर्ण पेशा हो। राज्यको बेवास्ताका कारण कानुनी रूपमा समेत यसमा लागेकाहरू असुरक्षित हुन्छन्। ‘गैरमर्यादित’ मानिने भएकाले सामाजिक बहिष्करण अर्को ठूलो चुनौती हो। त्यसैले उनीहरू आफ्नो काम र पहिचान लुकाउन बाध्य हुन्छन्। “हाम्रो पेशा जोखिमपूर्ण छ, स्वास्थ्य बिग्रिन्छ, एचआईभी एड्स र अन्य यौनरोग लाग्ने खतरा हुन्छ। उमेर बढ्दै गएपछि तिरस्कार र काम नपाउने समस्याहरू थपिन्छन्,” जानुका भन्छिन्, “प्रदर्शनीका फोटोहरूले यी सबै समस्यालाई समेट्ने प्रयास गरेको छ।”
प्रदर्शनीका केही फोटो सोझै बोलेका छन् भने केही प्रतीकात्मक रूपमा। ढुंगेधारा, फूल र रित्तो डोको यस्तै प्रतीकात्मक तस्बिरहरू हुन्, जसले उमेर ढल्केका महिलाको भावना अभिव्यक्त गरेको छ। “जब बूढी भयौँ, हाम्रा अनुहार चाउरिन थाले र कमजोर हुन थाल्यौँ। त्यसपछि हामीलाई सबैले छोडे। ढुंगेधाराजस्तै आज हामी पनि एक्लो छौँ,” ढुंगेधाराको क्याप्सनमा लेखिएको छ।
संघर्ष र आशाबीच शीर्षकको क्याप्सनमा यस्तो छ- ‘फूल पनि एक समय सुन्दर रूपमा फुल्छ, अन्ततः ओइलाउँदै जान्छ। त्यस्तै हाम्रो पहिचान पनि फिक्का हुँदै गएको छ। हामीले सीमित अवसर र निरन्तर दुर्व्यवहार भोगिरहेका छौँ। हाम्रो काम त्यही फूलजस्तै छ। पहिले प्रशंसा गरिन्थ्यो, अब बेवास्ता गरिन्छ।’
‘महिलाको जीवन नदीजस्तै हो’ शीर्षकको क्याप्सन पनि उत्तिकै मार्मिक छ- ‘नदी एक ठाउँमा जन्मिन्छ। त्यसपछि निरन्तर बग्छ। कहाँ पुगेर अन्त्य हुन्छ? थाहा हुँदैन।’
यस्तै अनिश्चितताबीच काठमाडौँमा बेघर बन्न बाध्य सिन्धुपाल्चोककै ३२ वर्षीया रुपा घतानीले तस्बिरमार्फत आफ्नो गाउँको घर सम्झेकी छन्। माटो, ढुङ्गा र काठले बनेको घरको तस्बिर उनको बाल्यकालीन स्मृतिको परिकल्पना हो।
६ वर्षकै उमेरमा आमा गुमाएकी उनले गाउँमा सानैदेखि जातीय विभेद भोग्दै हुर्किनुपर्यो। बिहेपछि श्रीमानको कुटाइ सहनुपर्यो। श्रीमान् विदेश गएपछि न पैसा पठाए, न माया नै देखाए। भुइँचालोमा घर पनि भत्कियो। विद्यालय जान नपाएकी उनी आफ्ना सन्तानलाई जसरी शिक्षित बनाउन चाहन्थिन्। २६ वर्षको उमेरमा तीन बच्चा बोकेर काठमाडौँ प्रवेश गरेकी उनी ‘कहाँ जाने, के काम गर्ने’ अन्योलमा थिइन्।
प्रदर्शनीमा राखिएका तस्बिरहरू केवल तस्बिर होइनन्। यी अनगिन्ती महिलाका क्रन्दन हुन्, जसलाई उनीहरूको परिवारले सुनेन, समाजले बुझेन र राज्यले त्यसको कुनै वास्तै गरेन।
भन्छिन्, “काम र पैसाको खोजीमा भौतारिँदै एउटा दलदलबाट अर्को दलदलमा फस्न आइपुगेँ।”
जीवनमा आफैँले तस्बिर नखिचेको उनी यो प्रदर्शनीमा सहभागी हुन पाउनुलाई ठूलो उपलब्धि मान्छिन्। “म अनपढ मान्छे, गाउँमा चिठी पनि अरुले पढेर सुनाइदिनुपर्थ्यो। घरको भित्तामा कहिल्यै आफ्नो फोटो राखिएन। यहाँ मेरो फोटो हेर्न मान्छेहरू आएको देख्दा दंग परेकी छु,” उनको भनाइ छ।
पुरानो माटोको घरकै तस्बिर खिचेकी सीता तामाङको भावना पनि मर्मस्पर्शी छ, ‘माटोको घर। पुरानो घर। यो घर सहरमा भेटेका मुटुभन्दा न्यानो थियो।’
हरेक पात्रका फोटो र क्याप्सनले एकातिर पीडा र अर्कोतिर उनीहरूको शिक्षा, रोजगारी र स्वतन्त्र रूपमा जिउने चाहनालाई अभिव्यक्त गरेका छन्। राज्य र समाजले बेवास्ता गरिएका यी नागरिक सुनिन/पोखिन चाहन्छन्।

प्रदर्शनीमा राखिएका तस्बिरहरू।
प्रदर्शनीमा राखिएका तस्बिरहरू केवल तस्बिर होइनन्। यी अनगिन्ती महिलाका क्रन्दन हुन्, जसलाई उनीहरूको परिवारले सुनेन, समाजले बुझेन र राज्यले त्यसको कुनै वास्तै गरेन। यहाँ सहभागी सबै १५ जना महिलासँग शिक्षित र स्वतन्त्र भई आत्मसम्मानपूर्वक काम गर्ने र बाँच्ने सपना थियो। तर उनीहरूको त्यो चाहना र सपनाले जीवनका जटिलता र परिबन्दका कारण हुर्कने वातावरण नै पाएन।
हरेक तस्बिरभित्र जीवन छ। शान्ति र सम्मानपूर्वक जीवन जिउने तीव्र चाहना छ। छायाबाट प्रकाशतर्फ, आशाका सुनौला दाना, संघर्ष र आशाबीच, जहाँ पसिनाले त्यागको कुरा गर्छ, आत्मसम्मानका लागि एक चीत्कार, पीडा शक्ति र अस्तित्वको कथा जस्ता क्याप्सनले समेत ती चाहनालाई इंगित गर्छ। यी फोटोको आशय र यसमा निहित सन्देश एउटै छ– हिंसालाई नाइँ भनौँ।
तर यो सहानुभूतिको कथा होइन, यसले समानुभूति खोज्छ। सहभागी हरेक महिलाका तस्बिर र शब्द उनीहरूले विगतमा गुमाएको आत्मपहिचान फिर्ता पाउन गरेको प्रतिरोधका अंश हुन्। वयस्क मनोरञ्जन क्षेत्रको महिलाका पक्षमा पैरवी गर्दै आएकी राई भन्छिन्, “हामीजस्ता महिलाको संख्या करिब ८७ हजार छ। हामी पनि पहिचानको हकदार हौँ।”

प्रदर्शनीमा राखिएका तस्बिरहरू। तस्बिर: बिक्रम राई
युनिभर्सिटी आफ फ्रेजर भ्याली, वाइसर (काठमाडौँ) र आईडब्लुयुसी (सिन्धुपाल्चोक) सँगको सहकार्यमा आयोजना भएको प्रदर्शनीमा शोषण, हिंसा र दुर्व्यवहारको जोखिममा रहेको समूहलाई सहअनुसन्धानकर्मीका रुपमा परिचालन गरिएको अनुसन्धानकर्मी द्वारिका थेबे बताउँछिन्। भन्छिन्, ‘‘अत्यन्तै संवेदनशील समूहका रुपमा पहिचान गरिएका विभिन्न पृष्ठभूमिका युवा र महिलाहरुको भोगाइ फोटोको माध्यमबाट अभिव्यक्त गर्न, बुझ्न र बुझाउन यो प्रदर्शनी आयोजना गरिएको हो।’’
वयस्क मनोरञ्जनबाहेक प्रदर्शनीमा युवा र महिलासँग जोडिएका लैंगिक विभेद, एलजीबीटीआईक्यू, यौनिकता, मानसिक स्वास्थ्य, बेरोजगारी, मित्रता र परिवार, कृषिलगायत विषयका तस्बिर समेटिएका छन्। १४ माघदेखि सुरू भएको प्रदर्शनी २५ माघसम्म चल्नेछ।