काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू देशका विभिन्न जिल्लामा मतदाता भेटघाटमा जुटेका छन्। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले आ–आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय जनसम्पर्क अभियान तीव्र पारेका हुन्।
सोमबार सभापति लामिछाने रुपन्देही जिल्लामा केन्द्रित रहँदै मतदातासँग प्रत्यक्ष भेटघाट गर्दैछन्। पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार उनले देवदह, ओमसतिया, रोहिणी, सिद्धार्थनगर, शुद्धोदन, बुटवल, सैनामैना, कञ्चनपुर, गैडहवा र लुम्बिनी क्षेत्रका विभिन्न चोक तथा बस्तीमा पुगेर ‘घण्टी अभिवादन’ सहित जनसम्पर्क गर्नेछन्। यद्यपि लामिछानेले उम्मेदवारी भने चितवन क्षेत्र नम्बर २ बाट दर्ता गराएका छन्।
यता, वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत कमल गाउँपालिकामा आज नागरिक भेटघाट कार्यक्रम गर्दैछन्। शाहको सचिवालयका अनुसार बिहान ७:३० बजेदेखि सुरु हुने कार्यक्रममा सानो केर्खा चोकदेखि भुत्लुङ स्कुल अगाडिसम्म १५ स्थानमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने कार्यतालिका तय गरिएको छ। कार्यक्रममा केर्खा बजार, केराधाप, क्याम्पा, सुनहरा (उराउ र संथाल बस्ती), शरंग्पडा बजार, बाह्रबिघा मन्दिर, नहरचोक, शान्ति चोक र सुकुम्बासी बस्ती लगायतका स्थान समेटिएका छन्।
शाहले यसअघि पनि विभिन्न जिल्लामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आएका छन्। रास्वपाले यसपटक चुनावी अभियानमा घरदैलो र प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको देखिन्छ।