काठमाडौँ। वीरगन्ज महानगरपालिका-१० आदर्शनगरमा स्थानीय व्यापारीले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। भारतबाट भन्सार छलेर ल्याइएको सामान बरामद गर्ने क्रममा सशस्त्र प्रहरीमाथि सोमबार बिहान करिब पौने १० बजे आक्रमण भएको हो।
सशस्त्र प्रहरी पर्सा जिल्ला प्रमुख प्रहरी उपरीक्षक मोहन क्षेत्रीका अनुसार आदर्शनगरको एउटा सटरमा भन्सार छलीको लत्ताकपडा बरामद गर्ने क्रममा स्थानीय व्यापारीले तोडफोड तथा आक्रमण गरेका हुन्। “सामान गाडीमा लोड गरेर हिँड्ने क्रममा ढुंगामुढा र तोडफोड गरिएको छ,” क्षेत्रीले भने। प्रहरीले सात लाख रुपैयाँ बराबरको भन्सार छलीको कपडा बरामद गरेको थियो।
क्षेत्रीका अनुसार भन्सार छलीको सामान गोदाम गरिएको सूचनाका आधारमा सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारी गएका थिए। स्थानीयले ढुंगामुढा गर्दा सशस्त्र प्रहरीका दुईवटा गाडीको सिसा फुट्नुका साथै तीनजना प्रहरी घाइते भएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार छलीको सामान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको बताए। तोडफोड तथा ढुंगामुढा गर्ने व्यक्तिहरूको खोजी भइरहेको उनले बताए।