काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन-२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन्।

मिसन-२०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्य-सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई कार्कीले बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गर्ने आश्वासन दिइन्।

जापनमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यसाथ राखेपले दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ। चालु आवका लागि विनियोजन भएको बजेटले यही माघ महिनासम्म कार्यक्रम सञ्चालन हुने भएपछि बाँकी रकम व्यवस्थापनका लागि परिषद्ले अनुरोध गरेको हो।

एसियाली खेलकुदको तयारीलगायत विषयमा प्रधानमन्त्रीलाई सदस्य-सचिव मेहताले जानकारी दिए। भेटमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठको पनि सहभागिता थियो।

भेटमा प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरी उद्देश्य पूरा गर्न भन्दै २१ फागुनको निर्वाचनलगत्तै विशेष प्रशिक्षण जारी राख्न निर्देशन दिएकी हुन्।