प्रहरी महानिरीक्षक कार्की भन्छन् - ‘एआई-ड्रिभन’ सुरक्षा रणनीति प्रहरीको मुख्य हतियार
काठमाडौं। आसन्न २१ फागुनको निर्वाचनलाई शान्त, निष्पक्ष र धाँधलीमुक्त बनाउन गृह मन्त्रालयले अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा परिचालन गर्ने तयारी गरेको छ।
निर्वाचनलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका गरी तीन लाख ३२ हजार सुरक्षाकर्मी परिचालन गरिने गृह प्रवक्ता आनन्द काफ्लेले बताए। उनका अनुसार निर्वाचन सुरक्षाका लागि डेढ लाख निर्वाचन (म्यादी) प्रहरी, ७८ हजार नेपाली सेना, ७० हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल र करिब दुई हजार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरिने छ। यो संख्या पछिल्ला निर्वाचनहरूमध्ये सबैभन्दा ठूलो हो।
प्रहरी प्रधान कार्यालयका अनुसार यसपटक परम्परागत सुरक्षासँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित निगरानी र डिजिटल नियन्त्रणलाई पनि मुख्य हतियार बनाइएको छ।
निर्वाचनको समग्र सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाल प्रहरीले गर्ने छ। विगतको मोडलअनुसार यसपटक पनि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटाइने व्यवस्था मिलाइएको छ।
निर्वाचन सुरक्षाका लागि २१ माघदेखि नै नेपाली सेनाको परिचालन सुरू भइसकेको छ। नेपाल प्रहरीले मतदान स्थलहरूलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गर्दै जोखिमको स्तरअनुसार सुरक्षाकर्मीको संख्या, तैनाथी र निगरानी प्रणाली निर्धारण गरेको छ। मतदानपूर्वको तयारीदेखि मतदान, मतगणना र परिणाम घोषणासम्म प्रत्येक चरणमा कडा सुरक्षा व्यवस्था लागू गरिने काफ्लेले बताए।
“सम्पूर्ण सुरक्षा संयन्त्रको केन्द्रमा नेपाल प्रहरी रहेको छ, सशस्त्र प्रहरी महानिरीक्षक, नेपाली सेनाका प्रधान सेनापति र राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकसँग निरन्तर समन्वय गर्दै बहुआयामिक सुरक्षा रणनीति निर्माण गरिरहेका छौँ,” प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भने, “कुन क्षेत्रमा कस्तो सुरक्षा आवश्यक छ भन्ने विषयमा दैनिक समीक्षा र सूचनाको आदान–प्रदान भइरहेको छ।”
निर्वाचनलाई थप विश्वसनीय बनाउन आईजीपी कार्कीको निर्देशनमा नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गरेको छ। सामाजिक सञ्जालमार्फत् फैलिने गलत सूचना, हेट स्पीच, डिजिटल म्यानुपुलेशन र भ्रामक सामग्री नियन्त्रण गर्न यो सेल २४ सै घण्टा सक्रिय रहने छ।
कार्कीले सूचना प्रविधिको दुरुपयोगमार्फत् निर्वाचन प्रभावित पार्ने प्रयास बढेकाले त्यसको निगरानी, विश्लेषण र कानुनी उपचारका लागि एआई आधारित प्रणाली आवश्यक भएको बताए। “छिटो सूचना दिने होडमा मिसइन्फरमेशन र डिसइन्फरमेशन फैलिएको छ, निर्वाचनको समयमा आउने फण्डा र अफवाहलाई रोक्न यो सेल प्रभावकारी हुनेछ,” उनले भने।
निर्वाचन सुरक्षाका विषयमा आईजीपी कार्कीले गृहमन्त्री, निर्वाचन आयोगका पदाधिकारी तथा प्रधानमन्त्रीसँग समेत निरन्तर समन्वय र परामर्श गरिरहेको बताए।
“सुरक्षा दृष्टिले संवेदनशील मानिएको निर्वाचनमा एआई ड्रिभन प्रविधि, तीन तहको सुरक्षा घेरा र प्रहरीको सक्रिय नेतृत्वले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुने आधार तयार गरिसकेको छ,” कार्कीले भने, “सुरक्षा निकायबीचको अभूतपूर्व सहकार्य र योजनाबद्ध तयारीले धाँधलीमुक्त निर्वाचनको विश्वास बलियो बनाएको छ।”