काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

काठमाडौँ। रामेछापको मन्थली नगरपालिका ६‚ त्रिवेणीघाटस्थित तामाकोसी नदीमा दुर्घटना भएको यात्रुवाहक बसमा यात्रारत थप ६ जनाको शव फेला परेको छ।

यसअघि बिहान घटनास्थलबाट ६ जनाको शव निकालिएको थियो। मृत्यु हुनेमा ७ पुरुष र ५ महिला गरी १२ जना पुगेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुलिसकेको छैन।

दुर्घटनामा आठजना घाइते भएका छन्। घाइते हुनेमा मन्थली १२‚ रामेछापका ३३ वर्षीया देवकी खड्का, मन्थली ११ का ३१ वर्षीय सुशान्त थापा मगर, उमाकुण्ड नगरपालिका ५ का ५२ वर्षीय सोनातेन्जी शेर्पा, वर्षीया निष्मा शेर्पा, लिखुतामाकोसी गाउँपालिका ४ का ७१ वर्षिय ओलकबहादुर थापा, खाँडादेवी गाउँपालिका ३ का २१ वर्षीय समीर श्रेष्ठ, भीमेश्वर ७‚ दोलखाका १७ वर्षीया नीलिमा तामाङ र ओखलढुंगाको खिजिदेम्वा गाउँपालिका २ का ४५ वर्षीय जयबहादुर तामाङ छन्।

घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएको छ। चालक सुशान्त थापामगरको तामाकोसी अस्पताल मन्थलीमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहित नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ।

प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो करिब पौने ११ बजे झन्डै २० मिटर तल तामाकोसी नदीमा खसेर दुर्घटना भएको हो। यात्रुवाहक बसमा कतिजना यात्रारत थिए भने खुल्न सकेको छैन।