गण्डकी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ।
मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सुरक्षाका दृष्टिले अतिसंवेदनशील र संवेदनशील मानिएका मतदानस्थलको अनुगमन गरिएको बताए।
अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक/सहायक प्रधानाध्यापक, स्थानीय अगुवासँग मतदानस्थलको वस्तुस्थिति बुझी आचारसंहिताको कार्यान्वयन, भौतिक पूर्वाधार, बिजुली, पानीलगायत सुविधाबारेमा स्थलगत अध्ययन गर्ने गरिएको उनले जानकारी दिए।
सुरक्षाको प्रबन्ध, सडक पहुँचको अवस्थालगायतको निरीक्षण गरी थप सुधार तथा मर्मतसम्भारका लागि सम्बन्धित निकायमा समन्वय भइरहेको सहायक प्रजिअ बरालले बताए । मतदातालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्थाका लागि बाटोघाटो मर्मतसुधारका लागि पहल गरिएको छ।
निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लामा सुरक्षा रणनीतिसमेत तयार गरिएको छ। कास्कीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट गरी दुई हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिनेछन्। त्यस्तै, दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी परिचालन हुने जनाइएको छ।