काठमाडौँ। प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट पेस्तोल र भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-२ बेलडाँगीका सिलास लिम्बू र सुन्दरहरैंचा नगरपालिका-३ का प्रेमबहादुर लिम्बू रहेका छन्।
सोमबार बेलुका ६ बजे दुबैलाई घरबाटै पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले बताए।
जेनजी आन्दोलनपछि हतियार देखाएर आतंक मच्चाएको तथा धाकधम्की दिई मानिसहरूलाई त्रसित बनाएको सूचना पाएपछि प्रहरी सिलासको घरमा पुगेको थियो। उनको घरबाट मेड इन युएसए लेखिएको पेस्तोल एक थान, हेन्डसेट दुई थान र भरुवा बन्दुक एक थान बरामद गरिएको कटवालले बताए।
सिलासले उक्त हतियार प्रेमबहादुरसँग लिएको बताएपछि उनलाई समेत पक्राउ गरिएको कटवालले बताए।
ती हतियार कहाँबाट ल्याइएको भन्नेबारे अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ। “जेनजी आन्दोलनको क्रममा लुटिएका हतियार होइनन्, सञ्चार सेटसमेत प्रहरीले बोक्ने गरेको होइन,” कटवालले भने।
लिम्बूद्वयले हतियार देखाएर स्थानीयलाई त्रसित बनाउँदै गैरकानुनी रुपमा असुली गरेको प्रहरीले जनाएको छ। दुबैलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।