टी-२० विश्वकप
विश्वकपअन्तर्गत बिहीबार नेपाल युरोपको कमजोर आँकिएको इटालीविरुद्ध दोस्रो खेल खेल्दै छ। सन् २०१४ को विश्वकपमा अफगानिस्तान र हङकङलाई जितेयता नेपालले कुनै टोलीलाई जित्न सकेको छैन।
मुम्बईको वानखेडे रंगशालाको पिच प्रायः ब्याटरमैत्री मानिन्छ। छोटो बाउन्ड्री, तीव्र आउटफिल्ड र राम्रो ‘बाउन्स’ हुने सतहका कारण यस पिचमा हुने खेलमा उच्च योगफल बन्ने सम्भावना बढी रहन्छ। यसको अर्थ रणनीति गौण हुन्छ भन्ने होइन।
बरु यस्तो पिचमा रणनीति र मानसिक तयारी अझ महत्त्वपूर्ण बन्छ। आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘सी’ को पहिलो खेल इङ्ल्यान्डलाई सुम्पिसकेको अवस्थामा दोस्रो खेल इटालीविरुद्ध खेल्न मैदानमा उत्रिँदा नेपाली खेलाडीले ध्यान दिनुपर्ने मुख्य कुरा नै यही हो।
विश्वकपअन्तर्गत नेपालले दोस्रो खेल इटालीविरुद्ध बिहीबार सवा ३ बजे खेल्दै छ। जसका लागि नेपाली खेलाडी पूर्ण रूपमा तयार देखिन्छन्। कप्तान रोहितकुमार पौडेल भन्छन्, “पहिलोपटक इङ्ल्यान्डसँग खेल्नु हाम्रा लागि सपनाजस्तै थियो। नतिजा हाम्रो पक्षमा भएन। तर, सुधार गर्नुपर्ने ठाउँ धेरै छन्।”
आइतबार इङ्ल्यान्डसँग चार रनको झिनो अन्तरले पराजित हुनुअघि भारतका पूर्वटेस्ट स्पिनर हरभजन सिंहले नेपालको प्रदर्शन फितलो हुने दाबी गरेका थिए। उनले नेपालविरुद्ध पहिला ब्याटिङ गरे इङ्ल्यान्डले ३०० भन्दा बढी रन जोड्ने ठोकुवा गरेका थिए। तर, उनको अनुमानविपरीत नेपालले साहसिक प्रदर्शन गर्दै इङ्ल्यान्डलाई १८४ रनमा रोक्यो र दुईपल्टको विश्वविजेता टोलीविरुद्ध १८० रन बनायो।

नेपालविरुद्ध ब्याटिङ गर्दै इङ्ल्यान्डका ज्याकब बेथेल। तस्बिर : एपी फोटो/रासस
“इङ्ल्यान्डसँगको खेलले टोलीमा ठूलो आत्मविश्वास जगाएको छ। हामीले उपाधिको दाबेदार टोलीलाई कडा चुनौती दियौँ। यस खेलको मुख्य सिकाइ भनेको दबाबको अवस्थामा निर्णय लिनु र योजना कार्यान्वयन गर्नु रह्यो,” खेल सकिएपछि उनले भनेका थिए।
यस खेलमा नेपालले अन्तिम ओभरसम्म प्रतिस्पर्धा कायम मात्र राखेन, योजनाबद्ध ब्याटिङ, परिस्थितिअनुसार ‘स्ट्राइक रोटेड’ गर्ने खुबी र दबाबमा शान्त रहेर प्रदर्शन गरेको थियो। दुई वर्षअघि अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपाल यस्तै अवस्थामा पुगेर दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो।
फरक दिशामा इटाली
इटालीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ। यसै कारण बिहीबारको खेलमा संयमित भएर खेल्ने रोहितको रणनीति छ। “इटाली पनि राम्रो टिम हो। यस टोलीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको छ। त्यसैले कुनै पनि टोलीलाई हल्का रूपमा लिँदैनौँ,” उनी भन्छन्।
सन् २०१४ मा पहिलोपल्ट विश्वकप खेलेको नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदै दुई जित निकालेको थियो। त्यसयता विश्वकपमा नेपालले जित निकाल्न सकेको छैन। इटालीलाई जिते नेपालले १२ वर्षपछि पुनः विश्वकपमा खेल जित्ने इतिहास बनाउनेछ।
नेपालविरुद्धको खेल इटालीका लागि सुधारको मौका पनि हो। आईसीसी टी-२० विश्वकप युरोपेली छनोटमा ग्वेर्नसे र स्कटल्यान्डलाई हराएर इटाली पहिलोपल्ट विश्वकपमा प्रवेश गरेको हो।
यस विश्वकपमा इटालीले कम्तीमा दुई एसोसिएट राष्ट्र नेपाल र स्कटल्यान्डलाई पराजित गर्ने लक्ष्य बुनेको थियो।
विश्वकपअघि आयरल्यान्डसँग भएको शृंखलाको अन्तिम खेलमा चार विकेटको जित निकालेको इटालीले ‘वार्मअप’ खेलमा क्यानडालाई १० र संयुक्त अरब इमिरेट्स (यूएई)लाई ११२ रनले पराजित गरेको थियो। तर, विश्वकपको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध ७३ रनको पराजय भोग्यो।
यस विश्वकपमा इटालीले कम्तीमा दुई एसोसिएट राष्ट्र नेपाल र स्कटल्यान्डलाई पराजित गर्ने लक्ष्य बुनेको थियो। तर, स्कटल्यान्डविरुद्धको पराजयपछि टिमको मनोबल पक्कै खस्किएको हुनुपर्छ। पहिलो खेलमै कप्तान वेन म्याडसेनको काँधमा चोट लागेको छ। उनको सट्टा नेपालविरुद्ध ह्यारी मानेन्टीले कप्तानी गर्ने सम्भावना प्रबल छ।

२६ माघमा स्कटल्यान्डसँगको खेलमा ब्याटिङका क्रममा इटालीका ह्यारी मानेन्टी। तस्बिर : एपी फोटो/रासस
स्कटल्यान्डविरुद्ध इटालीले सात फरक फरक बलिङ विकल्प प्रयोग गरेको थियो। तर, उसले २०८ रनको लक्ष्य रोक्न सकेन। जवाफी कारबाहीमा इटालीका ६ जना ब्याटर एकोहोरो रनमा आउट भए। तीन जनाले खाता पनि खोल्न सकेनन्। बेन मानेन्टीको अर्धशतक र ह्यारीको केही आक्रामक प्रहारबाहेक टोलीको प्रदर्शन कमजोर रह्यो।
यी दुईले चौथो विकेटका लागि ४६ बलमा ७४ रनको बलियो साझेदारी गरेका थिए। ह्यारीले ३७ रन बनाउँदा बेनले ५२ रनको इनिङ्स खेले। टी-२० मा उनको यो पहिलो अर्धशतक थियो।
इङ्ल्यान्डविरुद्ध पहिलो खेलमा नेपालको खेल हेर्न १७ हजार आठ दर्शक वानखेडे पुगेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को मिडिया रिपोर्टमा उल्लेख छ।
इटालीका मुख्य प्रशिक्षक जोन डेभिसन सयभन्दा बढी दर्शक भएको रंगशालामा कहिल्यै नखेलेको अनुभव सुनाउँछन्। त्यसैले स्कटल्यान्डविरुद्ध खेल्दा राम्रो अनुभव मिलेको उनको भनाइ छ। यद्यपि, नेपालले विश्वकप समूह चरणका सबै खेल मुम्बईको वानखेडे रंगशालामा नै खेल्दै छ। यो रंगशाला नेपालका लागि घरेलु मैदानजस्तै हुनेछ।
इङ्ल्यान्डविरुद्ध पहिलो खेलमा नेपालको खेल हेर्न १७ हजार आठ दर्शक वानखेडे पुगेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को मिडिया रिपोर्टमा उल्लेख छ। त्यसैले बिहीबारको खेलमा नेपाललाई फाइदा पुग्ने डेभिसन स्विकार्छन्।
“हामीले प्रतियोगितामा पुनरागमन गर्नुपर्छ। तर, नेपाल बलियो विपक्षी हो। नेपालले आफ्ना सबै चार खेल एउटै मैदानमा खेल्न पाउँदा उनीहरूलाई ठूलो फाइदा हुनेछ,” उनले भनेका छन्।
१५ खेलाडी नै प्रवासी
नेपालविरुद्ध दोस्रो खेल खेल्ने तयारीमा रहेको इटालीको १५ सदस्यीय टोलीमा विविध पृष्ठभूमिका खेलाडी समाहित छन्। टोलीमा पाँच जना ‘होम-बेस’ अर्थात् इटालीमै हुर्किएका वा बसोबास गर्दै आएका र बाँकी खेलाडी अस्ट्रेलिया, दक्षिण अफ्रिका र इङ्ल्यान्डबाट आएका हुन्। उनीहरू सबैले पारिवारिक सम्बन्धका आधारमा इटालीको नागरिकता प्राप्त गरेका हुन्।
सबैभन्दा रोचक कुरा, यी सबै खेलाडी इटालीमा जन्मिएका होइनन्। यद्यपि, धेरैसँग इटालीको राहदानी छ। टोलीमा दुई जोडी अस्ट्रेलियाका दाजुभाइ छन्, ह्यारी र बेन मानेन्टी। अर्का दाजुभाइ जस्टिन र एन्थोनी मोस्का अस्ट्रेलियाको चर्चित बिग बास लिग (बीबीएल) खेलेर इटालीको टोलीमा समावेश भएका हुन्। गत सिजन दक्षिण अस्ट्रेलियाले घरेलु सेफिल्ड सिल्ड जित्दा बेन टोलीका महत्त्वपूर्ण सदस्य थिए।
दक्षिण अफ्रिकी पूर्वअन्तर्राष्ट्रिय खेलाडी स्मट्सले श्रीमतीको पारिवारिक सम्बन्धमार्फत इटालीका लागि खेल्ने योग्यता प्राप्त गरेका हुन्।
इटालीको अनुभवी खेलाडीमध्ये ३७ वर्षीय जेजे स्मट्स विशेष मानिन्छन्। दक्षिण अफ्रिकी पूर्वअन्तर्राष्ट्रिय खेलाडी स्मट्सले श्रीमतीको पारिवारिक सम्बन्धमार्फत इटालीका लागि खेल्ने योग्यता प्राप्त गरेका हुन्। टी-२० फ्रेन्चाइज क्रिकेटमा नियमित देखिने उनी शीर्षक्रमका आक्रामक ब्याटर र उपयोगी बायाँहाते स्पिनर हुन्।
टोलीका कप्तान ४२ वर्षीय वेन म्याडसेन दक्षिण अफ्रिकामा जन्मिएका थिए। उनी इङ्ल्यान्ड सरे र हाल डर्बिसायर क्लबका कप्तान हुन्। उनीसँग २५३ प्रथम श्रेणी क्रिकेट खेलेको अनुभव छ। यस्तै, अस्ट्रेलियामा जन्मिएका ग्रान्ट स्टुअर्ट इङ्ल्यान्डको केन्टबाट घरेलु क्रिकेट खेल्छन्।

मुम्बईको वानखेडे स्टेडियममा २५ माघमा भएको नेपाल र इङ्ग्ल्यान्डबीचको खेलमा उपस्थित नेपाली समर्थक। तस्बिर : एपी फोटो/ रासस
होम-बेस खेलाडीमध्ये जैन अली पाकिस्तानमा जन्मिएका हुन्। यद्यपि, उनी पनि दुई वर्षको उमेरमा परिवारसँगै इटाली पुगेका थिए। उनी इटालीका अलराउन्डर खेलाडी हुन्। उनीसँगै हसन अली र सैयद नक्विक पनि पाकिस्तानी मूलका खेलाडी हुन्। जसप्रित सिंह भारतमा जन्मिएर इटालीमा हुर्किएका थिए। मार्कस क्याम्पोपियानो (इङ्ल्यान्ड), जियान पिएरो मिड (दक्षिण अफ्रिका) र थोमस ड्राका (अस्ट्रेलियाली मूलका इङ्लिस नागरिक)ले इटालीको टोलीलाई पूर्णता दिएका छन्।