काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२८ माघ २०८२
समझदारीपत्रमा हस्ताक्षर गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (बायाँ) । तस्बिरः भेषराज कार्की/रासस
अ+
अ-

काठमाडौं । नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चारबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

नेपाललाई ‘अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्य’ को रुपमा विकास गर्ने, अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालको सक्रिय सहभागिता सुनिश्चित, स्थानीय अर्थतन्त्र सुदृढ गर्दै रोजगारी सिर्जना गर्ने लगायतका विषयमा सहमति भएको छ।

यसैगरि, सम्झौतामा सन् २०२६ मा हुने कान्स फिल्म फेस्टिभलमा सहभागिता, पोखरामा फिल्म फेस्टिभल आयोजना, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धनात्मक सामग्री उत्पादन गर्ने योजना तय गरिएको छ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै पर्यटन बोर्डका सीईओ जोशीले चलचित्र छायांकनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको बताउँदै चलचित्र विकास बोर्डसँगको सहकार्यले उच्च सम्भावना बोकेका गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त्त गरे।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाललाई पर्यटनप्रधान देश बनाउन हातेमालो गरेर अघि बढ्ने बताए।