काठमाडौँ
००:००:००
२८ माघ २०८२, बुधबार

२० फागुनदेखि एकतिहाइ सदस्य बिदाइ हुँदै

२८ माघ २०८२
अ+
अ-

काठमाडौँ। बिदाइ हुन लागेका राष्ट्रिय सभा सदस्यहरूले कानुन निर्माणका अवरोध हटाउन सुझाव दिएका छन्।

राष्ट्रिय सभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय हुने अवस्थामा पुगेका कतिपय कानुन निर्माणका अवरोध हटाउनेतर्फ ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।

राष्ट्रिय सभाको आज (बुधबार) को बैठकमा समयावधि पुगेका सांसदले बिदाइसहित सभाको अनुभव साट्ने क्रममा कानुन निर्माणका अवरोध हटाउनुपर्ने सुझाव दिएका हुन्। सांसद देवेन्द्र दाहालले सभालाई विज्ञहरूको सभा बनाउनुपर्ने सुझाए। विज्ञ र बौद्धिक सदस्य छनोट गरेर राजनीतिक दलले सभामा पठाउनुपर्ने धारणा उनले राखेका थिए।

संवैधानिक व्यवस्थाबमोजिम ६ वर्ष पदावधि पूरा गरी एकतिहाइ सभा सदस्य आगामी २० फागुनदेखि बिदाइ हुँदै छन्। आगामी २१ फागुनमा १९ जना सभासदस्यको पदावधि समय सकिँदै छ।

संसदीय अभ्यासका क्रममा प्राप्त अनुभव साझा गर्ने क्रममा सदस्य गंगाकुमारी बेल्वासेले समितिले विभिन्न आवश्यक महत्त्वका कानुन सम्पादन कार्य भइरहेको र यस क्रममा थुप्रै काम सिक्ने अवसर मिलेको बताइन्।

यो पनि…

राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक पारित

राष्ट्रिय सभामा रहेका विधेयक प्रतिनिधिसभा विघटन हुँदा निस्क्रिय हुने अवस्थामा पुगेका भन्दै यो अवस्था उचित नरहेको उनले बताइन्। “ठूलो मिहिनेत र स्रोत लगानी गरेर बनेका विधेयक अन्तिम समयमा निस्क्रय हुनु राम्रो होइन,” उनले भनिन्, “निजामती विधेयक, शिक्षा विधेयक महत्त्वपूर्ण विधेयक निस्क्रिय हुँदा चिन्ता लागेको छ।”

सदस्य तुलसीकुमारी दाहालले संघीय सरकारको दुई सदन समान रूपले महत्त्वपूर्ण छन् भन्ने बुझाउन नसकिएको बताइन्। उनले जनताको जीवनस्तरमा अझै पनि सुधार गर्न नसकिएकोमा आत्मसमीक्षा गरिन्। सभा सदस्य गोपाल भट्टराईले राष्ट्रिय सभामा बनेका कानुनलाई विभिन्न कारणले निस्क्रिय बनाउने अवस्था हटाएर कानुनी निर्माणका अवरोधमाथि समीक्षा गर्नुपर्ने बताए।