काठमाडौँ। आईसीसी टी-ट्वेन्टी विश्वकपमा इटालीसँग नेपाल १० विकेटले पराजित भएको छ। नेपालको यो लगातार दोस्रो हार हो।
हारसँगै नेपालको सुपर एट पुग्ने सम्भावना लगभग सकिएको छ। लगातार दोस्रो हारसँगै नेपाली टोली अंकविहीन रूपमा समूह सीको पुछारमा झर्यो। दुई खेलमा एक जित र एक हार भोगेको इटली दुई अंकसँगै तालिकाको चौथो स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो।
आजको खेलमा बलिङतर्फ ललित राजवंशीले १ ओभरमा १९ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीले ३.४ ओभरमा २४ रन दिए। करण केसीले २ ओभरमा २१ रन खर्चे। सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन दिए। नन्दन यादवले १ ओभरमा १२ र कुशल भुर्तेलले २ ओभरमा १५ रन खर्चे।
नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले ४४ बलअगावै बिनाविकेटको क्षतिमा पूरा गर्यो। इटलीका जस्टिन मोस्का र एन्थोनी मोस्काले १२४ रनको अविजित साझेदारी गरे।
मुम्बईमा रहेको वानखेडे रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल १९.२ ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा समेटिएको थियो।
यो पनि…
नेपालका आरिफ सेखले २७ रन‚ कप्तान रोहित पौडेलले १४‚ आसिफ सेखले २० र दीपेन्द्रसिंह ऐरीले १७ रनको योगदान गरे। अविजित करण केसीले १८ रन मात्र जोड्न सके।
ओपनर कुशल भुर्तेल ५‚ लोकेश बम ३, गुलसन झा ३ र नन्दन यादव शून्यमै पभेलियन फर्किए। सन्दीप लामिछानेको खातामा ५ रन रह्यो।
इटालीका क्रिसान कलुगामागे ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बेन मानेन्तीले ४ ओभरमा ९ रन दिँदै २ विकेट लिए। यस्तै अली हसन, जेजे स्मट्स र जसप्रित सिंहको पोल्टामा समान १-१ विकेट रह्यो।
नेपालले अब समूह चरणको तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।