काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

२९ माघ २०८२
अ+
अ-

तनहुँ। प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन्।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन्। कार्यालयका अनुसार श्रावण महिनामा दुई हजार ६५३, भदौमा एक हजार ८९९, असोजमा एक हजार ४८३ जना बिरामीले उपचार सेवा लिएका छन्। यसैगरी कात्तिकमा दुई हजार १३७, मङ्सिरमा तीन हजार ८२२ र पुस महिनामा चार हजार ६३७ जना रहेका छन्।

पछिल्लो समय प्रदेश आयुर्वेद चिकित्सालयमा उपचार गर्न आउने बिरामीको आकर्षण बढ्दै गएको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईँले जानकारी दिए। उनले भने, “आयुर्वेदिक उपचार विधिलाई प्रभावकारी बनाइएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ।”

चिकित्सालयमा तनहुँसहित जिल्लाको सिमानामा पर्ने गोरखा, लमजुङ, स्याङ्जा, कास्कीलगायत स्थानबाट पनि उपचारका लागि बिरामी आउने गरेका छन्। कार्यालयले सञ्चालनमा ल्याएको बहिरङ्ग सेवाबाट सबैभन्दा धेरै छ हजार १६३ जनाले सेवा लिएका छन्।

यसैगरी, पञ्चकर्मबाट पाँच हजार ९०६, योग सेवाबाट तीन हजार १०७, फिजियोथेरापीबाट एक हजार ८६, प्रयोगशालाबाट १५९, स्तनपायी आमा तथा शिशु सेवाबाट ७६, शिरोधाराबाट २९ र क्षारसूत्रमा एक जना लाभान्वित भएका छन्।

विशेषगरी ग्याष्ट्रिक, बाथरोग, नसारोग, छालाजन्यका बिरामी उपचारका लागि बढी आउने गरेको कार्यालय प्रमुख एवं आयुर्वेद डा नारायण श्रेष्ठले बताए।