काठमाडौँ । बंगलादेशमा आज (बिहीबार) १२ करोडभन्दा बढी मतदाता नयाँ सरकार चयन गर्न मतदानमा सहभागी भइरहेका छन्। देशभर मतदान सुरु भइसकेको छ र स्थानीय समयअनुसार साँझ ४ः३० बजेसम्म जारी रहनेछ। यो सन् २०२४ मा भएको आन्दोलनपछि पहिलो चुनाव हो। युवाहरूको नेतृत्वमा भएको उक्त आन्दोलनले पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो।
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले हसिनाले देश छाडेपछि बंगलादेश सञ्चालन गर्दै आएको छ। आन्दोलनका क्रममा कम्तीमा १,४०० प्रदर्शनकारीको मृत्यु भएको थियो। प्रदर्शनकारीहरूमाथि कारबाही गर्न सिधा आदेश दिएको आरोप शेख हसिनामाथि लगाइएको छ, जसलाई उनले निरन्तर अस्वीकार गर्दै आएकी छन्।
गत वर्ष नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।उनकी पार्टी अवामी लिगलाई यस चुनावमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ।
यसपटकको चुनावमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र इस्लामी दल जमात–ए–इस्लामीबीच प्रतिस्पर्धा भइरहेको छ। जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक दलसँग गठबन्धन गरेको छ। मतदाताहरूले नयाँ सरकारका लागि मत हाल्नुका साथै संविधान संशोधनसम्बन्धी जनमत संग्रहमा पनि भाग लिइरहेका छन्। एजेन्सी