साताको सेयरबजार
सेयरबजारमा ङादी ग्रुपको कारोबार सबैभन्दा उच्च‚ मध्य भोटेकोसीका लगानीकर्ताले कमाए ९.९९ प्रतिशत
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने नेप्से एकल अंकले बढेको छ। यो साता लगातार घटेको नेप्से आज भने ८.९७ अंकले बढ्दै सुखद बिदाइ गर्यो।
यो साता पाँच कारोबार दिनमध्ये चार दिन नेप्से घट्दा एक दिनमात्र बढ्यो। नेप्से आइतबार १०.२५‚ सोमबार २६.०५ र मंगलबार १०.२५ र बुधबार ०.०४ अंकले घटेको थियो। अघिल्लो दिनको कारोबारको तुलनामा बिहीबार ०.३३ प्रतिशतले बढेको नेप्से २‚६७१.०७ विन्दुमा अडिएको छ।
बिहीबार सेन्सिटिभ इन्डेक्स पनि १.५१ अंकले बढेर ४५६.७२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.३३ प्रतिशतले बढेको हो। नेप्सेमा बुधबार ३३७ कम्पनीको एक लाख ६ हजार १८ पटकको कारोबारमा दुई करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच भए। जसमा बिहीबार ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ रुपैयाँबराबरको कारोबार भयो।
नेप्सेमा आइतबार ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको थियो भने सोमबार १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँबराबरको कारोबार भएको थियो। यसैगरी मंगलबार भने आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ रुपैयाँबराबरको कारोबार भएको नेप्सेमा बुधबार आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँबराबरको कारोबार भयो।
नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा आठ समूहको सूचक बढे। बाँकी पाँच समूहका सूचक घटे।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.३४ तथा विकास बैंक १.१८ तथा फाइनान्स समूहको सूचक ०.३५ प्रतिशतले बढे। होटेल तथा पर्यटन समूहको सूचक १.६५ प्रतिशतले घट्यो।
यसैगरी जलविद्युत् ०.९७‚ लगानी ०.६२‚ जीवन बिमा ०.४९‚ उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशतले बढेको छ। यस्तै लघुवित्त समूह भने ०.०१ प्रतिशतले घट्दा म्युचुअल फन्डको सूचक ०.२१ प्रतिशतले बढ्यो।

नेप्सेमा बिहीबार निर्जीवन बिमा समूह ०.१४‚ अन्य समूह ०.२६ र व्यापार समूहको सूचक ०.०९ प्रतिशतले ओरालो लाग्यो।
नेप्सेमा बिहीबार १३९ कम्पनीको मूल्य बढ्दा ११५ कम्पनीको घट्यो। ६ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
दिनभर उतारचढाव भइरहेको नेप्सेमा बिहीबार सबैभन्दा धेरै मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए। मध्य भोटेकोसीको अन्तिम कारोबार मूल्य ३१३ रुपैयाँ कायम रह्यो।
यस्तै सबैभन्दा बढी कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ७.५९ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ९०१ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै कारोबार हुनेमा ङादी ग्रुप पावर लिमिटेड रह्यो। बिहीबार यसको ७० करोड ५३ लाख २९ हजार ८६ रुपैयाँको कारोबार भएको छ। रिडीको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ कायम रह्यो।