काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले पूर्वी नेपालको भ्रमण गरिन्।

दुईदिने भ्रमणका क्रममा उनले आज (शुक्रबार) ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरुसँग अन्तर्क्रिया गरिन्।

बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनपछि प्रधानमन्त्री कार्कीले त्यहाँ भेला भएका स्थानीय तथा विभिन्त्र क्षेत्रका दर्शनार्थीसँग अन्तर्क्रिया गरिन्। अन्तर्क्रियाका क्रममा उनले भनिन्‚ “म यहाँ चुनाव सफल होस् भन्नका लागि आएकी हुँ। तपाईँहरू सबैजना मतदान गरिदिनुहोला। चुनावलाई शान्तिपूर्ण बनाउन आ-आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोला। यसपालिको चुनाव अरू नियमितजस्तो सामान्य चुनाव होइन। यो विशेष अवस्थामा हुन लागेको चुनाव हो। यसले देशलाई निकास दिनुपर्छ। देशको भविष्य कोर्ने चुनाव हो यो।”

उनले उपस्थित सर्वसाधारणका जिज्ञासाको जवाफ दिनुका साथै समूहमा तस्बिर पनि खिचाएकी थिइन्। प्रधानमन्त्री कार्कीलाई पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष रक्की थेबे, पुजारी डिल्लीरमण पौडेललगायतले स्वागत गरेका थिए।

पाथीभराबाट आजै प्रधानमन्त्री कार्की ताप्लेजुङको सदरमुकाम फुङलिङमा सरकारी अधिकारीहरुसँग छलफल गरिन्। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपति (सशस्त्र प्रहरी नायब उपरीक्षक) प्रमोदप्रकाश पाठकलगायतले निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराए।

प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार ९० हजार ३२७ मतदाता र एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा दुई अस्थायीसहित ८२ मतदानस्थल तोकिएको छ। यीमध्ये चारवटा मतदानस्थल भौगोलिक रूपमा विकट र हिमाली क्षेत्र छन्। अहिलेसम्म मौसम सामान्य रहेको र खासै प्रतिकूलता नरहेको भए पनि हिमपात भएमा मतदानका लागि कर्मचारी आवतजावत गर्न कठिन हुन सक्ने उनको भनाइ थियो। साथै मतपेटिका हेलिकोप्टरबाट ओसार्ने व्यवस्थाका लागि उनले अनुरोध पनि गरेका थिए।

अहिलेसम्म सुरक्षा अवस्था सामान्य रहेको, कुनै अप्रिय घटना नभएको र चारवटै सुरक्षा निकायबीच चुस्त समन्वय रहेका कारण आगामी दिनमा अझै सहज ढंगले निर्वाचन गतिविधि सम्पन्न गर्न सकिनेमा आफूहरू ढुक्क रहेको पनि उनले बताएका थिए।

छलफलको समापनमा प्रधानमन्त्री कार्कीले निर्वाचन शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न निर्देशन दिइन्।
‘तपाईँहरूले निर्वाचनका लागि गर्नुभएको प्रयास सह्राहनीय छ। तपाईँहरु यसरी खटेको देखेर मेरो आत्मविश्वास अझै बढेको छ‚” उनले भनिन्‚ “यो चुनाव मुलुकलाई एउटा नयाँ चरणमा रूपान्तरण गर्ने महत्त्वपूर्ण कोसेढुंगा हो। राष्ट्रको जीवनमा दीर्घकालीन प्रभाव पार्ने भएकाले त्यही प्रकारको गम्भीरता र जिम्मेवारीबोध हामी सबैमा हुनु जरुरी छ। त्यसैले भविष्यका लागि पनि यो चुनाव मानक बन्नुपर्छ। शान्ति, सुरक्षा, स्वच्छता, मितव्ययिता सबै कोणबाट मानक बन्ने गरी काम गरिदिनुहोस्। जसरी हुन्छ, यति गरिदिनुहोस्।’ प्रधानमन्त्री कार्की दुईदिने भ्रमण सकेर आजै (शुक्रबार) काठमाडौँ फर्किएको उनको सचिवालयले जनाएको छ।