काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

टी-२० विश्वकप

नेपालको ध्यान अब कम्तीमा एक जित निकाल्दै प्रतियोगितालाई सकारात्मक अन्त्य गर्ने

४ फाल्गुन २०८२
नेपाली क्रिकेट टोलीका सदस्य। तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। सुपर-८ को सपना बोकेर आईसीसी टी-२० विश्वकप खेल्न मुम्बई पुगेको नेपाली टोलीले त्यो पूरा गर्न सकेन। तर, समूह चरणबाटै बाहिरिनुपरे पनि टोली निराश छैन।

बरु अब नेपालको ध्यान कम्तीमा एक जित निकाल्दै प्रतियोगितालाई सकारात्मक अन्त्य गर्नेमा मोडिएको छ। मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार समूह ‘सी’ अन्तर्गत स्कटल्यान्डविरुद्ध हुने खेल नेपालका लागि प्रतिष्ठा जोगाउने सुनौलो अवसर बन्नेछ।

यो खेल औपचारिकता मात्र हो। तर, सकारात्मक सन्देश दिने अवसरका रूपमा हेरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथासले पनि स्कटल्यान्डविरुद्ध जित निकाल्दै प्रतियोगितालाई उत्साहजनक नोटमा टुंग्याउने लक्ष्य रहेको स्पष्ट पारेका छन्।

सोमबार ‘प्रि-म्याच प्रेस कन्फरेन्स’ मा आएका पोथासका अनुसार विश्वकप अनुभवबाट प्राप्त सकारात्मक पक्ष पनि आगामी खेलमा महत्त्वपूर्ण हुन्छ। “स्कटल्यान्डविरुद्ध राम्रो प्रदर्शन गरेर सकारात्मक भावना लिएर विश्वकप अन्त्य गर्न चाहन्छौँ। त्यसपछि ५० ओभरको प्रतियोगिता सुरु हुँदै छ। त्यसका लागि पनि आत्मविश्वास चाहिन्छ,” उनको बुझाइ छ।

खराब प्रदर्शनको सिकार नेपाल

तेस्रोपल्ट विश्वकप खेलिरहेको नेपालले कम्तीमा तीन जित निकाल्ने लक्ष्य बुनेको थियो। लक्ष्यभन्दा खराब प्रदर्शन गर्दा टोली तीन खेलको समाप्तिसम्म अंकविहीन बन्न पुग्यो। इटालीसँग १० विकेटले र वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको थियो।

इङ्ग्ल्यान्डविरुद्ध पहिलो खेलमा नेपाल अन्तिम बलसम्म पुगेको थियो। तर, उक्त रोमाञ्चक खेल चार रनले गुमाएपछि नेपालले दबाब झेल्न सकेन। ‘राइनोज’ उपनामले चिनिने नेपाली टोली लगभग सबै पक्षमा कमजोर देखियो। न त ब्याटरहरूले प्रभाव छोड्न सकेका छन् न बलरहरूले नै।

यो पनि…

सिक्न नसकेर हारेको नेपाल

वेस्ट इन्डिजविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक एक मात्र सकारात्मक पक्ष रह्यो। वेस्ट इन्डिजविरुद्धको आइतबार भएको नौ विकेटको हारले अर्को चरणको ढोका पनि बन्द भयो। “इङ्ल्यान्डविरुद्ध हामीले योजना राम्रोसँग कार्यान्वयन गर्‍यौँ। तर, त्यसपछि इटालीविरुद्ध योजना पालना भएन। राम्रो टोली बन्न एक खेल जित्नु मात्र पर्याप्त हुँदैन। निरन्तरता देखाउनुपर्छ,” उनले भने।

हुन त नेपाल विश्वकपमा १२ वर्षदेखि जितविहीन छ। नेपालले अन्तिम पटक २० मार्च २०१४ मा अफगानिस्तानविरुद्ध जित निकालेको थियो। उक्त खेलमा नौ रनले विजयी नेपालले त्यसयताका दुई विश्वकपम न त्यस्तो प्रदर्शन गर्न सक्यो, न त जित नै हात पार्न सक्यो।

उस्तै लक्ष्यमा स्कटल्यान्ड

नेपाल जसरी बाहिरिएको छ, त्योभन्दा पक्कै अविस्मरणीय क्षणसहित स्कटल्यान्ड बाहिरिने पक्का छ। बाङ्लादेश नआउँदा प्रतियोगितामा नाटकीय ढंगले प्रवेश गरेको स्कटल्यान्ड कम्तीमा समूह ‘सी’ बाट नेपालजस्तो अंकविहीन भएर बाहिरिनुपर्ने अवस्था छैन।

अर्कातर्फ खराब लयमा रहेको नेपालविरुद्धको खेल त खेल्नै बाँकी छ। त्यसैले स्कटल्यान्डका कप्तान रिची बेरिङ्टन मंगलबार वानखेडे रंगशालामा हुने खेललाई अधिकतम सदुपयोग गर्ने बताउँछन्।

इङ्ल्यान्डले सोमबार कोलकातामा हुने खेलमा इटालीलाई पराजित गरे ह्यारी ब्रुकको टोली वेस्ट इन्डिजसँगै सुपर एटमा पुग्नेछ। यस्तोमा स्कटल्यान्ड समूह चरणबाटै बाहिरिनेछ। यद्यपि, स्कटल्यान्डले नेपाललाई हराएको इटालीसँग सानदार प्रदर्शन गर्दै ७३ रनको विशाल जित हात पारिसकेको छ।

तस्बिर : आईसीसी

नेपालविरुद्ध स्कटल्यान्डलाई जितको आशा मात्र होइन, नेट रनरेट सुधार गर्ने अवसर पनि छ। तर, त्यसभन्दा अगाडि इटालीले इङ्ल्यान्डलाई पराजित गर्नुपर्नेछ। यदि इङ्ल्यान्डसँग इटाली पराजित भएमा पनि मंगलबार स्कटल्यान्ड जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ।

त्यसका लागि ब्याटिङ र बलिङ दुवैमा थप स्थिर प्रदर्शन आवश्यक हुने बताउँछन् बेरिङ्टन। “हाम्रो लक्ष्य हरेक खेल जित्नु हो। उत्कृष्ट टोलीसँग खेल्दा चुनौती हुन्छ, दुवै पक्षमा राम्रो गर्नुपर्ने हुन्छ। नेपाल बलियो टोली हो, त्यसैले हल्का रूपमा लिने छैनौँ,” उनी भन्छन्।

स्तर समान

एकदिवसीय फर्म्याटमा यी दुई टोली १० पल्ट भिडिसकेका छन्। क्रिकेटकै छोटो मानिने टी-२० आई फर्म्याटमा भने यी दुई टोली तेस्रोपल्ट प्रतिस्पर्धा गर्न लागेका हुन्।

यसअघि यी दुई टोली २० जुन २०२५ मा भिडेका थिए। स्कटल्यान्डकै घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजका दुईमध्ये पहिलो खेलमा नेपालले दुई विकेटको जित निकालेको थियो।

उक्त खेलमा सन्दीप लामिछानले चार ओभरमा एक मेडनसहित ११ रन खर्चिंदै चार विकेट लिएपछि स्कटल्यान्ड ९७ रनमै अलआउट भएको थियो। यो टी-२० आईमा स्कटल्यान्डले बनाएको सबैभन्दा सातौँ कम स्कोर थियो।

उक्त खेल जित्न नेपालले अन्तिम बलसम्म पर्खिनुपर्‍यो। ओपनर कुशल भुर्तेलले बनाएको ३० रन नै नेपाली टोलीकै उच्च रह्यो। अर्को खेलमा भने स्कटल्यान्डले सुधारिएको प्रदर्शन गर्दै नेपालविरुद्ध १९३ रन बनाएको थियो। यद्यपि, नेपालको ब्याटिङ अर्डर नै ‘कोल्याप्स’ हुँदा नेपाल १५९ रनमै समेटिन पुगेको थियो।

उक्त खेलमा २२ बलमा एक चौका र तीन छक्कासहित ४३ रन प्रहार गरेका रूपेश सिंह भने नेपालीमा टोलीमा छैनन्। तर, नेपालविरुद्ध उत्कृष्ट खेलेका जर्ज मुन्से, ब्रान्डन म्याकमुलन र माइकल लिस्कलगायत  स्कटिस खेलाडीले भने विश्वकप खेलिरहेका छन्। त्यसैले मंगलबारको तेस्रो भिडन्त विश्वकपको अन्तिम खेल भए पनि रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ।