काठमाडौँ
००:००:००
६ फाल्गुन २०८२, बुधबार

६ फाल्गुन २०८२
रास्वपाले धनगढीमा गरेको सभामा सभापति रवि लामिछानेसहित बालेन्द्र शाहलगायत नेताहरू। तस्बिर : रास्वपाको मिडिया सचिवालय
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का नेता बालेन्द्र (बालेन) शाहले सुदूरपश्चिममा आफूहरू भोट माग्न नभई काम माग्न आएको बताएका छन्।

धनगढीमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता शाहले रास्वपा भोट माग्न नभई काम माग्न आएको र भोट नदिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमको विकास गर्ने बताएका हुन्।

“राष्ट्रिय स्वतन्त्र पार्टी तपाईंहरूसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुस् है‚” उनले भने, “तपाईंहरूले भोट दिनुभएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो के-के छ तपाईंहरूको काम हाम्रो उमेदवारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनुस्।”

शाहले भोट नदिए पनि कामको लिस्ट दिन मतदाताहरुसँग आग्रह गरे।

सुदूरपश्चिमको सपना पूरा गर्ने ऐतिहासिक दायित्व रास्वपाले लिने बताउँदै शाहले विपन्न र गरिब नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचारलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको दाबी गरे।

उनले सुदूरपश्चिम प्रदेशको चौतर्फी विकास र सांस्कृतिक एकीकरणलाई पार्टीको मुख्य राजनीतिक एजेन्डा बनाउने घोषणा गरेको उल्लेख गरे।

विकासमा दलगत भेदभाव नगरी कांग्रेस, एमाले र माओवादीलगायत सबै दलका समर्थक र आमनेपाली जनता हिँड्ने बाटो निर्माण गर्ने प्रतिबद्धता व्यक्त्त गरे। सुदूरपश्चिमको पर्यटन र प्राकृतिक सम्पदाको प्रवर्द्धनमा जोड दिँदै उनले बडिमालिका, रामारोशन र खप्तडजस्ता क्षेत्रको महत्त्वमा ध्यान दिनुपर्ने बताए।