कृषि
पानीको संकट समाधान चुनावी मुद्दा नबनेकामा स्थानीय रुष्ट
काभ्रेको पाँचखाल नगरपालिका- ११ स्थित शिखर कटेरीका सप्तमाया तामाङ र कुमार तामाङले बल छउन्जेल ज्यालादारी काम गरे। त्यसरी ज्यान घोटेर गरेको कमाइबाट छोराछोरी बढाए, पढाए। २०७२ सालको भूकम्पले ढालेको घर उठाए।
५० वर्षको हाराहारीमा पुगेका तामाङ दम्पती अचेल भने आयआर्जनका लागि व्यावसायिक तरकारी खेती गर्न थालेका छन्। तर, सिँचाइ सुविधा नहुँदा उनीहरूले राम्ररी तरकारी फलाउनै सकेका छैनन्। तरकारी खेतीको लगानीसमेत उठ्न गाह्रो पर्ने गरेको उनीहरूको दुखेसो छ। गएको २८ माघमा हुस्सुले ढाकेको बिहान घरैमा भेटिएका तामाङ दम्पतीले सिँचाइ नहुँदाको किसानी दु:ख सुनाए।
यस वर्ष उनीहरूले घरमुनिको बारीमा १२ हजार रुपैयाँ खर्च गरेर अकबरे खेती गरे। तर, खेती सप्रिएन। अकबरे बेचेर चार हजार ५०० रुपैयाँ मात्रै कमाइ भयो। दुई वटा टनेल, बिरुवा र मलमा गरी ३५ हजार रुपैयाँ खर्चेर गोलभेँडा रोपेका थिए। यसमा पनि अकबरेकै हालत भयो। टमाटर बेचेर सात हजार रुपैयाँ मात्रै हातमा पर्यो। “लगानी समेत उठ्दैन, प्रशस्त सिँचाइ सुविधा भएको भए राम्रै फलाइन्थ्यो होला,” कुमार भन्छन्। गाउँमुनिको झिगु खोला र पारि सुनकोसीतिर देखाउँदै भन्छन्, “खोलाको त्यत्रो पानी खेर गइरहेको छ, ल्याउन पाए त सय बोरा आलु फलाइन्थ्यो होला।”

शिखर कटेरीकी सप्तमाया तामाङ र उनका श्रीमान् कुमार तामाङ। तस्बिर : विद्या राई
काठमाडौँबाट अरनिको राजमार्ग हुँदै करिब ४५ किलोमिटर यात्रा गरेपछि आइपुग्छ, शिखर कटेरी। ६० घरजतिको यस गाउँका स्थानीयको जीविकाको आधार भनेकै जिजुबाजे पालादेखिको खेतीकिसानी छ। खोलाखेत (बेसीमा धान खेती) हुनेलाई जसोतसो वर्षभरि खान पुग्छ। पाखोबारी मात्रै भएका परिवारलाई अकासेपानीको भरमा फल्ने एक बाली मकै र कोदोले ६ महिना पुर्याउन धौधौ पर्छ। बाँकी ६ महिना अन्न बेसाउने पैसा कमाउन गिटी-बालुवा ओसार्ने, घर, पुल, सडक बनाउने ज्यालादारी काम गर्नुपर्छ।
तामाङ दम्पतीको झैँ पाँचखालवासीको जीविकाको आधार कृषि पेसा हो। पाँचखाल नगरपालिका पार्श्वचित्र, २०८० को अभिलेखअनुसार नगरपालिकाको कुल क्षेत्रफल १०२.९३ वर्ग किमिमध्ये ५४.३५ प्रतिशत खेतीयोग्य जमिन छ। उक्त खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याई वैज्ञानिक पद्धतिमा आधारित उत्पादन बढाउन सके खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने पार्श्वचित्रमा उल्लेख छ। तर, नगरपालिकाका सबै क्षेत्रमा सिँचाइ सुविधा छैन।
खेती गरेरै जीविका चलाउँछु भन्ने अठोट लिएका पाँचखाल नगरपालिका कार्यालयदेखि करिब नौ किमि दूरीमा रहेको यस गाउँका किसान परिवारलाई न्यूनतम सिँचाइ सुविधा छैन।
सिँचाइ सुविधाका लागि तामाङ दम्पतीले स्थानीय जनप्रतिनिधिसमक्ष बेलाबेला गुनासो नपोखेका होइनन्। दुई वर्षअघि डेढ क्वायल पाइप पाएका थिए। तर, बालुवाको लेदो पसेर टिकेन। एक महिनाअघि शिखर कटेरीमा सुनकोसी खानेपानी आयोजनाको पानी पुर्याइए पनि धारामा नियमित पानी आउँदैन।
सिँचाइ प्रणाली नभए पनि उनीहरूले तरकारी खेतीमा हार मानेका छैनन्। बारीमा रायो, चम्सुर, प्याज, लसुनजस्ता विभिन्न प्रकारका तरकारी रोपेका छन्। घरनजिकै प्लास्टिकको पोखरी बनाएर धाराको पानी जमाउन थालेका छन्। आक्कलझुक्कल धारामा खस्ने पानी संकलन गरेर सिँचाइ गर्न उनीहरूले यो जुक्ति लगाएका हुन्।

सप्तमाया र कुमार तामाङ दम्पतीले बनाएको प्लास्टिक-पोखरी। तस्बिर : विद्या राई
हिउँदे हुस्सुले ढाकेको पाँचखाल उघ्रिँदै थियो, सप्तमायाकी माथिल्लो घरे छिमेकी सुदिना तामाङ बारीबाट भैँसीलाई ढोड (मकैको सुकेको बोट) लिएर आइपुगिन्। पाखोबारीको उब्जनीले उनको परिवारलाई ६ महिना मुस्किलले खान पुग्छ। बाँकी महिना अन्न किनेरै छाक टार्नुपर्छ। दुई छोराछोरी गाउँकै विद्यालयमा पढिरहेका छन्।
सुदिनाका श्रीमान् रोजगारीका लागि दुई वर्षदेखि ग्रिसमा छन्। विदेश जानुअघि उनले घर बनाउने काम गरेर घर खर्च धान्दै आएका थिए। “२०७२ सालको भूकम्पले भत्काएको घर बनाउनुपर्यो, त्यसमाथि म बिरामी भएर उपचारका लागि ऋण काढ्नुपर्यो, त्यही उकास्न रोजगारीका लागि विदेश जानुभएको हो,” सुदिना भन्छिन्।
घरव्यवहार र मेलापातको जिम्मा सुदिनाकै काँधमा छ। घरबाट आधा घण्टा ओरालो झरेर दूध संकलन केन्द्रमा दूध पुर्याउँछिन्। त्यसको आम्दानीबाट नुन-तेल किन्छिन्। दिन बिराएर पानी आउने धारा दुई गाग्रो नभरिँदै बन्द हुन्छ।
पुरानो धाराको खानेपानी पर्याप्त नभएपछि एक महिनाअघि सुनकोसी खानेपानी आयोजनाको धारा जडान गरिएको छ। यसमा पनि नियमित पानी आउँदैन। बरु धाराको मासिक महसुल मात्रै थपिइरहेको छ। पुरानो धाराको मासिक महसुल ३५० रुपैयाँ छ। नयाँ धाराको मासिक महसुल ४५० रुपैयाँका दरले उठाइने हल्ला सुनेकी छन्। “आम्दानी छैन, आम्दानी गर्न पाखाबारीमा खेती गरूँ न भन्दा प्रशस्त पानी छैन,” उनी भन्छिन्।
काभ्रेमा खानेपानी र सिँचाइ समस्या गहिरिँदै गए पनि आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारले यसलाई आफ्नो अजेन्डामा राखेका छैनन्। भोट माग्न मात्रै गाउँ छिर्ने उम्मेदवारसँग शिखर कटेरीका स्थानीय रुष्ट छन्।
खेती गरेरै जीविका चलाउँछु भन्ने अठोट लिएका पाँचखाल नगरपालिका कार्यालयदेखि करिब नौ किमि दूरीमा रहेको यस गाउँका किसान परिवारलाई न्यूनतम सिँचाइ सुविधा छैन। यस क्षेत्रमा पानीको समस्या बर्सेनि बढिरहेको छ। खडेरीका कारण पाँचखालसहित काभ्रे जिल्लाभर खानेपानीको मुहान सुक्ने क्रम बढेको गत पुसमा रिसर्चगेटमा प्रकाशित अन्जु पण्डित, सिर्जन थापासहितका पाँच लेखकको अनुसन्धानात्मक लेख ‘कम्युनिटी ड्रिभन एसेसमेन्ट अफ स्प्रिङ्स एन्ड पन्ड्स : स्टेटस, डिपेन्डेन्सी एन्ड युटिलाइजेसन इन काभ्रे डिस्ट्रिक्ट, सेन्ट्रल नेपाल’ मा उल्लेख छ। जिल्लाभरका पाँच हजार १६८ वटा पानीका मुहान र ५२१ वटा पोखरीको नक्सांकन गरेर तयार पारिएको उक्त लेखअनुसार काभ्रेमा करिब २७ प्रतिशत पानीका मुहान र पोखरी सुकिसकेको, एक दशकयता करिब ५८ प्रतिशत सक्रिय मुहानमा पानीको मात्रा क्रमशः घटिरहेको छ।
काभ्रेमा खानेपानी र सिँचाइ समस्या गहिरिँदै गए पनि आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारले यसलाई आफ्नो अजेन्डामा राखेका छैनन्। भोट माग्न मात्रै गाउँ छिर्ने उम्मेदवारसँग शिखर कटेरीका स्थानीय रुष्ट छन्। यहाँ पानीको समस्या पहिलेदेखिकै भए पनि आफूले हालेको भोटले जितेर गएका नेता किसानको मर्का बुझ्न फर्केरै नआउने गरेको कुमार बताउँछन्। “अब त भोट पनि के दिनु, कुर्सीमा पुगेपछि फर्केर आउँदैनन्, नेताजति सबै स्वार्थी हुन्,” उनी भन्छन्।
सुदिनाले पनि भोट नहाल्ने सोच बनाएकी छन्। “जसले जितेर गए पनि केही परेको खण्डमा सबै आफैँले बेहोर्नुपर्छ,” उनी भन्छिन्, “हामी जनतालाई यसै दु:ख, उसै दु:ख, घरै बस्छु यसपाल।”
काभ्रेमा दुई वटा निर्वाचन क्षेत्र छन्। दुवै क्षेत्रमा गरेर कुल मतदाता तीन लाख २६ हजार ६११ छन्। पाँचखाल नगरपालिका क्षेत्र नम्बर २ मा पर्छ।