काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

भूकम्प

ठूलो भूकम्प नगएको लामो अन्तराल भएकाले भूकम्पीय जोखिम उच्च रहेको प्रचलित मान्यता र तथ्यको खण्डन

१० फाल्गुन २०८२
रारा तालबाट थिग्र्यान निकाल्दै वैज्ञानिकहरू। तस्बिर : गाजोउई स्चोस
अ+
अ-

१७ कातिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिकाको रिमिडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गयो। १५७ जनाको मृत्यु भयो, ३७५ जना घाइते भए। २६ हजार ५२८ घर पूर्ण रूपमा भत्किएका थिए।

त्यसअघि पश्चिम नेपालमा यस्तै मध्यम खालको भूकम्प २०३७ सालमा गएको थियो। १६ साउन २०३७ मा बझाङलाई केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ४६ जनाको ज्यान गएको थियो।

पश्चिम नेपालमा बेलाबेला साना र मध्यम प्रकृतिका भूकम्प जाने गरे पनि तिनले त्यस क्षेत्रमा महाभूकम्पको जोखिमलाई कम गर्न नसकेको दाबी वैज्ञानिकहरूले गर्दै आएका छन्। उनीहरूले नेपालको पूर्वी र मध्य भागमा समय समयमा ठूला भूकम्प गएको तर पश्चिम नेपालमा लामो समयदेखि नगएकाले महाभूकम्प जान सक्ने बताउँदै आएका छन्। यसरी दाबी गर्नेहरूले पूर्वी र मध्य नेपालमा करिब १०० वर्षको अन्तरालमा ठूला भूकम्प गए पनि पश्चिम नेपालमा यस्तो भूकम्प नगएको ५०० वर्ष भइसकेकाले भूकम्पीय जोखिम उच्च रहेको बताएका थिए।

सेस्मिक ग्याप भन्नाले लामो समयदेखि ठूलो भूकम्प नगएको त्यो क्षेत्र हो, जुन ठूला भूकम्प निरन्तर गइरहेका क्षेत्रको बीचमा अवस्थित हुन्छ।

सामान्यतया ६.५ म्याग्निच्युडभन्दा बढी तीव्रता भएको भूकम्पलाई ठूलो र आठ म्याग्निच्युडदेखि माथिकोलाई महाभूकम्प भनिन्छ।

विगतका अध्ययनले पश्चिम नेपालमा पछिल्लो पटक महाभूकम्प ६ जुन १५०५ मा गएको देखाएको थियो। त्यसबेला मुस्ताङलाई केन्द्रबिन्दु बनाएर ८.४ देखि ८.८ म्याग्निच्युडसम्मको विनाशकारी भूकम्प गएको विभिन्न अध्ययनले पुष्टि गरेका छन्।

त्यसयता पश्चिम नेपालमा महाभूकम्प गएको वैज्ञानिकहरूले पत्ता लगाउन सकेका थिएनन्। त्यसैले ठूलो भूकम्प नगएको ५०० वर्ष भइसकेका कारण त्यस क्षेत्रमा आठ वा सोभन्दा बढी म्याग्निच्युडको भूकम्प आउन बाँकी रहेको उनीहरूले बताउने गरेका छन्। वैज्ञानिकहरूले पश्चिम नेपाल (काठमाडौँदेखि पश्चिम भारत देहरादुनसम्म)मा लामो ‘सेस्मिक ग्याप’ रहेको बताउँदै आएका थिए। पूर्वी र मध्य नेपालको तुलनामा पश्चिम नेपालमा यस्तो ग्याप लामो भएको बताउँदै आएका थिए। सेस्मिक ग्याप भन्नाले लामो समयदेखि ठूलो भूकम्प नगएको त्यो क्षेत्र हो, जुन ठूला भूकम्प निरन्तर गइरहेका क्षेत्रको बीचमा अवस्थित हुन्छ।

राराको किनारमा नमुना संकलनको तयारी। तस्बिर : गाजोउई स्चोस

तर, नयाँ अनुसन्धानले पश्चिम नेपाल र हिमाली क्षेत्रमा भूकम्पबारेका प्रचलित तथ्य र अवधारणालाई नै चुनौती दिएको छ।

नयाँ तथ्य र अवधारणा

बेलायतको सरकारी अनुसन्धान संस्था ब्रिटिस अन्टार्कटिक सर्भे (बीएएस)का वैज्ञानिक जकारिया गाजोउई नेतृत्वको वैज्ञानिकहरूको टोलीले गरेको अनुसन्धानले पश्चिम नेपालमा ठूलो भूकम्प आउन बाँकी छ भन्ने धारणा भ्रमपूर्ण भएको दाबी गरेको छ। यससम्बन्धी अनुसन्धानात्मक लेख गत ११ फेब्रुअरीमा एड्भान्स साइन्स जर्नलमा प्रकाशित छ। टोलीले सेप्टेम्बर २०१४ देखि अध्ययनको सुरुआत गरेको थियो। जसको पेपर २०२५ मा प्रकाशन भएको थियो। यो परियोजना त्रिभुवन विश्वविद्यालय र नेपाल माउन्टेन एकेडेमीसँगको सहकार्यमा जारी छ, जसमा प्राध्यापकद्वय अनन्तप्रसाद गजुरेल र टंकप्रसाद पौडेल संलग्न छन् ।

अनुसन्धानका क्रममा यस टोलीले मुगुमा अवस्थित रारा तालको पिँधमा जम्मा भएको ‘सेडिमेन्ट कोर’ (लेदो र बलौटे माटो)को परीक्षण गरेको थियो। यस क्षेत्रमा ६ हजार ५२७ वर्षको अवधिमा ६.५ म्याग्निच्युडभन्दा माथिका ५० वटा भूकम्प गएको अध्ययनले देखाएको छ। अध्ययनका अनुसार यी भूकम्प निश्चित लामो समयको अन्तरालमा नभई छोटो समयकै अन्तरालमा समूहगत रूपमा अर्थात् लगालग गएका थिए।

नयाँ अनुसन्धानले कुनै पनि क्षेत्रमा ससाना भूकम्प जाँदैमा त्यहाँ ठूलो भूकम्पको जोखिम कम नहुने पनि उल्लेख गरेको छ। जबकि, विगतमा वैज्ञानिकहरूले साना र मध्यम प्रकारका भूकम्पहरूले भूगर्भको ऊर्जा निष्कासन गर्ने भएकाले ठूलो भूकम्पको जोखिम टरेर जाने बताउँदै आएका थिए।

इसापूर्व ४५०९ देखि सन् २०१८ सम्मको विस्तृत भौगर्भिक र आधुनिक तथ्यांकलाई समेटेर पश्चिम नेपालको भूकम्पीय प्रकृतिको विश्लेषण गर्दा यो तथ्य उजागर भएको हो।

नयाँ अनुसन्धानले हिमाली क्षेत्रमा सिस्मेक ग्यापसम्बन्धी अवधारणालाई चुनौती दिएको छ। भूकम्पीय घटनाको नयाँ तथ्यले ६ जुन १५०५ पछि पश्चिम नेपालमा ठूला भूकम्प नगएको भन्ने हालसम्मको निचोडलाई नै खण्डन गरिदिएको छ। गाजोउई नेतृत्वको टोलीको अनुसन्धानअनुसार त्यसपछि पनि त्यस क्षेत्रमा ६ वटा ठूला भूकम्प गइसकेको पत्ता लगाएको छ। सन् १६३२, १६९६, १७३१, १७६१ र १९०२ मा ठूला भूकम्प गएको देखिएको हो। भूकम्पका यी घटनाले पनि ठूला भूकम्प एक सय वा डेढ सय वर्षको अन्तरालमा जान्छ भन्ने निश्चित समयतालिका नहुने दृष्टान्त दिन्छ।

 गाजोउई स्चोस र अन्य।

गाजोउई नेतृत्वको टोलीले ठूला भूकम्प निश्चित समयको अन्तरालमा नभई जुनसुकै समयमा जान सक्ने उल्लेख गरेको छ। अर्कातिर, दुई वटा ठूला भूकम्पको बीचमा लामो समय कुनै भूकम्पीय गतिविधि नहुने ‘शान्तकाल’ रहने पनि नयाँ अध्ययनले देखाएको छ। पश्चिम नेपालमा ६ हजार ५०० वर्षमा गएका ६.५ म्याग्निच्युडदेखि माथिका ५० वटा ठूला भूकम्पका घटना हेर्दा पनि १२ वटा ‘क्लस्टर’ मा समूहगत रूपमा छोटो समयकै अन्तरालमा छिटोछिटो भूकम्प गएर बीचबीचमा लामो अवधि शान्तकाल रहेको देखिन्छ। त्यस्तो शान्तकाल १७३ वर्षदेखि ७२२ वर्षसम्मको रहेको अनुसन्धानले देखाएको छ।

यस तथ्यले ठूलो भूकम्प जाने निश्चित अन्तराल नहुने र लामो समय ठूलो भूकम्प नजाँदैमा अब महाभूकम्प नै जान्छ भन्ने निश्चितता नहुने निष्कर्ष सतहमा ल्याएको छ। “लामो समय ठूला भूकम्प नगएको अवस्थालाई अर्को ठूलो भूकम्प आउने निश्चितता वा काउन्टडाउन मान्न सकिँदैन,” नेपालन्युजसँगको इमेल कुराकानीमा गाजोउईले लेखेका छन्।

गाजोउईका अनुसार ठूलो भूकम्प आउन बाँकी रहेको भन्ने कुराले जनमानसदा मा भ्रमसँगै त्रास पैदा गर्छ।

गाजोउईले पश्चिम नेपालमा ‘सेस्मिक ग्याप’ छ भन्ने धारणालाई ‘नलेज ग्याप’ अर्थात् ज्ञानको अभाव भनेका छन्।

नयाँ अनुसन्धानले कुनै पनि क्षेत्रमा ससाना भूकम्प जाँदैमा त्यहाँ ठूलो भूकम्पको जोखिम कम नहुने पनि उल्लेख गरेको छ। जबकि, विगतमा वैज्ञानिकहरूले साना र मध्यम प्रकारका भूकम्पहरूले भूगर्भको ऊर्जा निष्कासन गर्ने भएकाले ठूलो भूकम्पको जोखिम टरेर जाने बताउँदै आएका थिए।

भूकम्प मापनको दृष्टिले ६ म्याग्निच्युडको भूकम्पले जति ऊर्जा रिलिज गर्छ, त्यति ऊर्जा निकाल्न पाँच म्याग्निच्युडका ३२ वटा र सात म्याग्निच्युड बराबरको ऊर्जा रिलिज गर्न पाँच म्याग्निच्युडका एक हजारवटा भूकम्प जानुपर्छ। यसैका आधारमा विगतमा अनुसन्धाताहरूले साना र मध्यम खालका भूकम्प गइरहे ठूला र महाभूकम्पको जोखिम कम हुने बुझाइ बनाएका थिए। “मध्यम खालका भूकम्प जाँदा त्यसले भौगर्भिक चाप कम गर्‍यो भन्ने अवधारणा भ्रामक र गलत हो,” गाजोउई भन्छन्।

अध्ययनका लागि उपकरण लाँदै गरेका अनुसन्धाताहरू। तस्बिर : गाजोउई स्चोस

नयाँ अध्ययनले हिमाली क्षेत्रमा भूकम्पबारे प्रचलित केही मान्यतालाई नकार्ने त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र विभागका सहप्राध्यापक सुवेद ढकाल बताउँछन्। “काठमाडौँबाट पश्चिम र भारतको उत्तर-पश्चिम क्षेत्रमा ठूलो भूकम्प जान्छ भनिँदै आएको छ, हिमालय क्षेत्रमा निश्चित अवधिमा महाभूकम्प फर्कन्छन् भन्ने मान्यतालाई यसले नकार्छ,” ढकाल भन्छन्।

गाजोउई नेतृत्वको टोलीको अनुसन्धानले ठूलो भूकम्पको समयतालिका नहुने निष्कर्ष निकाले पनि पश्चिम नेपाल भूकम्पको जोखिममा छैन भन्ने होइन। यथार्थ के हो भने, भूकम्प पूर्वानुमान गर्न नसकिने घटना हो र ठूलो भूकम्प पनि सानो भूकम्पजस्तै आकस्मिक र अनिश्चित प्रकृतिको हुन्छ। अर्थात्, सानोजस्तै ठूलो भूकम्प पनि जुनसुकै समयमा आउँछ।

गाजोउईका अनुसार ठूलो भूकम्प आउन बाँकी रहेको भन्ने कुराले जनमानसदा मा भ्रमसँगै त्रास पैदा गर्छ। “यसले एकातिर समाजमा त्रास फैलाउँछ, अर्कातिर निश्चित समयमा भूकम्प जान्छ भन्ने मान्यता रहँदा मानिसहरूलाई त्यसबीचमा ढुक्कसँगै लापरवाह बनाउँछ,” उनी भन्छन्।

पूर्वी र मध्य नेपालजस्तै सक्रिय

पश्चिम नेपालमा सन् १५०५ पछि पनि ६ वटा ठूला भूकम्प गएको नयाँ तथ्यले पश्चिम नेपाल पनि पूर्वी र मध्य नेपालजस्तै भूकम्पीय रूपमा सक्रिय रहेको देखाएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का भूकम्प वैज्ञानिक शिव सुवेदी बताउँछन्। भन्छन्, “गाजोउई नेतृत्वको टोलीको अनुसन्धानले पूर्वी नेपालमा जस्तै पश्चिम नेपालमा पनि भूकम्पीय गतिविधिहरू उत्तिकै सक्रिय छन् भन्ने तथ्य सतहमा ल्याइदिएको छ, जुन यसअघि थाहा थिएन।”

पूर्वी नेपालमा सन् १८३३ मा सात म्याग्निच्युड र १९३४ मा नेपाल र बिहारको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाई आठ म्याग्निच्युडभन्दा ठूला भूकम्प गएका थिए। मध्य नेपालमा सन् २०१५ (१२ वैशाख २०७२) मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

१७ कात्तिक २०८० मा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्‍याएको क्षति। तस्बिर : रासस

नेपालको हिमाली क्षेत्र भूकम्पको दृष्टिले उच्च जोखिम क्षेत्रमा पर्छ। इन्डियन प्लेट र युरोएसिया प्लेटको टकरावका कारण यस क्षेत्रमा ठूलो फल्टलाइन (दुई वटा प्लेट जोडिने ठाउँ) निर्माण भएको छ। इन्डियन प्लेट हरेक वर्ष पाँच सेन्टिमिटर युरोएसिया प्लेटभित्र प्रवेश गर्छ। त्यसले अग्ला हिमाल बनाउन मात्रै नभएर तिब्बती पठारको विस्तारमा पनि भूमिका खेलेको छ। यो भौगर्भिक दबाबको पाँच सेन्टिमिटरमध्ये तीन सेन्टिमिटर तिब्बती पठारको विस्तार र हिमालको उचाइमा प्रयोग हुन्छ, बाँकी दुई सेन्टिमिटरको ऊर्जा पृथ्वीभित्रै सञ्चित भएर बस्ने र यही नै बेलाबेला भूकम्पका रूपमा बाहिरिने गरेको भूगर्भविद्हरू बताउँछन्।

अध्ययनको आधार

ब्रिटिस अन्टार्कटिक सर्भेका वैज्ञानिकहरूले रारा तालको पिँधमा दुई ठाउँमा १२० र १६८ मिटर गहिराइबाट ‘सेडिमेन्ट कोर’ निकालेर अध्ययन गरेका हुन्। यसमा सबैभन्दा पुरानो इसापूर्व ४५०९ देखि सबैभन्दा नयाँ सन् १९०२ सम्मको भूकम्पको घटना रेकर्ड गरिएको छ।

भूकम्प जाँदा तालको पिँधमा हलचल हुन्छ र पहिरो जान्छ। तालका भित्ताहरूबाट माटो र बालुवा तालभित्र खसेर तह बन्दै जान्छ। यस्तो तहलाई ‘टर्बिडाइट्स’ भनिन्छ। जुन प्राकृतिक रूपमा बन्ने तहभन्दा फरक प्रकृतिको हुन्छ। रारा तालमा टर्बिडाइट्सकै अध्ययनबाट त्यस क्षेत्रमा कहिले कति ठूलो भूकम्प गएको थियो भन्ने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका हुन्। अध्ययनमा रारामा ५० वटा तहको पहिचान गरेर उनीहरूले त्यति संख्याका ठूला भूकम्प गएको निष्कर्ष निकालेका हुन्।

सेडिमेन्ट कोरलाई प्रयोगशालामा लगेर रासायनिक विश्लेषण गरिएको थियो। भूकम्प गएको समय पत्ता लगाउन रेडियो कार्बन डेटिङ विधिको प्रयोग गरिएको थियो। काठको टुक्रा, कोइला वा बिरुवाका अवशेषलगायत जैविक वस्तु कति पुराना हुन् भनेर पत्ता लगाउन उक्त विधि प्रयोग गरिन्छ।