काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

प्रतिनिधिसभा निर्वाचन 

तेस्रो पटक जित्ने घोषणा गरेका रास्वपा सभापति लामिछानेलाई कांग्रेसकी मीनाकुमारी खरेलको चुनौती

११ फाल्गुन २०८२
चितवनमा चुनावी प्रचारमा रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेल। तस्बिर : लामिछाने र खरेलको सामाजिक सञ्जाल
अ+
अ-

२१ फागुनको प्रतिनिधिसभा चुनावमा चितवन जिल्ला विशेष चर्चामा छ। चितवनका अरू क्षेत्रभन्दा २ नम्बर क्षेत्रलाई सबैले चासोका साथ हेरेका छन्। त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तेस्रो पटक उम्मेदवार बनेका छन् भने उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले चुनौती दिएकी छन्।

लामिछानेले चितवन २ बाट तेस्रो पटक पनि जित्ने दाबी गरेका छन्। तर, खरेल पनि बलियो उम्मेदवार हुन्। खरेलको चुनावी अभियानले धेरैको ध्यान खिचेको छ।

यस क्षेत्रमा गाउँ-सहर मात्र छैनन्, मधेस र पहाडी समुदायको मिश्रित बसोबास पनि छ। भरतपुर महानगरका १० वटा वडाहरू १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ यही क्षेत्रमा पर्छन् भने चितवनका इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका सबै वडा यही क्षेत्रमा समेटिएका छन्। भरतपुर महानगरको वडा नम्बर २९ र इच्छाकामना गाउँपालिकाको अधिकांश भूभाग पहाडी क्षेत्र हो। त्यसैले यस क्षेत्रमा भरतपुर महानगरको प्रमुख सहरी क्षेत्रसँगै ग्रामीण इलाका पनि छ।

यहाँ कुन दलको प्रभाव कस्तो छ भन्ने थाहा पाउन अघिल्ला चुनावको नतिजा केलाउन जरुरी हुन्छ। २०७९ सालको स्थानीय चुनावमा भरतपुर महानगरको मेयरमा तत्कालीन नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल निर्वाचित भएकी थिइन् भने उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी चुनिएका थिए। भरतपुर महानगरका १, २, ४, ५, १० र २९ न‌ं. वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए भने ३, ११ र १२ मा एमाले उम्मेदवार विजयी भएका थिए। वडा नम्बर ७ मा चाहिँ तत्कालीन नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चुनिएका थिए। त्यस्तै, इच्छाकामना गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष र कालिका नगरपालिकाका मेयर-उपमेयर एमालेले जितेको थियो।

चुनावी अभियानमा रास्वपा सभापति रवि लामिछाने। तस्बिर : लामिछानेको फेसबुक पेज

चितवनका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मतदाता यही क्षेत्रमा छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार चितवन २ मा एक लाख ३७ हजार १५२ मतदाता छन्। यीमध्ये ६७ हजार ८५७ पुरुष, ६० हजार २९४ महिला र एक जना तेस्रोलिंगी छन्। यस क्षेत्रमा २१ फागुनको प्रतिनिधिसभा चुनावका लागि ४८ मतदानस्थल र १५२ मतदान केन्द्र तोकिएका छन्।

स्थानीय चुनावमा पुराना दलको वर्चस्व रहे पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने रास्वपा सभापति लामिछाने अत्यधिक मतले निर्वाचित भएका थिए। त्यसको एक वर्षपछि भएको उपनिर्वाचनमा पनि मतान्तर बढाएर लामिछाने नै सांसद बनेका थिए। रास्वपा सभापति लामिछानेले फेरि निर्वाचित हुने आकांक्षाले यसपालि पनि चितवन २ नै रोजेका छन्।

२०७९ सालको चुनावमा रवि लामिछाने सांसद बनेपछि उनको नागरिकता विवाद सार्वजनिक भयो। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यको पद खारेज गरिदियो।

चितवनलाई रास्वपाको नीलो क्रान्तिको उद्गमस्थल र आधारभूमि नै मान्दै आएका लामिछानेले २०७९ सालको निर्वाचनमा  ४९ हजार ३०० मतले ल्याएका थिए। लामिछानेका प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत मात्रै पाएका थिए भने तेस्रो स्थान हासिल गरेका एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत हासिल गरेका थिए। जबकि, २०७४ सालको आमचुनावमा एमालेका पोख्रेल ४४ हजार ६७० मत हासिल गरेर प्रतिनिधिसभा सदस्य चुनिएका थिए। त्यतिबेला उनका प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए।

२०७९ सालको चुनावमा लामिछाने सांसद बनेपछि उनको नागरिकता विवाद सार्वजनिक भयो। नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका लामिछानेले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यको पद खारेज गरिदियो। त्यतिखेर लामिछानेले नयाँ नागरिकता लिनुपरेको थियो। त्यसपछि २०८० सालमा भएको उपनिर्वाचनमा पनि लामिछाने नै निर्वाचित भए। उपचुनावमा उनले ५४ हजार १७६ मत पाएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र पाए।

 मतदातासँग घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेल। तस्बिर : खरेलको फेसबुक पेज

रास्वपा गठन गरेर २०७९ सालमा पहिलो पटक चुनाव लड्न काठमाडौँबाट चितवन झरेका लामिछाने यही क्षेत्रबाट संसदीय राजनीतिमा उदाएका हुन्। यस पटक पनि उनको चर्चा कम छैन। लामिछाने यस क्षेत्रबाट तेस्रो पटक पनि ढुक्कले चुनाव जित्ने दाबी गर्छन्। रास्वपाले ९ फागुनमा भरतपुर-३ धर्मचोकमा आयोजना गरेको चुनावी कार्यक्रममा लामिछानेले भनेका थिए, ‘मलाई कसैले नपत्याउँदा चितवनले पत्याएको थियो। चितवन आइसकेपछि आँट आउँछ। साहस आउँछ।’ आफू अरूजस्तो लामो समय राजनीति गर्न नआएको दाबीसमेत उनले गरेका थिए। लामिछानेको कथन थियो, ‘दुई कार्यकालमा काम गर्ने, राम्रा साथीहरूलाई हस्तान्तरण गर्ने, देशलाई दुई कदम भए पनि अगाडि बढाउने, यत्ति गर्न खोजेको हो।’

रवि र मीनाकै प्रतिस्पर्धा

यस क्षेत्रमा रास्वपा सभापति लामिछानेसँग प्रतिस्पर्धा गर्ने अरू २२ जना उम्मेदवार छन्। तीमध्ये सबैभन्दा निकटतम प्रतिस्पर्धी चाहिँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी कांग्रेसकी ५४ वर्षीय मीनाकुमारी खरेल बनेकी छन्। उनी साढे दुई दशकपछि फेरि चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन्। लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय उनी आफ्नो कामबाट चितवनमा चिनिएकी अनुहार हुन्।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी भएकी खरेल नेपाल विद्यार्थी संघ, वीरेन्द्र बहुमुखी क्याम्पसको उपसभापति हुँदै कार्यवाहक अध्यक्षसमेत बनेकी थिइन्। २०५४ सालमा भरतपुर वडा नम्बर ५ को वडा सदस्य निर्वाचित उनी समाजसेवामा सक्रिय बनिन्। उनी असहाय महिला तथा बालबालिकाको उद्धार, संरक्षण र पुन:स्थापनाका लागि तीन दशकदेखि निरन्तर लागिरहेकी छन्। “घरदैलोमा जाँदा मतदाताको सकारात्मक उत्साह पाएकी छु,” खरेल भन्छिन्, “स्वतन्त्र नागरिक भएर विवेक प्रयोग गरिदिन मतदातालाई आग्रह गर्छु।”

चुनावी प्रचारप्रसारका क्रममा पनि उनी यही कुरा दोहोर्‍याइरहेकी छन्। महिला तथा बालिबालिका क्षेत्रमा काम गरेकाले यस क्षेत्रमा उनको प्रभाव कमजोर छैन। रास्वपा सभापति लामिछानेको विवादित छविलाई उनले चुनावी मुद्दा बनाएकी छैनन्। मीनाको काम र समाजसेवी छविले त्यस क्षेत्रका लेखक, बुद्धिजीवी, नागरिक अगुवालगायतलाई आकर्षित गरेको छ।

विगतमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुने गरेको यस क्षेत्रमा रास्वपाको उदयपछि ठूला दल किनारामा धकेलिएका छन्।

कांग्रेसकी उम्मेदवार खरेलले चितवन ३ को चुनावी माहोल नै परिवर्तन गरेकी छन्। खरेलको उपस्थितिले अघिल्ला चुनावमा जस्तो रास्वपा सभापति लामिछानेलाई सहज नहुने एकथरीको आकलन छ। प्रतिस्पर्धी दल र मतदाताबीच मात्रै होइन, रास्वपाले पनि खरेललाई लामिछानेको दह्रो प्रतिस्पर्धी मानेको छ। त्यसैले पछिल्लो समय लामिछाने आफ्नो चुनाव क्षेत्रको घरदैलो कार्यक्रम सक्रिय छन्।

महिला मतदातामाझ खरेलको प्रभाव राम्रो देखिन्छ। महिला र बालबालिकाकै क्षेत्रमा काम गरेकाले उनी गाउँ गाउँका महिला समूहमा परिचित छिन्। चितवन २ का मतदातासमेत रहेका साहित्यकार एलबी क्षेत्री देशले परिवर्तन खोजिरहेकाले आफू पनि परिवर्तनको पक्षमा उभिएको बताउँछन्। “यस पटक कांग्रेसले क्षेत्र नम्बर २ मा राम्रो उम्मेदवार छनोट गरेर चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ। अब्बल महिला उम्मेदवारका रूपमा मीनाले रास्वपा सभापति लामिछानेलाई टक्कर दिइरहेकी छिन्,” उनी भन्छन्।

त्यस्तै, लेखक एवं राजनीतिक विश्लेषक सरिता तिवारी मीनाको पक्षमा खुलेरै प्रचार गरिरहेकी छन्। चितवन २ बाट संसद्‌मा पठाउनुपर्ने व्यक्ति मीना खरेलबाहेक अर्को हुन नसक्ने तिवारीको तर्क छ। ‘उहाँ कसैले बाँसको खुट्टा लगाएर उभ्याएको पात्र होइन,’ तिवारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आफ्नो सामर्थ्यले बनेको व्यक्ति हुनुहुन्छ। बालबालिका र हिंसापीडितको न्यायका लागि लड्दालड्दै उमेर बिताएको उम्मेदवार हुनुहुन्छ।’

नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरे। तस्बिर : घिमिरेको फेसबुक पेज

चितवन २ मा राजनीतिक दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिस्पर्धामा छन्। यसमा ६ जना स्वतन्त्र हुन् भने बाँकी विभिन्न दलका हुन्। प्रतिस्पर्धीमध्ये सात जना महिला छन्। रास्वपा सभापति लामिछानेसँगै कांग्रेसकी खरेल, एमालेका अस्मिन घिमिरे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जगदीश्वर अधिकारी, जनता समाजवादी पार्टी (जसपा) नेपालका कमानसिंह चौधरी, जनमत पार्टीकी निर्मलाकुमारी ठाकुर, नेपाल मजदुर किसान पार्टीकी शोभा बासुकला, राष्ट्रिय जनमोर्चाकी देवी शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाशबहादुर पाण्डे उम्मेदवार छन्।

त्यस्तै, मंगोल नेसनल अर्गनाइजेनकी ऋषा गोले, नेसनल रिपब्लिक नेपालका शक्तिराज गुरुङ, श्रम संस्कृति पार्टीका मिलन थापा मगर, नेकपा (माओवादी)की दर्शनाकुमारी शाही, उज्यालो नेपाल पार्टीका नि.कुमार पाख्रिन, नागरिक उन्मुक्ति पार्टी नेपालका सुवास महतो र आम जनता पार्टीकी देवीकुमारी मगर प्रतिस्पर्धामा छन्। इन्द्रबहादुर स्याङ्तान, कृष्णप्रसाद चापागाईं, प्रतापसिंह तामाङ, प्रवीण सापकोटा, रवि कुमाल र शंकुप्रसाद जैसी स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा छन्।

विगतमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुने गरेको यस क्षेत्रमा रास्वपाको उदयपछि ठूला दल किनारामा धकेलिएका छन्। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचन र २०८० सालको उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेरवार रास्वपाका सभापति लामिछानका निकट प्रतिस्पर्धामा पनि पुगेका थिएनन्। त्यसले पनि यसपालि कांग्रेस र एमालेका पुराना र प्रभावशाली नेता यस क्षेत्रमा टिकट लिन अघि सरेनन्। रविसँग भिड्न यस पटक कांग्रेसले पार्टी क्याडरभन्दा समाजसेवामा सक्रिय मीना खरेललाई अघि सारेको छ। एमालेले चाहिँ युवा उमेर समूहका अस्मिन घिमिरेलाई उम्मेदवार बनाएको छ। विद्यार्थी राजनीतिको पृष्ठभूमि भएका घिमिरे सांगीतिक क्षेत्रमा समेत क्रियाशील छन्।