काठमाडौँ। निर्वाचन आयोगले चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका हुन्।
निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ।
“निर्वाचन आचारसंहिताको उल्लंघन गरे आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उमेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था समेत रहेको छ,” भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनका अनुसार विद्यालय समयमा विद्यालयनजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधिसम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयमा समेत उजुरी तथा गुनासो प्राप्त भएका छन्। नेपालको संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन-पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने व्यवस्था गरेको छ।
यो पनि…
प्राध्यापक, शिक्षकलाई आयोगको निर्देशन- चुनाव प्रचारमा सहभागी नहुनू
बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ३ को उपदफा (२) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले बालबालिकाको बाँच्न पाउने अधिकार र बालबालिकाको बिकासको लागि बालबालिकामाथि हुन सक्ने दुर्घटनाको रोकथाम, जोखिमको न्यूनीकरण लगायतका प्रतिरोधात्मक र सुरक्षा सेवाका लागि आवश्यक उपाय अवलम्बन गर्नेछन् भन्ने व्यवस्था छ।
“कुनै पनि राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसारका कार्य गर्दा बालबालिकाको कुनै पनि किसिमबाट प्रयोग नगर्न-नगराउन तथा बालबालिकाको अध्ययन अध्यापनमा असर पार्ने कार्य नगर्न-नगराउनसमेत सबै राजनीतिक दल, उम्मेदवार र मतदाताहरूलाई आयोग आग्रह गर्दछ‚” विज्ञप्तिमा भनिएको छ।
