रङको उमंग
मिथिलाञ्चलमा होलीको स्वागत
जनकपुर। मिथिलाको माध्यमिकी परिक्रममा महोत्तरीको विरजा नदीको तट पुगेको छ। यहाँको कञ्चनवनमा परिक्रमाका सहभागी साधु-सन्त बिहानैदेखि आपसमा रङ, अबिर लगाएर होलीको स्वागत गरेका छन्। होलीको गीतमा साधु-सन्तहरु रंगिएका थिए।
धार्मिक मान्यताअनुसार त्रेतायुगमा राम र जानकी विवाहपश्चात विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए। त्यही क्रममा होलीको दिनमा कञ्चनवन पुगेर होली खेलेका थिए। त्यही दिनको सम्झनामा कञ्चनवनमा ‘होरी उत्सव’ मनाउने चलन छ।
मिथिला परिक्रममा क्रममा सोमबार साधुसन्तले कञ्चनवन पुगेर होली उत्सव मनाए। जनकपुरको हनुमाननगरबाट डोलासहित हिंडेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड घुमेर कञ्चनवन पुगेको हो। मिथिलामा परिक्रमा रहेक वर्ष कञ्चनवनमा होली महोत्सवको आयोजना हुने गर्छ। जहाँ साधु-सन्तदेखि मेलामा सहभागीहरू आपसमा रङ दलेर उमंगमा रमाउने गर्छन्।
यस दिनमा रङ-अबिर नै प्रसाद स्वरूप भगवान्लाई चढाउने गरिन्छ। मिथिलाञ्चलमा होली फागु पुर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। तर मिथिलाको मध्यमा परिक्रमामा सहभागी भगवान्को डोला कञ्चनवन पुगेदेखि होली महोत्सवमा रमाउने गर्छन्।

२०४१ सालदेखि मिथिला परिक्रमामा सहभागी हुँदै आएका महन्थ विनोद दासले मिथिला परिक्रमा कञ्चनवन पुग्दा साधुसन्तसँगै सर्वसाधारणले होली मनाउने बताए। “हरेक वर्ष झैँ यो वर्ष पनि परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुगेका सहभागीले आपसमा रङ दलेर होली मनाएका हुन्,” महन्थ दासले भने, “परिक्रमामा सहभागीले कञ्चनवनमा रङ खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन हुन्छ।”
फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्छ। कञ्चनवन इच्छावति गंगा र वीरजा गंगाको संगमस्थल हो। यो स्थानमा राम र जानकीले होली पर्व मनाएको जनविश्वास छ।
हेर्नुहोस् थप तस्बिर :

