काठमाडौँ। पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले मंगलबारदेखि सर्वसाधारणका लागि ४५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। निष्कासनमध्ये दुई लाख ८१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र दुई लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिनेछ। यो आईपीओ छिटोमा १५ फागुन र ढिलोमा २६ फागुनसम्म खुला रहनेछ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत ९ पुसमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो।