काठमाडौँ। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले किरात सिरिजंगा लिपिको युनिकोड किबोर्ड सार्वजनिक गरेको छ।
चुम्लुङको लिम्बू (याक्थुङ) भाषा र किरात सिरिजंगा लिपि डिजिटलाइजेसन अभियानअन्तर्गत तयार गरिएको युनिकोडमा आधारित कम्प्युटर किबोर्ड र एन्ड्रोइड मोबाइल एप मंगलबार सार्वजनिक गरिएको हो।
ललितपुरस्थित चुम्लुङ भवनमा कियाचुका संस्थापक नन्द कन्दङ्वा, अध्यक्ष प्रेम येक्तेन, कोषाध्यक्ष अमर तुम्याहाङलगायतले एपसँगै लिपि डिजिटलाइजेसनबारे शिलालेखसमेत सार्वजनिक गरे।
चुम्लुङको दक्षिण कोरिया समितिको आर्थिक सहयोगमा डिजिटलाइजेसनको काम एक वर्षअघि सुरु गरिएको थियो। अहिले कियाचु नेपाल र दक्षिण कोरियाले काठमाडौँ विश्वविद्यालयसँग मिलेर भाषा र लिपिलाई डिजिटाइजेसनको काम सुरु गरेको कियाचु महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन्। उनका अनुसार हाल आईओएस किबोर्ड, एप र गुगल ट्रान्सलेसनको काम अघि बढाइएको छ।