रौतहट। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।
रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए।
उक्त अस्थायी मतदान केन्द्रमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्ने उनले बताए। तीनवटै अस्थायी मतदान केन्द्रमा दुई–दुई जनाका दरले कर्मचारीको व्यवस्था गरिएको छ।
गौर कारागारमा ६३ जना कैदीबन्दीको मतदाता नामावली रहेको गौर कारागार प्रमुख प्रदीप पौडेलले जानकारी दिए। उनीहरूलाई मतदान गर्न कारागार परिसरमै अस्थायी मतदानस्थल निर्धारण गरिएको उनले जानकारी दिए।
जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा २७७ वटा मतदानस्थल र ५४१ वटा मतदान केन्द्र छन्। अठारवटा पालिका रहेका यहाँ यस वर्ष चार लाख ३६ हजार ६११ मतदाता छन्।
दुईवटा मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्व
यहाँका दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। गौर नगरपालिका–५ मा रहेको आधारभूत विद्यालय बालमन्दिर भवन मतदानस्थलमा रहेका दुईवटा मतदान केन्द्रमा उनीहरुलाई खटाइएको हो।
उक्त मतदानस्थलको ‘क’ मतदान केन्द्रको मतदान अधिकृतमा आस्था शर्मा पौडेल, सहायक मतदान अधिकृतमा सुचिता श्रीवास्तव, सहायक कर्मचारीमा प्रियङ्का कुमारी यादव, सविता कुशवाह, रुबि झा र कार्यालय सहयोगीमा रञ्जना रिजाल तथा ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत सब्रिना खातुन, सहायक मतदान अधिकृतमा कल्याणी मिश्र, सहायक कर्मचारीमा अर्चनाकुमारी साह, हिमकला पोखरेल, मनिषा चौधरी र कार्यालय सहयोगी गुडियादेवी राम रहनुभएको जिल्ला मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ को निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए।
क्षेत्र नंं १ क्षेत्रमा १३२ मतदान केन्द्र छन्। सो क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ यही फागुन ९ गते नै निर्वाचनसम्बन्धी प्रशिक्षण दिइसकेको उनले जाकारी दिए। जिल्लाको ५४१ मतदान केन्द्रमा एक हजार ४६ जना कर्मचारी खटिसकेका छन्।