काठमाडौँ
००:००:००
१३ फाल्गुन २०८२, बुधबार

१३ फाल्गुन २०८२
अ+
अ-

जुम्ला। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्र खटिने भएका छन्।

जिल्ला सदरमुकाम खलंगा बजारस्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी सबै महिला कर्मचारीले निर्वाचन सम्पन्न गराउने भएका छन्।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालन गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन महिला कर्मचारी प्रतिबद्ध रहेका बताए।

शान्तिपूर्ण, मर्यादित र व्यवस्थित निर्वाचनका लागि राजनीतिक दल र पत्रकारसहित सबै सरोकार भएकाको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पनि आमसञ्चारमाध्यमको भूमिका निर्णायक हुने भएकाले सकारात्मक सन्देशसहित सामग्री संकलन र सम्प्रेषण गर्न आग्रह गरे। जिल्लामा कूल मतदाता सङ्ख्या ७१ हजार ७३९ रहेका जनाउँदै उनले निर्वाचनका लागि ६५४ जना कर्मचारी खटिने बताए।

प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी रहनेछन्। जिल्लाभर ११० मतदान केन्द्र र ८५ मतदानस्थल कायम गरिएको निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए।

निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेका छन्। मुख्य निर्वाचन अधिकृतका सहायक हरिकृष्ण तिमिल्सेनाका अनुसार प्रत्यक्षतर्फको ७७ हजार र समानुपातिकतर्फको ८० हजार मतपत्र जुम्लामा पुगेको छ।

निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लाका ९७४ जना निर्वाचन प्रहरी खटिनेछन्, जसले मतदान केन्द्रहरूमा शान्तिसुरक्षा सुनिश्चित गर्नेछन्। यसबाहेक जिल्लामा ९२५ अस्थायी मतदाता नामावली सङ्कलन गरिएको छ भने दुईवटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ।

निर्वाचन आउन आठ दिन बाँकी रहँदा निर्वाचन आचारसंहितालाई कडाइका साथ पालन गर्न आज जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजनामा एक दिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

यसैबीच, फागुन १५ गते मतदान अधिकृत तथा सहायक अधिकृतहरूको तालिम सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ।