काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

आवरण

तीन लाख ६० हजार नेपाली भेप अम्मली

१४ फाल्गुन २०८२
भेप प्रयोगको सांकेतिक तस्बिर। स्रोतः फ्रिपिक
अ+
अ-

हालैको एक बिहान एक हुल किशोरकिशोरी काठमाडौँ शंखमूलमा रहेको एउटा चिया पसलमा आइपुगे। कलेज पोसाकमा रहेका उनीहरूले पसलेसँग कालो चिया मागे। नजिकैको टेबलवरिपरि बसे। तीमध्येका एकजनाले अत्तरको जस्तो देखिने सानो बट्टा झोलाबाट निकाले। त्यो थियो भेप अर्थात् विद्युतीय चुरोट। भेपको बिर्को खोलेर सबैले पालैपालो सर्को ताने। अलिकति मुन्टो उचालेर बास्नादार बाक्लो सेतो बाफ माथितिर उडाए।

काठमाडौँका चिया पसल, क्याफे, रेस्टुराँ, क्लबमा युवायुवतीहरू भेप तान्दै झुमिरहेको दृश्य अचेल सामान्य भइसकेको छ। भेपिङलाई किशोरकिशोरी र युवाहरूले ‘फेसन ट्रेन्ड’ नै बनाएको देखिन्छ। चुरोटको जस्तो गन्ध र धुवाँ नआउने भएकाले परिवार, कार्यालय र सार्वजनिक थलोमा समेत भेपको सहजै प्रयोग प्रयोग भइरहेको छ। तर निकोटिनयुक्त यो दुर्व्यसनबाट प्राप्त हुने क्षणिक आनन्दका पछाडि लुकेका स्वास्थ्य जोखिम र आर्थिक बोझ भने घातक छन्।

जनस्वास्थ्यविद् शरद वन्त भेपिङको लतले स्वास्थ्य र पैसा दुवै बर्बाद पार्ने बताउँछन्। “लत मेट्न भेप किन्दा खर्च हुने भयो, यसको सेवनले स्वास्थ्यमा हानि गर्ने भएकाले उपचारमा पनि पैसै गयो।”

एक अम्मलीको अनुभवमा भेप खर्चिलो छ। एक वर्षअघि साथीको भेप तानेर बानी परेका उनलाई अचेल छिनछिनमा यसको सर्को नलिई हुँदैन। भन्छन्, “भेप तान्दा महिनाको पाँच हजार रुपैयाँजति सकिन्छ।”

विश्वभरि निकोटिनजन्य पदार्थ सेवनको नयाँ प्रकोपका रूपमा देखिएको भेपले स्वास्थ्यमा पार्ने दीर्घकालीन असरबारे विस्तृत अनुसन्धान जारी नै छ। हालसम्मका अध्ययनले यसको प्रयोगले मुटु र फोक्सोमा असर पार्न सक्छ भन्ने प्रमाणहरू बढ्दै गएका छन्।

नेपालको सन्दर्भमा भेपजन्य स्वास्थ्य जोखिमले थपेको आर्थिक बोझबारे अध्ययन हुन बाँकी नै छ। भेपको आयातमा भने वार्षिक करोडौँ रुपैयाँ बाहिरिने गरेको छ। आर्थिक वर्ष २०७९/८० मा मात्रै २१ करोड ३९ लाख रुपैयाँको भेप भित्रिएको थियो। सरकारले चैत २०८१ देखि भेपको आयात र बिक्री–वितरणमा रोक लगाए पनि तस्करी गरेर भित्र्याइने क्रम जारी छ। गैरकानुनी आयात र निर्बाध बिक्री–वितरणका कारण भेपको कुलत भयावह रूपमा फैलिरहेको छ, र जनस्वास्थ्यमा घातक असर परिरहेको छ।

भ्रमदेखि लतसम्म

भेप अर्थात् विद्युतीय चुरोटको आधुनिक रूपको विकास सन् २००३ मा चीनमा भएको हो। परम्परागत चुरोटको कम हानिकारक विकल्प खोज्ने प्रयासस्वरूप निकोटिनलाई बाफ बनाएर सेवन गर्ने भेपको आविष्कार भएको थियो।

थरिथरिका भेप। तस्बिर स्रोतः फ्रिपिक

भेप चुरोट पिएकोजस्तो अनुभव दिने एकप्रकारको विद्युतीय उपकरण हो। यसलाई बजारमा ई–सिगरेट (विद्युतीय चुरोट) पनि भनिन्छ। यसमा तरल पदार्थलाई तताउने हिटर (एटोमाइजर), ब्याट्री र ट्यांकजस्तो एउटा कन्टेनर हुन्छ। हिटरले तरल पदार्थलाई तताएर बाफ बनाउँछ। भेप तान्दा धूवाँको साटो बाफ दिने भएकाले सुरक्षित मानेर प्रयोग गर्ने प्रवृत्ति बढेको छ। तर यस्तो बाफमा फलफूललगायत विभिन्न स्वाद र बास्ना दिने पदार्थसहित निकोटिन राखिएको हुन्छ। नसा गराउने पदार्थका रूपमा प्रयोग हुने निकोटिन चुरोट र अन्य सुर्तीजन्य वस्तुमा पनि पाइन्छ।

भेप उत्पादकले सुर्तीजन्य पदार्थका रूपमा परिभाषित नगरे पनि सुर्तीमा पाइने निकोटिन नै प्रयोग गरेका हुन्छन्। यति मात्रै होइन, सुर्तीजन्य पदार्थ छुटाउन सहयोगी भनेर प्रचारप्रसार समेत गर्छन्। जसका कारण चुरोटभन्दा कम हानिकारक हुने, निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहेको पाइन्छ। यस्तो भ्रम र बुझाइका कारण कतिपयले चुरोटको विकल्पमा वा चुरोट छुटाउन यसको सेवन गर्ने गरेका छन्। तर भेपमा पनि निकोटिन हुने भएकाले स्वास्थ्यमा असर गर्ने चिकित्सकहरू बताउँछन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, हालसम्म भएका अध्ययनले भेपमार्फत गरिने निकोटिन सेवनले छाती, फोक्सो र मुटुसम्बन्धी समस्या बढाउने देखाएको छ।

बजारमा निकोटिनयुक्त र रहित उल्लेख गरिएका दुवै किसिमका भेप पाइन्छन्। अध्ययनहरूले भने निकोटिन नभएको भनिएका भेपमा समेत निकोटिनको मात्रा पाइएको देखाएका छन्। निकोटिनको सेवनले कार्यदक्षता र एकाग्र हुने क्षमता विकासमा असर पार्ने भएकाले बढ्दो उमेरका किशोर र युवामा भेपको प्रयोग झनै जोखिमपूर्ण हुन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, हालसम्म भएका अध्ययनले भेपमार्फत गरिने निकोटिन सेवनले छाती, फोक्सो र मुटुसम्बन्धी समस्या बढाउने देखाएको छ। ११ असार २०८२ मा प्रकाशित डब्लूएचओको अध्ययनमा गर्भवतीले भेप सेवन गर्दा गर्भको भ्रूणलाई असर पार्ने र मस्तिष्क विकासमा क्षति गर्ने उल्लेख छ। भेपलाई स्वादिलो र बास्नादार बनाउन मिसावट गरिने विषाक्त रासायनिक पदार्थले स्वास्थ्य जटिलता निम्त्याइरहेको डब्लूएचओले जनाएको छ।

अनामनगरको एक पसलमा बेच्न राखिएको भेप। तस्बिरः विद्या राई

छातीरोग विशेषज्ञ डा. रक्षा पाण्डे भेपको प्रयोगले दीर्घकालीन रूपमा फोक्सो र श्वासप्रश्वासको समस्या हुने बताउँछिन्। यसको सेवनले मुटुको चाल र रक्तचाप बढाउने तथा यसमा मिसाइने रसायन र विभिन्न फ्लेवरका कारण एलर्जी पनि हुने उनको भनाइ छ। भन्छिन्, “शारीरिक र मानसिक विकासमा चरणमा हुने किशोर र युवापुस्ताले भेपको अत्यधिक प्रयोग गरिरहँदा भविष्यमा जनस्वास्थ्य स्थिति विकराल बन्ने निश्चित छ।”

भेपले चुरोट छुटाउन मद्दत गर्छ भन्नु भ्रम मात्र रहेको जनस्वास्थ्यविद् वन्त बताउँछन्। “भेप धूमपानको उपचार गर्ने उपाय हुनै सक्दैन। चुरोट छुटाउन भेप सेवन गर्नु भनेको त एउटा लत छोड्न अर्कोमा सरेकोजस्तो मात्रै भयो,” उनी भन्छन्।

चुरोट छाड्ने उपायका रूपमा भेपलाई घरपरिवार र समाजले सहजै स्विकार्दा जोखिम बढेको मनोरोग विशेषज्ञ डा. ऋषभ कोइराला बताउँछन्। “निकोटिन सेवन गरेको ६ सेकेन्डमै मस्तिष्कमा पुगेर जुन आनन्दको महसुस गराउँछ, यसैको लत परेपछि दीर्घकालीन समस्या ल्याउँछ।” धुवाँयुक्त होस् या धूवाँरहित निकोटिनले स्वास्थ्यमा असर पार्ने उनी बताउँछन्।

स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाका अनुसार, नेपालमा भेपको व्यापारीकरण र प्रयोग बढेको पाँच वर्षजति भयो। चुरोट खाने लत हटाउन सहयोगी हुने बहानामा भेपको लतमा पर्नेहरू बढिरहेका उनी बताउँछन्। भन्छन्, “असर कम गर्छ भनेर धेरै खाने बानीले झन् असर गरेको छ।”

बढ्दो प्रयोगकर्ता, गैरकानुनी आयात

लाइटर नचाहिने, एकपटक चार्ज गर्दा धेरैपटक सेवन गर्न सकिने र विभिन्न स्वादमा पाइने भएकाले खासगरी युवा पुस्तामाझ भेप लोकप्रिय छ। यसले गर्दा सहरबजारका धेरै युवायुवतीको खल्तीमा भेटिने चल्तीको वस्तु बनेको छ यो। भेपको स्वाद, रूपरङ र बनावट नै युवालक्षित देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी युवा मनोविज्ञान बुझेरै उपभोग गर्ने बानी पार्न उत्पादकले विभिन्न फलफूलको स्वाद र बास्नाका भेप बजारमा ल्याउने गरेको बताउँछन्। साथीको संगतमा परेर पहिलोपटक भेप चाख्ने किशोरकिशोरी र युवायुवती यसको स्वादमा लोभिएर बिस्तारै लतमा पर्छन्। “भेप चाखेपछि फेरि खान मन लाग्छ, निकोटिनले गर्दा लत बस्छ, युवापुस्तामा अहिले यही भइरहेको छ,” डा. बुढाथोकी भन्छन्।

५ माघ २०८० मा डब्लुएचओले प्रकाशन गरेको अध्ययनअनुसार किशोरकिशोरीलाई लोभ्याउन विश्वबजारमा कम्तीमा १६ हजार स्वादका भेप उपलब्ध छन्।

अमेरिकी प्रकाशन गृह म्याक्सिमम एकेडेमिक प्रेसले प्रकाशन गर्ने जर्नल अफ स्मोकिङ सेसेशनमा १ मंसिर २०८० मा प्रकाशित ‘प्रिभालेन्स, कोरिलेट्स एन्ड पर्सेप्सन अफ इ–सिग्रेट्स अमङ अन्डरग्राजुएट स्टुडेन्ट्स अफ काठमाडौँ मेट्रोपोलिटन सिटी, नेपालः अ क्रस सेक्सनल स्टडी’ शीर्षकको अनुसन्धानले साथीको संगतमा परेर, थरीथरीका स्वादमा लोभिएर, स्वास्थ्यमा कम हानि गर्ने बुझाइका कारण भेपप्रति युवाहरू आकर्षित भएको उल्लेख गरेको छ।

उक्त सर्वेक्षणमा ४०५ जना विद्यार्थी सहभागी भएकोमा २७.१ प्रतिशतले भेप प्रयोगको अनुभव भएको बताएका थिए। प्रयोगकर्तामध्ये ६ प्रतिशतले नियमित भेप सेवन गरिरहेको बताएका थिए। सर्वेक्षणमा सहभागीमध्ये ६४.७ प्रतिशत स्नातक वा सोसरह पढ्ने विद्यार्थीमा भेप स्वास्थ्यका लागि कम हानिकारक रहेको बुझाइ पाइएको अनुसन्धानमा उल्लेख छ।

नेपालमा भेपका प्रयोगकर्ताको संख्या बढ्दो छ। सन् २०१९ मा गरिएको एक सर्वेक्षणअनुसार विद्युतीय चुरोट प्रयोग गर्ने नेपालीहरू (१५ देखि ६९ वर्षका) तीन लाख १२ हजार ३७१ जना थिए।

डब्लूएचओ र नेपाल सरकारले २०१९ को फेब्रुअरीदेखि मेसम्म गरेको नसर्ने रोगसम्बन्धी जोखिम तत्वको संयुक्त सर्वेक्षणबाट यस्तो तथ्यांक पाइएको थियो। त्यसयताको पाँच वर्षमा सन् २०२४ सम्म आइपुग्दा भेप प्रयोगकर्ता नेपालीको संख्या तीन लाख ५९ हजार ९८६ पुगेको ‘ग्लोबल स्टेट अफ टोबाको हार्म रिडक्सन’ पोर्टलमा उल्लेख छ। सो पोर्टलमा सन् २०२५ मा सार्वजनिक अनुमानित तथ्यांकअनुसार बर्सेनि औसत १० हजारका दरले भेप प्रयोगकर्ता बढिरहेका छन्।

स्वास्थ्यमा प्रतिकूल असर पार्ने भेप आयातमा देशबाट करोडौँ रुपैयाँ बाहिरिइरहेको छ। आर्थिक वर्ष २०७८/७९ देखि चालु आव २०८२/८३ को साउनदेखि माघसम्म २८ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको भेप आयात भएको भन्सार विभागको तथ्यांक छ।

विश्वभरि नै भेपका प्रयोगकर्ताको संख्या उच्च छ। २० असोज २०८२ मा सार्वजनिक डब्लुएचओको अध्ययनअनुसार, विश्वभर करिब १० करोड भेप प्रयोगकर्ता छन्। जसमा १५ लाख प्रयोगकर्ता १३ देखि १५ वर्ष उमेरसमूहका छन्।

स्वास्थ्यमा प्रतिकूल असर पार्ने भेप आयातमा देशबाट करोडौँ रुपैयाँ बाहिरिइरहेको छ। आर्थिक वर्ष २०७८/७९ देखि चालु आव २०८२/८३ को साउनदेखि माघसम्म २८ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको भेप आयात भएको भन्सार विभागको तथ्यांक छ। यस अवधिमा ३९ लाख ९३ हजार थान भेप, यससम्बन्धी उपकरण र ४०० केजी भेप आयात भएको छ। सबैभन्दा बढी चीनबाट र अमेरिका, बेलायत, हङकङ, भारत, दक्षिण कोरिया, मलेसिया, यूएई, जर्मनी, नेदरल्यान्ड, उज्वेकिस्तान र भानुआटुबाट आयात भएको छ।

सरकारले १२ चैत २०८१ देखि भेपको आयात र बिक्री–वितरणमा रोक लगाएको छ। त्यसयता पनि भित्रिने दर नरोकिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। तस्करी गरेर अवैध रूपमा भेप ठूलो परिमाणमा आयात भइरहेको प्रहरीले गरेको बरामदले देखाउँछ।

गत १५ भदौमा प्रहरीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित गोदाममा भण्डारण गरिएको ३८ लाख पाँच हजार रुपैयाँ बराबरका तीन हजार ८०५ थान भेप बरामद गरेको थियो। यसअघि पुस २०८१ को दुई सातामा राजस्व अनुसन्धान विभाग र प्रहरीले ललितपुरको इमाडोल, मुस्ताङ, पथलैया र बुटवलबाट गरी २५ करोड रुपैयाँभन्दा बढी मूल्यको करिब एक लाख २४ हजार थान भेप बरामद गरेका थिए।

प्रतिबन्ध लगाए पनि खुलेआम बिक्री

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरणलाई न्यूनीकरण र नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१’ जारी गरेको छ।

निर्देशिकाको नियम २८ को उपनियम ३ मा लेखिएको छ, ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न नपाउने।’

तर विद्युतीय चुरोटको आयात र बिक्री रोकिन सकेको छैन। प्रतिबन्धका बाबजुद लुकिछिपी आयात भइरहेको छ भने गैरकानुनी बिक्री वितरण खुलेआम छ। काठमाडौँमा विभिन्न ठाउँमा भेपका छुट्टै पसल नै सञ्चालनमा देखिन्छन्। यस्तै, स्टोर, सपिङ मल, अनलाइन प्लेटफर्ममार्फत निर्बाध रूपमा किनबेच भइरहेको छ। जसका कारण जुनसुकै उमेरसमूहले मनलाग्दी प्रयोग गरिरहेका छन्।

विशेषगरी युवा र किशोरमा भेपको प्रयोगले स्वास्थ्यमा पार्ने असरलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले आयात र बिक्रीमा रोक लगाउन २०७१ सालको निर्देशिकाको आधारमा एक वर्षअघि पहल गरेको थियो।

१२ चैत २०८१ मा स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले भेप आयात र बिक्रीमा रोक लगाउन गरेको पत्राचार।

निर्देशिकाको नियम २८ को उपनियम ३ लाई आधार बनाएर मन्त्रालयले भेपको उत्पादन, आयात, बिक्री वितरण, सार्वजानिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवद्र्धन तथा विज्ञापनमा निषेध गर्न १२ चैत २०८१ मा अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्राचार गरी आग्रह गरेको थियो। उक्त पत्राचारपछि भेप आयात र बिक्रीमा रोक लगाइयो।

तर, यसविरुद्ध भेपमान्डु ट्रेडर्स र भेपमान्डु ट्रेडर्स फर्मका सञ्चालक नवीन खड्काले ९ जेठ २०८२ मा उच्च अदालत पाटनमा रिट दायर गरे। २१ जेठ २०८२ मा उच्च अदालतका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र हेमन्त रावलको संयुक्त इजलासले इजाजत प्राप्त गरेर आयात गर्नेका हकमा रोक लगाउन नहुने भन्दै अन्तरिम आदेश जारी गरे। तर, गत २६ कात्तिकमा न्यायाधीशद्वय ऋषिराम निरौला र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले अन्तिम फैसला गर्दै रिट नै खारेज गरिदिए। यसको पूर्णपाठ भने आउन बाँकी छ।

जनस्वास्थ्यमा बोझ

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार, १८ फेब्रुअरी २०२० सम्ममा भेप प्रयोगबाट फोक्सोमा समस्या भएका दुई हजार ८०७ जना बिरामीको पहिचान गरिएको थियो। भेप प्रयोगबाट स्वास्थ्यमा हुने असर र जोखिमबारे विस्तृत तथ्य आउन बाँकी रहे पनि यसको सेवनले गर्ने असरबाट प्रमाणहरू थपिँदै गएका छन्। डब्लूएचओको स्वास्थ्य प्रवर्द्धन र रोकथाम विभागका निर्देशक एटिन क्रुगले भेपलाई निकोटिनको लतलाई बढावा दिने नयाँ लहर भनेका छन्।

“कम हानि हुने भनेर बजारमा ल्याइएका विद्युतीय चुरोटले बालबालिकालाई निकोटिन सेवनमा लालायित बनाएको छ, यसले जनस्वास्थ्यमा हासिल भएको दशकौँको प्रगतिलाई कमजोर पार्ने जोखिम देखिएको छ,” उनले भनेका छन्।

जनस्वास्थ्यविद् वन्त दीर्घ दम रोग, मुटु रोग, श्वासप्रश्वास संक्रमणजस्ता स्वास्थ्य समस्याको उच्च जोखिममा रहेको नेपाललाई भेपको बढ्दो प्रयोगले झन् ठूलो स्वास्थ्य र आर्थिक जोखिमतर्फ धकेलिरहेको बताउँछन्। “भेप खाएर घरको कमाउने मान्छे नै रोगायो भने परिवारमा हातमुख जोर्नै मुस्किल पर्छ,” उनी भन्छन्, “भेपका कारण चुकाउनुपर्ने सामाजिक मूल्य पनि महँगो पर्न जान्छ।”

भेपले निम्त्याउने स्वास्थ्य संकटबारे बेलैमा सचेतना जगाउन सरकारले देशव्यापी अध्ययन गर्नुपर्ने उनको सुझाव छ।स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक ढुंगाना भने भेपले पार्ने असर पत्ता लगाउन समय लाग्ने बताउँछन्। उनी भन्छन्, “चुरोटले क्यान्सर गराउँछ भनेर पत्ता लगाउन अनुसन्धान थालेपछिको दशौँ वर्ष लाग्यो, भेपले पार्ने वास्तविक असर पत्ता लगाउन अझै २०–३० वर्ष लाग्छ।”

सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ लाई संशोधन गरेर भेप प्रयोग र बिक्री–वितरणलाई नियमन गर्ने तयारी गरिरहेको छ। यसबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी भन्छन्, “मूल ऐनमा स्पष्ट व्यवस्था नगरिएकाले हालसम्मका नियमन प्रयास प्रभावकारी हुन सकेका छैनन्, ऐनमा समेटेपछि नियमन र नियन्त्रणका लागि प्रहरी परिचालन, प्याकेजिङमा लेबलिङ गर्ने योजना बनाएका छौँ।”