काठमाडौँ
००:००:००
१५ फाल्गुन २०८२, शुक्रबार

प्रतिनिधिसभा निर्वाचन

कोसी प्रदेशका युवा मतदाता मतपेटिकामार्फत आफ्नो भविष्य निर्धारण गर्न उत्साहित

१५ फाल्गुन २०८२
विद्यार्थीहरु रनजा चौलागाईं, रोजेश रदा, वर्षा अग्रवाल, सुजन चौधरी, श्रेया लुइटेल, सुस्ती पौडेल, गौरव राई, कशिका तिम्सिना, वबित राज श्रेष्ठ, अभिषेककुमार धामी। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले गाउँसहर तरंगित बनाएको छ। उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर विभिन्न आश्वासन र सपना बाँडिरहेका छन्। पुराना मतदाताका लागि चुनाव प्रचारको तामझाम र मतदानको कुरा नौलो होइन, तर पहिलो पटक मतदान गर्न लागेका नवयुवाहरूका लागि भने यो निर्वाचन उत्सवजस्तो भएको छ। आफ्नो मतलाई परिवर्तनको माध्यम बनाउन उत्साहसहित उनीहरू मतदानका लागि व्यग्र पर्खाइमा छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार यस पटक आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्। प्रतिनिधिसभा निर्वाचनको मिति तय भएपछि गत ९ असोजदेखि ५ मंसिरसम्म सञ्चालित मतदाता नामावली संकलनका क्रममा चार लाख ७३ हजार ३४५ पुरुष, तीन लाख ६३ हजार ७७८ महिला र ६१ अन्य गरी ठूलो संख्यामा युवाहरूले नाम दर्ता गराएका हुन्।

थपिएका नयाँ मतदातामध्ये कोसी प्रदेशमा मात्रै एक लाख ५७ हजार ६१३ जना छन्। यस प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ४४ हजार ४०२ जना नयाँ मतदाता छन्, जो पहिलो पटक मतपेटिकामार्फत आफ्नो भविष्य निर्धारण गर्न आतुर देखिन्छन्।

उत्साह खबरदारी

विराटनगर महानगरपालिका-९ की १९ वर्षीया वर्षा अग्रवाल पहिलो पटक मतदान गर्ने कुरामा निकै उत्साहित छिन्। उत्साहसँगै उनी  जितेर जाने उम्मेदवार विधायिकी भूमिकामा खरो उत्रिनुपर्छ भन्ने सोच सँगाल्दै खबरदारी पनि गर्छिन्। उम्मेदवारहरूलाई सुशासन र भ्रष्टाचारमुक्त समाजको कसीमा जाँचिरहेकी छिन् उनी। वर्षा भन्छिन्, “उम्मेदवारहरूबाट मेरो एउटै अपेक्षा छ- जितेर गएपछि उहाँहरूले देशका लागि इमानदारीपूर्वक काम गरिदिनुहोस्, भ्रष्टाचार अन्त्य होस्। यो निर्वाचनपछि देशले सकारात्मक बाटो र नयाँ गति समातोस्।”

पहिलो मतदानको तयारीमा रहेका युवाहरूको उत्साहभित्र एउटा गहिरो पीडा र माग पनि लुकेको छ, त्यो हो ‘स्वदेशमै रोजगारी’। देशमा रोजगारीको राम्रो अवसर नभएर हरेक वर्ष हजारौँ युवा विदेश जानुपर्ने बाध्यताप्रति युवाहरू कुँडिएका छन्। यो निर्वाचनपछि बन्ने सरकारले युवालाई देशमै रोक्न सक्ने ठोस नीति ल्याओस् भन्ने उनीहरूको चाहना छ।

विराटनगर-११ का १८ वर्षीय विवितराज श्रेष्ठ स्नातक तह सकेपछि बिदेसिनु नपरोस् भन्ने सर्तमा आफ्नो मत दिने सोचमा छन्। “मेरो अपेक्षा यत्ति हो, मैले पढेर सकेपछि आफ्नै देशमा योग्यताअनुसारको जागिर पाऊँ,” उनी भन्छन्, “नेताहरूले विकास र रोजगारीका अवसर सिर्जना गरून्।”

पहिलो पटक मतदान गर्न लागेका युवा मतदाता।

विराटनगर-१५ का २० वर्षीय गौरव राई आफ्नो मतदानलाई विगतका आन्दोलन र मुद्दाहरूसँग जोडेर हेर्छन्। “म एकदमै उत्साहित छु। मतदान केन्द्रमा कस्तो प्रक्रिया हुन्छ भन्ने कौतूहल छ,” गौरव भन्छन्, “जुन पार्टीले हाम्रा मुद्दा र आन्दोलनलाई साथ दियो, हामी त्यसैलाई भोट दिन्छौँ। हामीलाई अब गफ होइन, परिवर्तन चाहिएको छ।”

सुनसरीको धरान उपमहानगरपालिका-१६ का १९ वर्षीय रोजेश राणाको बोलीमा पनि परिवर्तनको भोक सुनिन्छ। “परिवर्तनका लागि यो मेरो पहिलो मतदान हुनेछ। नयाँ उम्मेदवारहरूले देशलाई नयाँ दिशा दिऊन् भन्ने मेरो चाहना छ,” उनी भन्छन्।

विराटनगर-१ पोखरीकी १९ वर्षीया रञ्जना चौलागाईंका लागि मतदान संवैधानिक अधिकार मात्र होइन, नेतृत्वलाई खबरदारी गर्ने अवसर पनि हो। “हाम्रा कुरा सुनिने उम्मेदवार छान्न चाहन्छु,” उनी भन्छिन्, “युवाहरूले पढेपछि रोजगारीका लागि विदेश जान नपरोस्, आफ्नै देशमा भविष्य देख्न पाइयोस्।”

शिक्षा र स्वरोजगारको खोजी

विराटनगर-१ की २० वर्षीया श्रेया लुइँटेल देशको शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो देख्छिन्। उनी भन्छिन्, “हाम्रो भावना बुझेर देशमा परिवर्तन ल्याउने नेता चाहिएको छ। युवा पलायन रोकियोस् र शिक्षा क्षेत्रमा गुणात्मक सुधार आओस्।”

विराटनगर-१० की १९ वर्षीया स्वाति पौडेलको पनि यस्तै धारणा छ। उनी भ्रष्टाचारमुक्त नेपाल र स्वदेशमै सम्मानजनक रोजगारीको अवसर खोजिरहेकी छन्। मोरङको ग्रामथान गाउँपालिका-४ का २० वर्षीय अभिषेककुमार धामी उच्च शिक्षापछि स्वदेशमै रोजगारीको सिर्जना गर्ने वातावरण बनाउने जनप्रतिनिधि आउनुपर्ने बताउँछन्।

निर्वाचनको मुखमा उम्मेदवारहरूले विकास, सुशासन र समृद्धिका ठूला सपना बाँडिरहेका छन्। पुराना मतदाताले उम्मेदवारले विगतकै बासी वाचा दोहोर्‍याएको भन्दै अविश्वास व्यक्त गरिरहँदा नयाँ पुस्ताले भने आफ्नो मतले देशको भाग्य बदल्न सकिन्छ भन्ने आशा पालेको छ। मोरङ ग्रामथान-३ का २१ वर्षीय सुजन चौधरी भन्छन्, “हामीले चुनेका प्रतिनिधिले स्वदेशमै स्वरोजगारको वातावरण सिर्जना गर्ने नीति बनाऊन् र भ्रष्टाचार अन्त्य गर्न सकून्।”