काठमाडौँ। नेपाली कांग्रेस (बीपी) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ।
काठमाडौँमा आइतबार आयोजना गरिएको चुनावी सभामा दुई पार्टीबीच सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बीपी समाहित भएको घोषणा गरिएको हो।
कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपाली कांग्रेस (बीपी) को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ।
परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एकीकरणको निर्णय गरिएको हो।
कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ।
नेपाली कांग्रेस (बीपी) ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।
समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ।
