काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

दृष्टिकोण

राजनीतिक दलहरूले बुझ्नुपर्छ, प्रारम्भिक बालविकास केवल ‘बालबालिकाको मुद्दा’ होइन। यो त समग्र देशकै भविष्य कायापलट गर्ने अहम् विषय हो।

१७ फाल्गुन २०८२
अ+
अ-

देशभर चुनावी माहोल छ। घरदैलो, सभा, पोस्टर, पम्प्लेट, नाराहरू, गीत, भाषण, सामाजिक सञ्जाल सबैतिर चुनाव नै चुनाव छ।

मतदाता आकर्षित गर्ने प्रतिस्पर्धा छ। कसैले आफ्नो विगतको काम सम्झाउँछन्, कसैले प्रतिद्वन्द्वीको कमजोरी देखाउँछन्। कसैले ठूला सपना देखाउँछन्, कसैले तुरुन्त समाधानको वाचा गर्छन्। एउटा विषय भने कहिल्यै  प्रतिबद्धताको प्राथमिकतामा पर्दैन। त्यो हो– साना बालबालिका।

निर्वाचनको समयमा देश र जनताको भविष्य राम्रो बनाउने कुरा धेरै सुन्छौँ। धेरैले आफ्नो अवस्था पहिलेभन्दा राम्रो हुन्छ कि भन्ने आशा राखेर मतदान गर्छन्। तर, यदि हाम्रा भविष्य आजका बालबालिका हुन् भने यही उमेरसमूहका मुद्दा सम्बोधन नगरी समग्रमा देशको भविष्य कसरी उज्यालो हुन्छ? त्यसैले पनि दलहरूले बालबालिकाका विषयमा गम्भीर नभई हुँदैन। यो वर्तमान मात्र होइन, भविष्यप्रतिको जिम्मेवारी पनि हो।

निर्वाचनका मुद्दामा जन्मेदेखि आठ वर्षसम्मका बालबालिकाको प्रारम्भिक सिकाइ, पोषण, सुरक्षित वातावरण, भावनात्मक विकासजस्ता विषय सायदै उठाइन्छ। घोषणापत्रमा केही शब्द लेखिन सक्छन्, तर त्यो चुनावी बहसको केन्द्रमा कहिल्यै पर्दैन। यसको सोझो कारक के हो भने, बालबालिकाले चुनावी अंकगणितमा प्रभाव पार्दैनन्। त्यसैले राजनीतिक हिसाबले उनीहरू ‘तत्काल महत्त्वपूर्ण’ समूहमा पर्दैनन्। तर, वास्तविकता के हो भने, बालबालिका चुनावका अदृश्य मत हुन्।

आज मत नहाल्ने यिनै बालबालिका १०/१५ वर्षपछि मतदाता हुनेछन्। उनीहरू नै भोलिका नीतिनिर्माता, कर्मचारी, शिक्षक, व्यवसायी र नेता बन्नेछन्। उनीहरूले आज कस्तो सोच बनाउँछन्, कस्तो मूल्य बोकेर हुर्किन्छन्, कति आत्मविश्वासी र कति संवेदनशील हुन्छन्, त्यसैले भोलिको समाजको दिशा निर्धारण गर्छ।

साँचो नेतृत्व भनेको पाँच वर्षको कार्यकालभन्दा ठूलो सोच राख्नु हो। यदि कुनै नेता साँच्चिकै दीर्घकालीन प्रभाव छोड्न चाहन्छ भने उसले बालबालिकाको जीवनका प्रारम्भिक वर्षहरूलाई केन्द्रमा राख्नैपर्छ।

चुनावी सभामा जब विकासका कुरा हुन्छन्, प्रायः सडक, पुल, भवन, उद्योगको चर्चा हुन्छ। यी आवश्यक विषय हुन्। तर, ती संरचना प्रयोग गर्ने नागरिक कस्ता हुने? उनीहरू सबल, जिम्मेवार र सहिष्णु हुने कि असुरक्षित, निराश र कमजोर हुने? यसको बीउ बालबालिकामै रोपिने हो।

बालबालिकाको जीवनको पहिलो आठ वर्ष अत्यन्त संवेदनशील हुन्छ। यस अवधिमा मस्तिष्कको विकास तीव्र हुन्छ। यही समयमा उनीहरूले भाषा सिक्छन्, सम्बन्ध बनाउन सिक्छन्, भावना चिन्न र व्यक्त गर्न सिक्छन्। कसैलाई विश्वास गर्ने या अविश्वास? नडराउने वा निर्धक्क हुने? प्रश्न गर्ने कि चुप लाग्ने? यी बानीको विकास यही बेला हुन्छ।

यदि यो समय स्नेह, सुरक्षा र खेलमार्फत सिकाइमा बित्यो भने बालबालिका जिज्ञासु र आत्मविश्वासी बन्छन्। डर, हिंसा, उपेक्षा वा अत्यधिक दबाबमा बित्यो भने त्यसको असर लामो समय रहिरहन्छ। पछि सुधार त गर्न सकिन्छ, तर सुरुआतमै पाएजस्तो बलियो आधार  हुँदैन।

उम्मेदवारलाई सोध्ने

चुनाव नजिकिँदै जाँदा नेताहरू मतदाताको घरदैलोमा पुग्छन्, समस्या सुन्छन्। यो समय हामी मतदाताका लागि गुनासो बिसाउनेसँगै प्रश्न सोध्ने अवसर पनि हो। त्यसैले हामी उम्मेदवारसँग बालबालिकाको भविष्यबारे दलका योजना सोध्न सक्छौँ। प्राथमिक शिक्षाको अवस्था सुधार, प्रारम्भिक कक्षाका शिक्षकलाई तालिम, ग्रामीण क्षेत्रमा रहेका बालबालिकालाई समान अवसरका लागि के गर्नुहुन्छ भनेर सोध्नुपर्छ। मतदाताले प्रश्न उठाएनन् भने नेताहरूले पनि यसलाई प्राथमिकतामा राख्ने सम्भावना कम हुन्छ।

साँचो नेतृत्व भनेको पाँच वर्षको कार्यकालभन्दा ठूलो सोच राख्नु हो। यदि कुनै नेता साँच्चिकै दीर्घकालीन प्रभाव छोड्न चाहन्छ भने उसले बालबालिकाको जीवनका प्रारम्भिक वर्षहरूलाई केन्द्रमा राख्नैपर्छ। किनकि, यहीँबाट समाजको गुणस्तर तय हुन्छ।

आज हामीले प्रारम्भिक बालविकासको क्षेत्रलाई बेवास्ता गर्‍यौँ भने त्यसको असर भविष्यमा विभिन्न रूपमा देखिन्छ। विद्यालयमा सिकाइ कमजोर हुन्छ। पढाइ छाड्ने दर बढ्न सक्छ। युवावयमै निराशाले घर गर्न सक्छ। रोजगार बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुन सक्छ। समाजमा असहिष्णुता र विभाजन झाँगिन सक्छ।

के हामी अदृश्य मतलाई देखिरहेका छौँ? के हामीले बालबालिकाको विषयलाई चुनावी बहसको केन्द्रमा ल्याएका छौँ? कि फेरि पाँच वर्षका लागि यसलाई छायामा राख्दै छौँ?

बालबालिकाले सानै उमेरदेखि नै सुरक्षित, सम्मानित र सहयोगी वातावरण पाए उनीहरू आत्मविश्वासी र जिम्मेवार नागरिक बन्छन्। उनीहरूले प्रश्न गर्न सिक्छन्, तर संवादमार्फत। फरक विचार सुन्न सिक्छन्। सहकार्य गर्न सिक्छन्। असहमति भए पनि हिंसा र कटुता कम हुन्छ। यस्तो समाजमा लोकतन्त्र बलियो हुन्छ। यस अर्थमा प्रारम्भिक बालविकास समाजका लागि मात्र होइन, राजनीतिका लागि पनि रणनीतिक विषय हो। समस्याको जरा भने धेरै अघिको उपेक्षाको उपज हुने गरेको छ।

प्रश्न उठ्छ– चुनाव आउन केही दिन बाँकी छँदा अब के गर्न सकिएला? तर, अहिले पनि समय घर्किसकेको छैन। सञ्चारमाध्यमले बहसमा यो प्रश्न समावेश गर्न सक्छ। नागरिक समाजले सार्वजनिक रूपमा प्रतिबद्धता माग्न सक्छ।

चुनाव आउँछ र जान्छ। सरकार बदलिन्छ। नाराहरू बदलिन्छन्। तर, बाल्यकाल एक पटक मात्र आउँछ। फर्केर आउँदैन। त्यसैले यस निर्वाचनमा हामीले सरल तर गहिरो प्रश्न उम्मेदवारसँगै आफैँलाई पनि सोध्नुपर्छ– के हामी अदृश्य मतलाई देखिरहेका छौँ? के हामीले बालबालिकाको विषयलाई चुनावी बहसको केन्द्रमा ल्याएका छौँ? कि फेरि पाँच वर्षका लागि यसलाई छायामा राख्दै छौँ?

– शर्मा प्रारम्भिक बालविकास परामर्शदाता हुन्।