टिप्पणी
हिन्दुमतले ईश्वर र भगवान्लाई एकै भन्ने गरे पनि बौद्ध र जैनमतले यसलाई स्वीकार्दैनन्।
प्राचीनकालमा अनेक घटना-परिघटनाबाट मानिसहरू आश्चर्यचकित हुन्थे। ती घटना कसरी भए? कसले गरायो? कारण के हो? यस्ता अनेकौँ प्रश्नको जवाफ पाउन असमर्थ उनीहरू अन्ततः कुनै एउटा अदृश्य शक्ति रहेको र परमसत्ता त्यही शक्तिले ब्रह्माण्ड चलाइरहेको निष्कर्षमा पुगेको पाइन्छ। त्यस शक्तिविरुद्ध कोही जानै नसक्ने, जान नहुने धारणा पनि विकास भयो। त्यहीँबाट जन्मिए– भगवान्, परमात्मा, परमेश्वर, ईश्वर, गड, अल्लाहजस्ता अनेक नामका पात्र। अझ त्यही परमात्माको अंश, सन्तान, दूत आदि भन्दै विभिन्न चरित्रहरू ग्रहण पनि गर्ने पाइएको छ।
वेदमा भगवान् शब्द भेटिँदैन। उपनिषद् तथा ब्राह्मण साहित्यहरूमा पाइँदैन। ऋग्वेदमा ‘भग’ नामक एक देवताको प्रसंग छ, तर भगवान्को अर्थमा होइन। संस्कृतको भग धातुको अर्थ ऐश्वर्य, सौभाग्य, प्रभुत्व ज्ञान शक्ति आदि हुन्छ। त्यसमा ‘वान्’ प्रत्यय लगाएर भगवान् भन्न थालिएको देखिन्छ। भगवान् अर्थात् ऐश्वर्य आदि भएको व्यक्ति। वेदलगायत ग्रन्थमा प्रयोग भएका परमात्मा, ब्रह्म, परब्रह्म, परमात्मा, परमेश्वर, ईश्वरको पर्यायकै रूपमा भगवान् शब्द प्रचलनमा आएको देखिन्छ। पुराणकाल (इपू अन्तिम शताब्दी– इस्वीको चौथौँ, पाँचौँ शताब्दी)मा भने सृष्टिकर्ताको कल्पना गरी त्यसैलाई भगवान् भन्न थालिएको देखिन्छ। पछि पछि त पहिले नाम मात्र लिइने इन्द्रलगायत देवताहरूलाई पनि भगवान् भन्न थालियो।
हिजोआज त शिष्यमण्डली बनाउन सक्ने जोकोहीले आफूलाई भगवान् भन्न लगाउने गरेको पाइन्छ। आचार्य रजनीशले पनि आफूलाई ‘भगवान् रजनीश’ भन्न लगाएका थिए, तर पछि ओशो नाम मात्र धारणा गरे। भगवान् भनाउँदा कतिपय ‘धर्मगुरु’ हरू भारतका जेलहरूमा अपराधको सजाय भोगिरहेका छन्। नेपालमा पनि बेलाबेला कहिले गुरु त कहिले तपस्वीका नाममा भगवान् भनिएकाहरूको चर्तिकला पनि हामीले देखिरहेकै छौँ।
भगवान् कसलाई भनिन्छ? भगवान् कस्तो हुन्छ? कसलाई भगवान् भन्नु हुँदैन? बौद्ध र जैन धर्मका सन्दर्भमा भने यी प्रश्नहरूको जवाफ अदृश्य र अमूर्त रूपमा नभई मूर्त र स्थूल रूपमा पाइन्छ।
परमसत्ताको अस्तित्व नै नकार्ने तथा अनीश्वरवादीका रूपमा चिनिने बुद्ध र बौद्ध धर्मदर्शन पनि वैदिक परम्पराकै हुन् भन्ने भाष्य बनाउनु पनि झेल हो।
बौद्ध र जैनमा भगवान्को विशिष्ट स्थान छ, तर अर्थ एकै छैन। जसरी बौद्ध धर्ममा बुद्ध भन्नाले गौतम बुद्ध मात्र नभई कश्यप, क्रकुच्छन्द, कनकमुनिलगायत बुद्धलाई पनि बुझिन्छ र सबैलाई भगवान् नै भनी सम्बोधन गरिन्छ, त्यसरी नै जैन धर्ममा पनि महावीर वर्धमानलगायत सबै २४ तीर्थंकरलाई भगवान् भनिन्छ। जैन धर्ममा सृष्टिकर्ता वा ईश्वरको कल्पना गरिएको छैन। सर्वज्ञ (केवलज्ञानी)लाई ‘भगवान्’ भनिएको छ, जसको अर्थ कर्मबन्धनबाट पूर्णमुक्त (मोक्षप्राप्त) भन्ने लाग्दछ। जैन परम्परामा अरिहन्त, जिन, तीर्थकर र भगवान् समानार्थ रूपमा प्रयोग हुने गरेका छन्।
गौतम बुद्ध (इपू ५६३-४८३)का अनुसार भगवान् ‘आफूजस्तो’ लाई मात्र भन्न सकिन्छ। २९ वर्षको उमेरसम्म गृहस्थमै रहेका सिद्धार्थ गौतम ३५ वर्षको उमेरमा बुद्धत्व लाभ गरी गौतम बुद्ध बनेका थिए। उनले आफूजस्तो भन्नुको तात्पर्य बुद्धत्व लाभ गरिसकेपछिको अवस्था हो।
बुद्धको अर्थ बोध गरेको वा बुझेको हो। पूर्ण रूपमा जागृत सम्यक् सम्बुद्ध, अविद्या र क्लेश नष्ट गरी दुःख र जन्म-मरणको चक्रबाट मुक्त भएकालाई नै बुद्ध भनिने हो। गौतम बुद्धका अनुसार बुद्धले राग, द्वेष, मोह सबै भग्न गरिसकेको हुन्छ, त्यही भएरै भगवान् भनिने हो। इस्लाम धर्मले पनि भगवान् भन्दैन। इसाईहरूले जिसस क्राइस्टलाई ईश्वर मान्दैनन्, ईश्वरको छोरा मान्छन्।
कोही मान्छेले जतिसुकै मिहिनेत गरे पनि ऊ परमसत्ता, परमात्मा, परमेश्वर, ईश्वर हुन सक्दैनन्। अल्लाहलगायत कुनै पनि पद व्यक्तिलाई प्राप्त हुँदैन। तर, हिन्दु धर्ममा ईश्वरको अवतार वा अंशलाई नै भगवान् भन्नेहरू पनि छन्।
वैदिक वा हिन्दु धर्म-सम्प्रदायमा उस्तै अर्थ राख्ने परमात्मा, परमसत्ता, परमेश्वर र ईश्वरले जीवन र जगत्को सृष्टि गरेका हुन्। सबैका कर्ताधर्ता पनि यिनै हुन्। तर, बाइबलमा परमसत्ताका लागि प्रयुक्त ‘गड’ शब्दले यहोवालाई जनाउँछ। बाइबललाई नेपाली भाषामा अनुवाद गर्दा गडलाई परमेश्वर लेखिएको छ। तर, कुरानमा अल्लाहलाई परमेश्वर भनेको पाइँदैन। बाइबलको गड र कुरानका अल्लाह उही हुन्, किनभने दुवै अब्राहमिक धर्म हुन्।
जुन नामले पुकारे पनि सबै ईश्वर नै हुन्, ईश्वर एक हुन् भन्नु भावनात्मक रूपमा सही हुन सक्ला, तर तथ्य होइन। किनकि, वैदिक र अब्राहमिक दुई भिन्नै धर्मपरम्परा हुन्। परमसत्ताको अस्तित्व नै नकार्ने तथा अनीश्वरवादीका रूपमा चिनिने बुद्ध र बौद्ध धर्मदर्शन पनि वैदिक परम्पराकै हुन् भन्ने भाष्य बनाउनु पनि झेल हो।
कोही मान्छेले जतिसुकै मिहिनेत गरे पनि ऊ परमसत्ता, परमात्मा, परमेश्वर, ईश्वर हुन सक्दैनन्। अल्लाहलगायत कुनै पनि पद व्यक्तिलाई प्राप्त हुँदैन। तर, हिन्दु धर्ममा ईश्वरको अवतार वा अंशलाई नै भगवान् भन्नेहरू पनि छन्।
बौद्ध र जैन मतअनुसार भगवान् कसैले बनाएर बन्ने होइन, मिहिनेतको बलमा आफैँ हुने हो। उनीहरूका अनुसार ईश्वर वा परमेश्वर भन्ने छैन, तर जोकोही आफ्नो साधनाबाट बुद्धत्व वा केवलीज्ञान प्राप्त गरी भगवान् हुन सक्छन्।