काठमाडौं। आयोजक भारत टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै साविक विजेता समेत रहेको भारतले सेमिफाइनलको टिकट काटेको हो।
१९६ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि सञ्जु सामसनले उत्कृष्ट पारी खेले। १९.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको भारतका लागि सामसन ५० बलमा ९७ रनसहित अविजित रहे। उनले १२ चौका र ४ छक्का प्रहार गरे।
यस्तै, तिलक वर्माले २७, हार्दिक पाण्ड्याले १७ रन जोडे। बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर र शाई होपले दुई–दुई तथा अकिल होसेनले एक विकेट लिए।
त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङमा उत्रिएको इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १९५ रन जोड्यो।
उसका लागि रोस्टन चेजले ४० रन बनाउँदा जेसन होल्डर ३७ तथा रोभमन पोवेल ३४ रनमा अविजित रहे। यस्तै, कप्तान शाई होपले ३२, शिमरोन हेटमायरले २७ रन जोडे।
बलिङतर्फ भारतका जसप्रित बुमराहले दुई तथा हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले एक–एक विकेट लिए।
यो खेलसँगै सेमिफाइनलमा पुग्ने चारै टोलिको टुंगो लागेको छ। जसअनुसार इंग्ल्यान्ड, नूजिल्यान्ड, दक्षिण अफ्रिका र भारतले सेमिफाइनल खेल्नेछन्।